महोत्तरी : बर्दिबास नगरपालिका-१० को चुरे काछको झ्याउरे बस्तीकी ६० वसन्त पार गरेकी सन्तमायाँ तामाङ्को अनुहारमा अहिले चमक आएको छ । वर्षौदेखि झ्याउरे पाखाको बसोबासमा राम्ररी पानी खान नपाएकी तामाङ्को अनुहारमा आफ्नै बस्तीका लागि खानेपानी आयोजनाको काम थालिएपछि चमक देखिएको हो । बर्दिबास-१० र ११ का चुरे काछका विकट बस्तीका १९४ घरपरिवारका लागि शनिबार झ्याउरे भाङ्ग्रे खानेपानी आयोजनाको काम थालिएपछि बर्खामा खोलाको धमिलो पानी खाँदै आएका यहाँका आधा दर्जनभन्दा बढी बस्तीमा अहिले खुशी छाएको छ ।

“अबो (अब) त घरआँगनमै धारा जोडिन्छ भन्छन्” रोटरी क्लव बर्दिबास र बर्दिबास नगरपालिकाले संयुक्त रुपमा सुरु गरेका आयोजनाबाट शुद्ध खानेपानी पाइने कुरा सुन्नु भएकी तामाङ् भन्नुहुन्छ, “पानी लिन अबो खोला झर्नु परोइन ।” क्लव र नगरपालिकाले ७१ लाखको लागत अनुमानको इष्टिमेटअनुसार काम नै थालेपछि चुरे काछका शिर, बम्जनटार, पूर्वखोला, झ्याउरे, आँपडाँडा, सातदिने, भालुजोरा, भाङग्रे, गर्दीदोभानसहितका पाखा बस्तीमा बल्ल शुद्ध खानेपानी पाइने आश जागेको हो । तामाङ्कै छिमेकी गङ्गीमायाँ गोले पनि आपूmहरुका लागि खानेपानीको जोहो हुन लागेको कुराले दङ्ग हुनुहुन्छ ।

सिन्धुली र महोत्तरी छुट्याउने चुरे पाहाड दक्षिणको काछमा अवस्थित बर्दिबास नगरपालिकाका यी बस्ती शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र सञ्चार सुविधाबाट पुरै बेखबर झैं छन् । “के गरम् गरिबको घरमा जन्म भोइछ (भएछ), बाउ (बाबु) पुर्खा याँही बसेछन् , जेजस्तो छ आफ्नो ठाममा रमाइन्छ” भालुजोरा बस्तीका ७० वर्षीय संसारसिंह थिङ् भन्नुहुन्छ । यी बस्ती चुरेबाट निस्कने नदीहरुका दायाँबायाँ थुम्कामा छन् । हिउँदभरि हिडडुल गर्न , बजार जान सजिलै सकिएपनि खोलाकै बाटो हुनाले बर्खा लागेपछि यहाँका बासिन्दा घरघरै थुनिन्छन् । “न बाटो, न पुलपुलेसा…! बर्खा लागेपछि त हाम्रो संसार भनेको आफ्नै घर ओरीपरी हो” बर्दिबास-१० कै बम्जनटारका ७० वर्षीय पूणर्बहादुर बम्जनले भन्नुभयो ।

रोटरी क्लवले ८० र बर्दिबास नगरपालिकाले २० प्रतिशत खर्च जुटाउने यो परियोजना यसै आर्थिक वर्ष (चालु आव २०७८/०७९) भित्रै सम्पन्न गरी यी बस्तीका १९४ परिवारका घरघरमै धारा जडान गरेर पानी दिन थालिने लक्ष छ । परियोजनाबाट यी बस्तीका एकहजार १८५ जनसङ्ख्या लाभान्वित हुने रोटरी क्लव बर्दिबासका अध्यक्ष विष्णु खड्काले जानकारी दिनुभयो । लाभान्वित जनसङ्ख्यामा ६७० महिला र ५१५ पुरुष सङ्ख्या रहेको क्लवले जनाएको छ ।

बम्जनटारस्थित पाखाको कापस्थित पुरानो जरुवा मूहानलाई पक्की पर्खालले घेराबेरा गरी पानी सञ्चित गरेर दुईवटा पानी भण्डारण गर्ने टङ्की निर्माण गरिने आयोजनाको इष्टिमेट छ । दुई टङ्कीमा जम्मा हुने प्रशोधित पानी पाइपबाट घरघरै धारा जडान गरेर वितरण गरिने आयोजनाका इञ्जिनियर रोहितकुमार यादवले जानकारी दिनुभयो । “यो आयोजना यसैपालि आर्थिक वर्ष सिद्धिनुअघि सम्पन्न हुनेछ” यादवले भन्नुभयो ।

झट्ट सुन्दा मधेसको महोत्तरी जिल्ला सुगम भन्ने बुझिएपनि यी बस्ती चुरे पर्वत श्रेणिका दर्जनौ कान्ला र पखेरा छिचोल्दै खोल्साखोल्सीको बाटोबाट पुग्नुपर्छ । हिउँदमा खोलाको बगरैबगर वनसम्पदा र नदीजन्य बस्तु (बालुढुङ्गा) ओसार्न चल्ने ट्रेक्टरबाहेक यहाँका बासिन्दाले मोटर बसलगायतका आधुनिक सवारी साधन देख्न २० किलोमिटर बाटो छिचोलेर पूर्वपश्चिम राजमार्ग आइपुग्नु पर्छ । स्वास्थ्य संस्था र बजार भेट्न आफ्नै वडा भएपनि १३ किमी दुरीको खयरमारा बजार पुग्नुपर्ने वाध्यता छ । यी करिब आधा दर्जन बढी बस्तीका बीच भाङ्ग्रेमा एउटा आधारभूत तहको विद्यालय छ । पाँच कक्षा उतिणर् गरेपछि पढ्न १५ किलोमिटर दुरीको खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय पुग्नुपर्छ । यो असुविधाले रहर हुँदाहुँदै धेरैजसो वालवालिका पढाइ छाडेर बाख्रा गोठालो बन्न विवश भएका पूर्वखोला बस्तीकी सनसरीमायाँ थिङ्को भनाइ छ ।

“क्या गर्नी हजुर, पाँचसम्म त भुराभुरी (छोराछोरी) ले यैं (यहीं) गाउँमा पढ्यो, मोन (मन) त छ नि, यी पढालेखा गरुन् भन्ने , तर सावगासले दिएन” छोराछोरी पढाउन नसकेको विवशता खोल्दै थिङ्ले भन्नुभयो । पूर्वपश्चिम राजमार्ग र बर्दिबास-सिन्धुली-बनेपा सडक (विपी राजमार्ग) को सङ्गम रहेको बर्दिबासचोक र चुरे काछका यी बस्ती एउटै पालिका (स्थानीयतह) मा पर्छन् । यी मार्ग हुँदै यात्रा गर्ने जोसुकैको कल्पनामा बर्दिबास नगरपालिका भन्नासाथ समृद्ध नगरको कल्पना आउन सक्छ । तर यसै नगरक्षेत्रभित्रका चुरे काछका बस्तीका बासिन्दाले चामलको भात खान चाडपर्व कुनुपर्ने अवस्था रहेको बर्दिबास-११ का सामाजिक कार्यकर्ता निरनाथ गेलाल बताउनुहुन्छ ।

“यी बस्ती राजनीतिक पहुँचबाट निकै टाढा छन् , कतिपय यसै भूगोलका जनप्रतिनिधि नै आफ्नो क्षेत्रको विकटताबाट अपरिचित छन्” गेलाल भन्नुहुन्छ, “अहिले भर्खर खानेपानी आयोजनाको शिलान्यास त भयो, तर खै चुनाव नजिकिएका बेला यो काम गर्न हो की भोट बटुल्न हो , बुझ्नै सकस छ ।” यसअघि पनि चुनाव क्रममा यहाँका बासिन्दाले बाटोघाटो, खानेपानी, सिञ्चाइ, स्वास्थ्य संस्था र विद्यालयको आश्वासन पाएपनि कामभने केही हुन नसक्दा अहिले पनि भइहाल्ला भन्ने भित्री विश्वास चैं सर्वसाधारणले गर्न नसकेका गेलाल बताउनुहुन्छ ।

अधिकांश तामाङ् जाति समुदायको बसोबास रहेको यी बस्तीमा एकाध घर सार्की, कामी समुदायका दलित भेटिन्छन् । अनुकूल वर्षा हुँदा बिराएको पाखाबारीमा मकै र कोदो टिप्न पाइएको भालुजोराकी ६० वर्षीया सञ्चमायाँ तामाङ् बताउनुहुन्छ । खेतबारीमा लगाइएको अन्नबाली पनि बाँदर, बँदेललगायतका वन्यजन्तुले खाएर उब्रेको मात्र टिप्न पाइएको तामाङ्को टिठलाग्दो भनाइ छ । यसबाहेक यहाँका बासिन्दाको गुजाराको व्यवसाय बाख्रा, कुखुरा र राँगा पालन रहेको तामाङ्ले बताउनुभयो ।

फसाद, दङ्गा, भिडभाड र गञ्जागोलबाट कोशौं टाढाका चुरे काछका बासिन्दा न आपूm ढाँट कुरा गर्छन् , न अरु ढँटुवा छन् /होलान् भन्ने यिनलाई लाग्छ । सोझो कुरा गर्ने र आफ्ना दुःखभित्र रमाउँदै आएका यहाँका बासिन्दालाई अहिले आयोजनाको काम थालिदा चाडपर्व आएझैं भएको छ । सबैको मुहारमा चमक..! सबैको प्रशन्न मुद्रा । “अबो हजुर पानीका लागि चैं हाम्रो दुःखका दिन गएजस्तो छ” काम भइरहेको ठाउँमा बम्जनटार बस्तीकी कान्छीमायाँ बोम्जनले भन्नुभयो ।

यी बस्तीलाई सामाजिक अभियानीहरुले ‘महोत्तरीको कणर्ाली’ नाउँ दिएका छन् । “झट्ट भनिदा महोत्तरीलाई मधेस प्रदेशको सुगम जिल्ला भन्ने बुझिन्छ” जिल्लाका सामाजिक अभियन्ता बर्दिबास-६ कृष्णपुरका निलबहादुर लुम्रे मगर भन्नुहुन्छ, “तर यो सुगम जिल्लाभित्रकै चुरे काछका बस्तीका बासिन्दाको जीवन कहाली लाग्दो छ ।” यहाँका बासिन्दाको शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी र पोषणयुक्त खानपानसहितका आधारभूत आवश्यकताको कुरा दन्त्यकथाजस्तै रहेको लुम्रेको थप टिप्पणी छ ।

चुरे काछका यी बस्तीलाई विकाससँग जोड्न स्थानीयतह, प्रदेश र सङ्घीय सरकारले संयुक्त पहलकदमी लिन पर्ने बुद्धिजीवीको मत छ । यो पहलकदमीको मुख्य समन्वय स्थानीयतहले गरेर यहाँका आवश्यकता पहिचान गरी प्रदेश र सङ्घीय सरकारलाई घचघच्याउन सके ‘महोत्तरीको कणर्ाली’का बासिन्दाले मान्छे हुनुको गौरववोध गर्नसक्ने नेपाल बुद्धिजीवी परिषद महोत्तरीका सचिब रासबिहारी यादव बताउनुहुन्छ । “मुख्य त शिक्षा नै हो, यहाँका वालवालिकालाई कसरी माध्यमिक शिक्षासँग जोड्ने ? नगरपालिकाको शिक्षा शाखाले योजना बुन्नु परेन ?” यादवको प्रश्न छ । शिक्षासँगै क्रमशः स्वास्थ्य र अन्य सुविधा जोड्दै लानसके केही वर्षभित्रै यहाँको जीवनमा सकारात्मक परिवर्तन आउनसक्ने यादव बताउनुहुन्छ ।

२०७८ फाल्गुन ४, बुधबार २०:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय