बर्दिबास (महोत्तरी) ४ साउन :  “हजुर, सहयोगी हात भेटेकी छु, अब छोराको उपचारले निरन्तरता पाउने आश जागेको छ” महोत्तरीको बर्दिबास नगरपालिका-६ किसाननगरकी ४० वर्षीया रोमा कार्कीले गहभरी आँसु ढलपलाउँदै भन्नुभयो ।

भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मष्तिष्कको नशासम्वन्धी उपचार भई राखेका १८ वर्षीय छोरा गौतम कार्कीको उपचारका लागि बर्दिबासमा सहयोगस्वरुप एक लाख ६७ हजार ४०० नगद पाएपछि बनीबुतो गरेर जीवन यापन गरी रहेकी रोमामा यो विश्वास पलाएको हो । बर्दिबासका सामाजिक सङ्घ संस्था र बिभिन्न व्यक्तिले गौतमको उपचारका लागि सहयोग सङ्कलन गरेर आज सोमबार परिवारजनलाई बुझाएका हुन् । रकम बुझेका आफन्तले आजै सो रकम रोमालाई हस्तान्तरण गरेका थिए ।

दिल्लीमा उपचारका लागि राखिएको छोराको उपचार खर्चकै अभावमा अघि बढ्न नसकेका बेला आज प्राप्त सहयोगले आशाभरोसा बढाएको रोमाको भनाइ छ । “छोरा दुई वर्षदेखि दिल्लीमा छ, म बनीबुतो (मजदुरी) गरेर जीवन धान्दै छु” रोमाले आज सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “ठाउँमा छ, अब खर्च पनि अलिकता जुट्यो , निको हुने आश जागेको छ ।” आपद खेपी रहेकी आपूmप्रति सद्भाव र स्नेह राख्ने सबै सहयोगीप्रति रोमाले आभार व्यक्त गर्नु भएको छ ।

पति मीनबहादुर कार्कीको निधनपछि बनीबुतो गरेर दुई छोरा हुर्काएकी रोमाले गतवर्ष ठूलो वज्रपात खेप्नुभयो । कान्छो छोरा सविन कार्कीको रक्त क्यान्सर (अर्वुद) ले मृत्यु भयो । जेठो छोरा नशासम्वन्धी असाध्य रोगले ग्रस्त भएर उपचार निरन्तर बढाउन रकम नभएपछि गाउँघरमा रोईकराई गरी रहेकी रोमालाई बर्दिबासका सामाजिक सङ्घ संस्थाले समन्वय गरेर सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

“सामाजिक सञ्जाल (फेसबुक) मा गौतमको अवस्थाबारे सम्पादन (पोष्ट) सामग्री पढेपछि मन थाम्न सकिएन” नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाका कोषाध्यक्ष रेवन्त कार्की ‘सुदीप’ले भन्नुभयो, “तुरुन्तै सम्पर्क हुनसक्ने साथीहरुलाई खबर गरें, सामुहिक प्रयत्नबाट लगत्तै सङ्कलन भएको रकम परिवारजनलाई हस्तान्तरण गर्‍यौं ।” आज बिहान नै यो विषय थाहा पाएर तुरुन्तै गौतमको उपचारमा सहयोग पुगोस् भन्ने् हेतुले आजै सङ्कलित रकम हस्तान्तरण गरिएको सुदीपले बताउनुभयो ।

Hospital_Bardibas (2)

गौतमको उपचार सहयोगार्थ बर्दिबास हेल्प फाउण्डेशनले ५१ हजार, होटल विनायकले २१ हजार, प्रल्हाद क्षत्रीले १५ हजार, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, बर्दिबास उद्योग वाणिज्य सङ्घ, नेवा सङ्घ, लुम्विनी हार्डवेयर, रोटरी क्लव अफ बर्दिबास र उद्यमी कुमार भण्डारीले ११/११ हजार सहयोग गरेका छन् । त्यसैगरी रेडक्रस बर्दिबास उपशाखाका पदाधिकारी, होटल गुञ्ज र दिपक ट्रेडर्सले पाँचहजार १०० का दरले सहयोग गरेका मुख्य समन्वयकर्ता सुदीपले जानकारी दिनुभयो ।

सहयोस्वरुप प्राप्त रकम तत्काल पठाइएको र गौतमको उपचारका लागि थप गर्न सकिने सहयोगका लागि आपसी समन्वय बढाइने सुदीपको भनाइ छ । सुदीपले अत्यन्त गरिबी र वियोग खेपी रहेकी रोमाका छोराको उपचारमा सहयोग बढाउन सबै मनकारीहरुसँग अपिल पनि गर्नु भएको छ ।

२०७८ श्रावण ४, सोमबार २०:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!