मटिहानी (महोत्तरी) : आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले महोत्तरीको मटिहानी नगरपालिकाका सर्वसाधारणमा खुशी छाएको छ । यही आउने सोमबार (मङ्सिर-६ गते) राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउने कुराले नगरबासी उत्साहित भएका हुन् । राष्ट्रपतिको महोत्तरी भ्रमण कार्यक्रमको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ ।

“हाम्रो ठाउँले त्रेता युगदेखि नै धार्मिक महत्व बोक्दै आएको छ, यसबाहेक संस्कृत शिक्षाको त यो पुरानो केन्द्र नै हो” मटिहानी-८ का बासिन्दा पुराना राजनीतिक, सामाजिक अगुवा वृजनारायण लाल कणर् भन्नुहन्छ, “पछिल्लो कालमा हाम्रो पुरानो पहिचान उजागर गर्ने प्रयत्न बढेका छन् , राष्ट्रप्रमुखले यो प्रयत्न अवलोकन गर्ने अवसर बनेछ, हामी खुशी छौं ।”

महोत्तरीको मटिहानी अघि त्रेता युगमा रामसीताको विवाहमा वेदि (यज्ञस्थल) निर्माण गर्न माटो खनिएको ठाउँका रुपमा विश्वास गरिन्छ । वेदिका लागि माटो खनिएको मानिदै आइएको लक्ष्मीसागर (तलाउ) मिथिला क्षेत्रकै पवित्रस्थलका रुपमा अझै पूज्य रहेको पाका मैथिल बताउँछन् । यसबाहेक मटिहानीस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर नेपाल र भारतका मठ परम्परामा पूज्यनीय स्थल रहँदै आएका मटिहानीस्थित राम माध्यमिक विद्यालय (लक्ष्मीनारायण मठले स्थापना गरेको) का अवकासप्राप्त प्रधानाध्यापक चन्देश्वर साह बताउनुहुन्छ ।

मटिहानी संस्कृत शिक्षाको पुरानो केन्द्र रहँदै आएको छ । शिक्षाप्रेमी तथा सन्त वालगुरु षडानन (भोजपुर, दिङ्ला)ले शिक्षा लिनु भएको ३०३ वर्ष पुरानो तत्कालीन संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नाउँमा मुलुकका बिभिन्न भेगका विद्यार्थीलाई शिक्षा दिदैछ । यहीं नै राजा जनकको दरवारका विद्वान मनिषि याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) मा स्नातकोत्तर तहसम्मको अध्ययन/ अध्यापन हुँदै आएको छ । यो बाहेक धार्मिक परम्परामै मिथिलाको ‘महाकूम्भ’ भनिने मिथिला माध्यमिकी परिक्रमा (फागुन शुक्लपक्षमा हुने) को यो जिल्लामा पहिलो र मिथिला परम्परामा चौथो दिनको विश्रामस्थलका रुपमा स्थापित रहेको मटिहानीबासी बताउँछन् ।

आफ्नो ठाउँको यो गौरवमय परम्परा भएपनि उपल्लो तहबाट उपेक्षित भएको अनुभूति लिदै आएका मटिहानीबासी यतिखेर भने राष्ट्रप्रमुख नै आफ्नो ठाउँमा आउन लाग्नु भएको कुराले दङ्ग छन् । “बौवा, सुनैछी जे हमरासभक ठाममें राष्ट्रपति अबै छथि” (बाबु, सुन्दैछु हाम्रो ठाउँमा राष्ट्रपति आउँदै हुनुहुन्छ रे ) मटिहानी-६ का बासिन्दा ८० वर्षीय इस्लाम धर्मावलम्वी विकाउ शेषले भन्नुभयो, “आब हमर जगहके पहिचान आओर उजागर होयत ।” (अब हाम्रो ठाउँको परिचय अझ उजागर हुनेछ) ।

राष्ट्रपतिको आगमन हुने कार्यक्रमले मटिहानीमा राजनीतिक दल, सामाजिक सङ्घ संस्था , महोत्तरी उद्योग वाणिज्य सङ्घ र आम नागरिक समाज एकाकार भएर स्वागतको तयारीमा लागेका छन् । “सम्पूणर् मटिहानी नगर अहिले राष्ट्रप्रमुखको स्वागतका लागि एकाकार भएको छ” मटिहानी-८ का बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्नुहुन्छ, “राष्ट्रपतिको आगमनले यस ठाउँबारे चासो बढ्ने हाम्रो विश्वास छ ।” खासमा पछिल्लो कालमा मटिहानीको धार्मिक र शैक्षिक पहिचानलाई बढाउन भइरहेका प्रयत्नलाई अझ मुखरित र व्यवस्थित गर्न राष्ट्रपतिको आगमनले सघाउ पुग्ने साहको विश्वास छ ।

म्टिहानी नगरपालिकाको निमन्त्रणामा हुन लागेको राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई सिङ्गो महोत्तरी जिल्लाले महत्व पाएको भन्ने अनुभूति लिइएको यहाँका राजनीतिक दलका अगुवाले बताएका छन् । “हाम्रो जिल्लामा राष्ट्रप्रमुखको आगमन हुँदैछ, हामीले यसलाई खास अवसरका रुपमा महत्व दिएका छौं” लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मटिहानी सामेल क्षेत्रकै प्रदेशसभा सदस्य अभिराम शर्मा भन्नुहुन्छ, “यो भ्रमणले महोत्तरीका अन्य धार्मिक, पौराणिक र पुरातात्विक महत्वका ठाउँबारे पनि थप चासो बढाउने छ ।”

राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई व्यवस्थित , सुसभ्य र सधैं सम्झनयोग्य बनाउन आफ्ना सारा प्रयत्न केन्द्रित गरिएको बताउँदै यसलाई महिला जागरणको अवसरका रुपमा पनि लिएको मटिहानी नगरपालिकाका उपप्रमुख शिवोदेवी साह बताउनुहुन्छ । “हामीकहाँ महिला शिक्षा अत्यन्त कमजोर अवस्थामा छ, सामाजिक, राजनीतिक र आर्थिक गतिविधिमा महिला सहभागिता कमजोर देखिन्छ” उपप्रमुख साहले भन्नुभयो, “संयोग ठिक छ, हाम्रो राष्ट्रप्रमुख अहिले महिला हुनुहुन्छ, उहाँलाई देखेर यहाँका महिलामा नयाँ इच्छाशक्ति पलाउन र बढ्न सक्छ, हामी अगुवा महिलाले राष्ट्रपतिको आगमनलाई यो कोणबाट पनि सर्वसाधारण महिलामा उत्साह भर्दैछौं ।”

आसन्न राष्ट्रपतिको महोत्तरी भ्रमण कार्यक्रमले सबै राजनीतिक दलसँग सहकार्य, सम्वाद र सँगसँगै काममा अघि बढ्ने अवसर दिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

२०७८ मंसिर ३, शुक्रबार ०८:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय