महोत्तरी : राष्ट्रिय महत्वका चाडवाड नजिकिदै गर्दा महोत्तरीको धार्मिक र साँस्कृतिक नगर भनिने मटिहानी स्वरुप फेर्दैछ । रामायणकालीन जनश्रुतिका कैयौं कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र साँस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृृद्धि हुँदै गएको हो ।

अघि त्रेता युगमा रामसीताको विवाह हुँदा वेदी (यज्ञस्थल) बनाउन मटिहानीकै माटो खनिएको विश्वास गरिन्छ । त्यतिखेर माटो खनिएको ठाउँ लक्ष्मीसागर सम्पूणर् हिन्दूहरुको आस्था, भक्ति र दर्शनीयस्थल रहँदै आएको छ । अवधबाट राजा दशरथ जन्ती लिएर मटिहानी हुँदै जनकपुर गएका जनश्रुति मटिहानीमा सुनिन्छन् ।

धार्मिक महत्वको यो पौराणिकस्थलमा बितेको सातामै कतिपय योजना सम्पन्न भएका छन् । यसैगरी कतिपय योजनाको निर्माण काम थालिएको छ । मटिहानीस्थित भगवान ल्क्ष्मीनारायण मन्दिर र बजारबीचमा भव्य आकर्षक द्वार निर्माण सम्पन्न भएर उद्घाटन भएको छ । यसैगरी मटिहानी-५ स्थित गोबरौरा र धनुषाको घोडघास जोड्ने सडकको दुधमती नदीमा नयाँ झोलुङ्गे पुल उद्घाटन भई आवतजावत खुलेको छ । मटिहानी-३ झिझा खोलामा आठ मीटर लम्बाइ र पाँच मीटर चौडाइको र मटिहानी-८ र धनुषाको तुल्सियाही जोड्ने बिग्ही नदीमा पाँच मीटर चौडाइ र ४५ मीटर लम्बाइको पक्कीपुल निर्माण कार्य थालिएको छ ।

यसअघि नै मुलुकभरिकै मठहरुको नायक मठ लक्ष्मीनारायण मठ परिसरमा झुलाघर निर्माण र लक्ष्मीसागरको चित्ताकर्षक घाट निर्माण कार्य सम्पन्न भइसकेका छन् । मटिहानी-जनकपुर (रामजानकी) सडक र मटिहानी-जलेश्वर सडकमा निर्माण भएका कलात्मक प्रवेशद्वारले यस ठाउँको साँस्कृतिक र धार्मिक महत्ता उजागर गरेका मटिहानीबासी सगर्व बताउँछन् ।

rpt

मटिहानीको धार्मिक परिचयको कुरा उप्कनासाथ यहाँको धार्मिक र सामाजिक सद्भावको उदाहरण हरकोहीले दिने गर्दछन् । आधुनिक मटिहानी निर्माणमा हिन्दू परम्पराका साधु तश्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबाले जग बाँध्नु भएको हुँदा यहाँ दुबै परम्पराका चाडपर्व एकआपसमा मिलेर उल्लाससाथ मनाइने गरिएको मटिहानीका शिक्षा संस्कृतिविद् चन्देश्वर साह बताउनुहुन्छ । “लक्ष्मीसागरको उत्तरतटमा लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर छन् , पश्चिमीदक्षिणी तटमा सन्त पिरबाबाको मजार छ” साह भन्नुहुन्छ, “यी स्थल हाम्रा साझा तीर्थस्थल हुन्, पिरबाबाको मजारमा दुःख पुकारा गर्न पुग्नेमा हिन्दू /इस्लाम धर्मावलम्बी सराबरी हुने गर्छन् ।” आफ्नो ठाउँका मुख्य पर्व साउने झुलामहोत्सव, विजयादशमीका दिनको रावणवध उत्सव, फागु, दशैं, तिहार, छठ, मुहर्रम, इद-उल-फित्र , सवेबरात र इद-उल-जोहामा सबै समान रुपले उत्सवमा झुम्ने गरेको साहको भनाइ छ ।

Dudhmati Pul

मित्रराष्ट्र भारतसँग सीमा जोडिएको यो ठाउँका सीमा वारीपारीका मटिहानी र मधवापुर बजार एकआपसमा अभिन्न रुपले जोडिएका छन् । दोहोरो सामाजिक सम्बन्धले दुबैतर्फका नागरिकका दुखसुखमा दुबैतिरका नागरिक सरिक हुने गर्छन् । यसबाहेक मटिहानी प्राचीन शिक्षा र साहित्यको साधना केन्द्र पनि रहेको छ । यहाँस्थित ३०५ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय र माहामुनि याज्ञवल्क्य र भगवान लक्ष्मीनारायणका नाउँमा स्थापित/सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) मा पुरातन संस्कृत भाषा र साहित्यको साधनास्थल रहेका छन् ।

विद्यापिठमा स्नातकोत्तरसम्मको अध्ययन/अध्यापन हुने गरेको छ । गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालगुरु षडाननले पनि पढ्नु भएको संस्कृत विद्यालय परिसरको अवलोकन गर्नुभएपछि यो ठाउँ शैक्षिक पर्यटनको पनि केन्द्र बनेको छ । गत मङ्सिरमा भएको राष्ट्रपति भण्डारीको अवलोकन पछि विद्यालयमा देशदेशावरका विद्वान मनिषिहरुको आगमन बाक्लिएको प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ ।

आफ्नो नगरको धार्मिक, शैक्षिक र साँस्कृतिक परिचयको विस्तार र प्रबद्र्धनले नयाँ सम्भावनाका द्वार खुल्ने नगरप्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । आफ्नो नेतृत्वको जनप्रतिनिधि टिम यसै दिशामा दत्तचित्तसाथ अघि बढेको मण्डलको भनाइ छ ।

२०७९ आश्विन ३, सोमबार १७:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय