
जनकपुरधाम : मधेसका जिल्लामा मध्यरातिमा आजभोली सामाचकेवाको गीत गुञ्जि रहेको छ । चेलीबेटी घरघरबाट डालामा माटोका मूर्ति, दियो बालेर एकै स्थानमा भेला भइ सामाचकेवा खेल्दा तराइ मधेसको गाउमा यति बेला मध्यराति चहलपहल बढेको छ ।
दाजु भाई, दिदी बहिनीको मायाको प्रतीकको रुपमा सामाचकेवा खेलिने परम्परा रहेको छ । मधेसको शहरी तथा ग्रामीण क्षेत्रका बालिका देखि बृद्धसम्मका महिलाले सामाचकेवा रातिको समयमा भाइको दीर्घायुको कामना गर्दै चुगलाको जुंगामा आगो लगाउने चलन रहेको छ ।
कार्तिक पञ्चमीदेखि शुक्ल पूर्णिको दिन सम्म १५ दिन बहिनीहरुले दाजुभाईको दीर्घायुको कामना गर्दै श्रद्धाको साथ सामाचकेवा पर्व मनाउने गरेको महोत्तरीको बर्दिबास नगरपालिका-९ निवासी रोशनी महतो बताउंछिन् । पद्मपुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको छोरीको नाम सामा थियो र त्यही बृन्दावनमा चक्रवात नाम गरेको एउटा सुन्दर कुमार बसदथ्यो । सामा र चक्रवात एकआपसमा प्रेम गर्थे । ती राज्यको महासामन्त चुडक (चुगला) पनि सामालाई चाहन्थ्यो ।
तर सामाले चुडकको प्रेमलाई अस्वीकार गरेपछि दुष्ट चुकले सामार चक्रवात (चकेवा) को प्रेम प्रसंग भगवान श्रीकृष्णलाई सुनाई दिन्छन् । सोही कुरालाई लिएर भगवान श्री कृष्णले आफ्नी छोरी सामालाई चरा बन्ने सराप दिनुहुन्छ । सराप पाउने वित्तिकै सामा चरीको रुप धारण गर्छिन् र उडेर वृन्दावन तर्पm जान्छिन् । सामा चरी भईसकेकी थाहा पाएपछि प्रेमी चक्रवात सामाको वियोगमा स्वेच्छाले चराको रुपधारण गर्न पुग्छ । भगवान श्रीकृष्णको छोरा साम्य राजधानी मथुरा फर्केपछि बहिनी सामा बुवाको सरापले चरी रुपधारण गरेकी थाहा पाए र बाबु कृष्णसंग क्षुब्ध भई सामा तथा चकेवा पुनः मनुष्यरुपमा फर्काउन बृन्दावनमा गएर घोर तपस्या गर्छन् ।
उता चुडकको कारण सामाले दुःख पाएको भनि मथुराका सबैले चुडकलाई समातेर उसको मुख र जुंगामा आगो लगाई दिन्छन् । आफुमाथि मथूरावासीले गरेको अन्याय सहन नसकि चुडकले बृन्दावनमा आगो लगाई दिन्छन् । त्यसैबेला साम्बले गरेको घोर तपस्याबाट ठूलो हुरीबताससंगै घनघोर पानी पर्दछ । उक्त हुरीबतासले बृन्दावनको एउटा रुख ढलेर चुडकको जीउमा पर्छ ।
चुडक त्यही रुखबाट किचिएर मर्छ । यता साम्बको तपस्याबाट खुशी भएर भगवान श्री विष्णुले पुनः मनुष्य रुपमा वरदान दिएपछि सामा र चकेवा फेरि मनुष्यको शरीर धारण गर्दछन् । त्यहींबेलादेखि सामाले भनेकी थिइन मेरो भाईले मलाई उद्धार गरेजस्तै जुन बहिनले माटोको सामा–चकेवा बनाएर यो पर्व मनाउंछ उसको भाईको दीर्घायु हुनेछ ।
त्यही परम्पराअनुरुप यो पर्व मनाउन थालेको हो । पर्वको अन्तिम दिन गाउँका सम्पूर्ण महिलाहरु एक ठाउँमा जम्मा भई संकलन गरेको अन्नपात र रकमको समाजका मान्यजन र इष्ट मित्रलाई एकत्रित गरेर भोजभतेर नाचगान गरेर मनोरञ्जन गर्ने चलन पनि रहेको छ । File Photo