बर्दिबास : नदी किनारको बगर र नदीउकास क्षेत्र हराभरा बनाउने लक्ष्यका साथ महोत्तरीको बर्दिबास नगरपालिकाले ५० हजार नयाँ बिरुवा रोप्ने अभियान थालेको छ ।

वृक्षरोपण दिवसका अवसर पारेर आज नगरपालिकाले रातु नदी किनारको बगर र नदीउकास क्षेत्रमा वृहद् वृक्षरोपण अभियान थालेको हो । यसपालिको वर्षायामभित्र नगरक्षेत्रमा ५० हजार नयाँ बिरुवा लगाइने नगरप्रमुख विदुरकुमार कार्कीले अभियानको प्रारम्भ गर्दै बताउनुभयो ।

“हामीले यसपालि वर्षायाममा ५० हजार नयाँ बिरुवा रोप्ने अभियान थालेका छौं”बर्दिबास–६ किसाननगरतर्फको रातु नदी पूर्वीतटको बगरक्षेत्रमा आज जामुनाको रुख रोपेर अभियानको थालनी गर्दै नगरप्रमुख कार्कीले भन्नुभयो, “यो अभियान विधि देखाउन नभई सबैतर्फ हराभरा बनाउने उद्देश्यसाथ थालेका हौं । रोपिएका र यस अभियानअन्तर्गत रोपिने नयाँ बिरुवाको रेखदेख, सम्भार र संरक्षणको परिभाषित जिम्मेवारीसाथ काम थालिएको हुँदा अपवादबाहेक सबै बिरुवा हुर्कने कार्कीको विश्वास छ ।”

नगरपालिकाले यसपालि वृक्षरोपणक्षेत्रको विज्ञबाट माटो जाँच गराएर सिफारिश अनुसारका बिरुवा रोपिएको र रोपिने जनाएको छ । रातु नदीका दुवैतर्फका तटवन्धको पाखामा माटो समात्ने, माटो भस्कन नदिने, चाँडै हुर्कने र वंश वृद्धि गर्ने प्रजातिका बिरुवा रोपिएका छन् । यसले तटवन्धको सुरक्षासँगै नदी तटीयक्षेत्र चाँडै हराभरा हुने नगरप्रमुख कार्कीको विश्वास छ ।

bardibas_briksha_ropan_nepalvani_mahottari_shankar_mahato_bidur_karki1

अभियानमा यसपालि पहिलो चरणमा बहुउपयोगी जातका बाँस, जामुना, निम, बकाइनो, वोटलव्रास र इपिलिपिलका बिरुवा रोपिएका छन् । यस अभियानअन्र्तगत प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट खाल्डो खन्ने, मल हाल्ने र बिरुवा रोप्ने, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँग उर्वर (मलिलो) माटो र डिभिजन वन कार्यालय महोत्तरीबाट बिरुवा प्राप्त भएको र अभियानभरी भइरहने नगरप्रमुख कार्कीले जानकारी दिनुभयो । वृक्षरोपण क्षेत्रमा नियमित गोडमेल, पुनःरोपण र संरक्षणका लागि नगर कार्यपालिकाको कार्यालयले हेरालुको प्रबन्ध गरेको जनाइएको छ ।

नगरपालिकाका १४ वटै वडाक्षेत्रमा सञ्चालन गरिने गरी थालिएको अभियानमा सर्वसाधारणको उत्साहवद्र्धक सहभागिता बढेको छ । नगरपालिकाको यो अभियानसँगै नदी क्षेत्रमा हुने अनियन्त्रित दोहनको गुनासो पनि सम्बोधन हुने नगरप्रमुख कार्कीले बताउनुभयो । यो अभियानको सफलताले बाढी नियन्त्रण, जलाधारक्षेत्र संरक्षण र वातावरण सन्तुलनमा सकारात्मक परिवर्तन हुने नगरबासीले आश सँगालेका छन् ।

२०७८ असार १५, मंगलवार १२:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय