काठमाडौं : अहिले विश्व बजारमा अमेरिका र अमेरिकी डलरको दबदबा छ । विश्वकै सबैभन्दा धेरै तरलता भएको मुद्रा डलर भएको र अधिकांश देशहरुले डलरमै व्यापार गर्ने गरेका कारण डलरको दबदबा भएको हो । तर, पछिल्लो समय विश्व बजारमा डलरको दबदबा अन्त्य हुने क्रमको सुरुवात भएको संकेत देखिएको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लावरोभ यसै हप्ता भारत आउँदैछन् । समाचार एजेन्सी रोयटर्सका अनुसार लावरोभको यो भ्रमणमा दुई देशबीच भुक्तानीको विषयमा चर्चा हुने अपेक्षा गरिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि यो लावरोभको तेस्रो विदेश भ्रमण हो । यसअघि उनी टर्की र बिहीबार चीन गइसकेका छन् । सूत्रका अनुसार भारत सरकारले भारतीय रुपैयाँ र रुसी रुबलमा व्यापार प्रणाली स्थापित गर्ने तयारी गरेको छ र यो विषयमा लावरोभको भ्रमणमा थप प्रगति हुन सक्छ ।

यो भ्रमणमा रुपैयाँ रुबल ट्रेड विन्डोका अलावा दुवै देशबीच केन्द्रीय बैंकको माध्यमबाट सबै सरकारी र अर्ध सरकारी भुक्तानी सिधै गर्ने र कार्ड लगायतका विकल्पबारे पनि चर्चा हुने अपेक्षा छ । रुस र भारतले यसरी व्यापार प्रणाली स्थापित गरेमा यो डलरको दबदबा अन्त्य गर्नको लागि प्रमुख घटना हुन सक्छ किनकि यसपछि भारत र रुसले आफ्नै मुद्रामा व्यापार गर्नेछन् र डलरको प्रयोग घट्नेछ ।

अर्कोतर्फ केही दिन पहिले अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले साउदी अरबले चीनसँग तेल बिक्रीको बदलामा युआनमा भुक्तानी लिने विषयमा विचार गरिरहेको समाचार प्रकाशित गरेको थियो । यो समाचारले पेट्रोडलरको समयको अन्त्यको सुरुवात भएको चर्चा चलेको थियो । १९७० को दशकमा पेट्रोडलर शब्द प्रचलनमा आएको थियो र यसको साथमा विश्वको व्यापार र अन्तर्राष्ट्रिय लेनदेनमा डलरको स्थिति बलियो भएको थियो ।

विश्वव्यापी तेल संकटको केही समयपछि १९७४ मा साउदी अरबको सरकारले तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनसँग एउटा सम्झौता गरेको थियो । यो सम्झौतामा साउदी अरेबियाको निर्यात डलरमा हुने सहमति भएको थियो । साउदीको यो कदमपछि कैयौं देश साउदीको बाटोमा गए र तेलको मूल्य डलरमा निर्धारण हुन थाल्यो । यही कारण तेल किन्नको लागि विश्वभरीका देशहरुले डलर जम्मा गरेर राख्न थाले । तर, पछिल्लो समय साउदीले चीनसँग युआनमा भुक्तानी लिने खबर बाहिरिएसँगै डलरको दबदबा अन्त्य हुन सक्ने अनुमान गरिएको छ ।

२०२० को तथ्यांकअनुसार अहिले चीन दैनिक १ करोड १० लाख ब्यारल कच्चा तेल आयात गर्छ । यसमध्ये १७ लाख ब्यारल साउदीबाट आयात गर्छ । यो चीनको तेल आयातको लगभग १७ प्रतिशत र साउदीको कूल तेल निर्यातको २६ प्रतिशत हो । चीनले रुसबाट पनि प्रतिदिन १५ लाख ब्यारल तेल आयात गर्छ । चीन अहिले विश्वमै ऊर्जाको प्रमुख उपभोक्ता हो । तेल बजारमा चीन मात्र नभइ भारत, जापान र दक्षिण कोरियाजस्ता एसियाली देश ठूला उपभोक्ता हुन् । यो वास्तविकताले ग्लोबल मार्केटको ढाँचा नै बदलिदिएको छ ।

यही वास्तविकताका कारण साउदी अरब, रुस र तेल निर्यात गर्ने अन्य देश समेत चीन र अन्य एसियाली देशसँग रणनीतिक सम्बन्ध बनाउन चाहन्छन् । यो भनेको अमेरिका वा अमेरिकी डलर बिनाको सम्बन्ध बन्न सक्छ । यसको लागि तेल निर्यातक देश चीन, भारत, दक्षिण कोरिया र जापानमा रिफाइनरी बनाउन चाहन्छन् । साउदी कम्पनी अरामकोले हालै चीनमा पेट्रोकेमिकल कम्प्लेक्स र रिफाइनरी बनाउन साझेदारी सम्झौता गरेको छ ।

साउदीले तेलको भुक्तानी युआनमा लिन तयार भएको विषयमा उर्जा विज्ञ रफीक लाट्टा भन्छन् ‘यो कुरा अहिले आएको छ र यसले साउदी अरब र अमेरिकाबीचको तनावलाई देखाउँछ ।’ खासमा पछिल्लो समय अमेरिका र साउदी अरबबीच सम्बन्ध राम्रो छैन । अमेरिकाको सम्बनध अर्को प्रमुख तेल उत्पादक देश युएइसँग पनि राम्रो छैन । अमेरिकाले पटक पटक आग्रह गर्दा पनि यी दुई देशले तेल उत्पादन बढाउन मानिरहेका छैनन् ।

कैयौं जानकारहरुका अनुसार यदि साउदी अरबबाट चीनले किनेको तेलको भुक्तानी युआनमा गरियो भने यो व्यवस्थापन साउदी अरब र चीन दुवैको लागि बीमाजस्तै हुनेछ । यसबाट यदि भविष्यमा कुनै प्रतिबन्धका कारण डलरमा तेल कारोबार गर्न रोक लाग्यो भने युआन राम्रो विकल्प हुन सक्छ । साउदीले युआनमा भुक्तानी लिन थालेमा अरु देशले पनि यही बाटो समाउन सक्छन् । एकातिर रुस र भारत, अर्कोतिर साउदी र चीनको यो व्यापारले अमेरिकी डलरको आवश्यकतालाई ह्वात्तै घटाइदिनेछ ।

२०७८ चैत्र १८, शुक्रबार २१:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय