काठमाडौं : प्रेस काउन्सिल नेपालले अभिनेता पल शाह एक नाबालिगसँग जवरजस्ती करणीमा जोडिएको प्रकरणलाई अतिरञ्जित बनाउने १६ वटा युट्युब च्यानलमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई सिफारिस गरेको छ।
उन्सिलले सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषणमा संलग्न ती युट्युब च्यानलमाथि कारबाही सिफारिस गरेको हो।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम कसैले गर्न नहुने बताएका छन्।
‘अदालतमा विचाराधीन मुद्दाको न्यायिक छानबिनमा प्रभाव पर्ने गरी सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिल गरेका छौँ,’काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने।
ती युट्युब च्यानल र अनलाइन पोर्टलले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको छ। दर्ता र सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र नचल्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ’, उनले भनेका छन्, ‘कुनै मिडिया अन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको छ।’
ती युट्युब च्यानलले व्यक्तिगत गोपनीयताको प्रतिकूल, पीडितलाई थप पीडा, नकारात्मक असर र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गरेको पाइएको खनालले बताए।
न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने गरी आरोपी र जाहेरवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेपछि कारबाहीका लागि सिफारिस गरिएको खनालले बताए।