बर्दिबास । कोभिड-१९ महाव्याधिले रोजगारी गुमाएका पर्यटन मजदुरले अहिले आफ्नै ठाउँमा काम पाएपछि राहतको सास फेरेका छन् ।
गत वर्ष २०७७ को हिउँददेखि काम छुटेर रनभूल्ल परेका पर्यटन क्षेत्रमा काम गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिका-४ का श्रमिकले अहिले आफ्नै ठाउँमा काम पाएपछि राहतको अनुभव गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कोष -युएनडिपी ) को सहयोगमा नेपाल एसोसिएसन अफ टुर ऐण्ड ट्राभल एजेन्ट्स (नाटा) ले महाव्याधिले काम छुटेका श्रमिकलाई रोजगारको अवसर बनाएको हो ।

होटल, रिसोर्ट र अन्य पर्यटन क्षेत्रमा कार्यरत यहाँका श्रमिक काम छुटेपछि जीवन गुजाराको सङ्कटमा थिए । अहिले नाटाले प्रदेश-२ कै प्रसिद्ध धार्मिकस्थल बर्दिबास-४ स्थित पञ्चधुरा माई मन्दिर परिसरको सरसफाईको काम दिएको छ ।

“हामी काम छुटेदेखि घरमै बेरोगार भएर बसेका थियौ, लामो समयदेखि घर बस्दा अब गुजारा के ले चलाउने भन्ने थियो” बर्दिबास-४ का सविव जिम्बाले भन्नुभयो, “केही दिनकै भएपनि आफ्नै ठाउँको पर्यटकीयस्थल माई मन्दिर सरसफाइको काम पाएका छौं, राहत मिलेको छ ।” जिम्बासँगै दुई महिलासहित १० जना पर्यटन क्षेत्रको काम छुटेका श्रमिकले आजदेखि मन्दिर सरसफाइको काम पाएका हुन् ।

काम पाएपछि पर्यटन मजदुरलाई राहत

दिनको एकहजार पारिश्रमिक पाइने यो रोजगारीमा १० दिने प्याकेज छ । श्रमिकले दैनिक छ घण्टा श्रम गर्नेछन् । आज मन्दिर पसिरमा सरसफाई कार्यको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । नेपाल पर्यटन बोर्ड, नाटा र ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपालसहितले युएनडिपीको सहयोगमा सुरु गरेका ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ कार्यक्रमअन्तर्गत श्रमिकले यो अवसर पाएका हुन् ।

कार्यक्रमबाट श्रमिक र पर्यटनक्षेत्रको सौन्दर्य वृद्धिको काम सँगसँगै बढाउन पाइएको स्थानीय आयोजक नाटाले जनाएको छ । “हामीले काम छुटेर घर बसेका श्रमिकलाई तत्काल केही दिनको रोजगारी दिनसक्यौं, सँगै मन्दिर परिसर सरसफाइ पनि हुन सक्यो” नाटाका स्थानीय (महोत्तरी) कार्यक्रम संयोजक सुदर्शन काफ्लेले भन्नुभयो । स्थानीयतहको वडासमितिले काम छुटेका पहिचान गरेर सिफारिस गरेका श्रमिकलाई यो कार्यक्रममा पारिश्रमिकसहितको श्रमको अवसर दिइएको काफ्लेको भनाइ छ ।

काम छुटेर घर थन्किएपछि रनभुल्ल परेर नयाँ कामको खोजी गर्न नसकेका आपूmहरुको अब काम खोज्ने जाँगर पनि पलाएको श्रमिकहरुको भनाइ छ । “हामी त अब कहाँ काम खोज्न जाने भनेर रनभूल्ल थियौ, यसैबीच यहाँ कामको अवसर पाइयो” श्रमिक प्रीति भुजेलले भन्नुभयो, “आज यहाँ (मन्दिरमा) काम गर्न थालेपछि कैयौं ठाउँमा कामका लागि सम्पर्क हुन थाल्यो, अब यो काम सकेर घर फर्कनु परोइन ।” आपतका बेला भेटाइएको कामले घर चलाउन निकै राहत मिलेको प्रीतिकी साथी पूजा पोखरेलको पनि प्रतिकृया छ ।

नाटाले जिल्लाभरिकै पर्यटकीयस्थलहरुमा यो कार्यक्रम विस्तार गर्ने ध्येय रहेको जनाएको छ । स्थानीयतहका वडासमितिबाट काम छुटेका श्रमिकको लगत प्राप्त भएपछि युएनडिपीसँग काम विस्तारबारेको छलफल टुङ्ग्याएर कार्यक्रम विस्तार गरिने काफ्लेको भनाइ छ ।

२०७८ पुष ३, शनिबार १६:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय