
सिरहा : असोज १९ गते बुधबार दशैंको टीकाको दिन विहान ९ बजे नै संजिरा साहलाई प्रसव वेदनाले छोप्यो।
सुरक्षित प्रसूतिका लागि सासु अनोधैन साहले बुहारी संजिरालाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ्ग सेन्टरमा पुर्याइन्। नातिनातिना पुस्ताको सुरक्षित आगमनका लागि सासु अनोधैन व्यग्र थिइन्। तर, दुर्भाग्य गोलबजारको बर्थिङ्ग सेन्टरको ढोका बन्द थियो।
अनौधैनले बर्थिङ्ग सेन्टरको ढोका ढकढकाइन्। ढोका खुल्यो तर स्वास्थ्यकर्मी भेटिएनन्। बरु ढोका खोल्ने सरसफाई कर्मचारीले ‘फोन गरेर बोलाउँछु’ भन्दै पर्खन आग्रह गरिन्।
महिला सरसफाई कर्मचारीले तीन जना स्वास्थ्यकर्मीलाई पालो–पालो फोन गरिन्। तर, प्रसूति सेवा दिने स्वास्थ्यकर्मी कोही पनि बर्थिङ्ग सेन्टरमा आउन तयार भएनन्। एकले अर्कोलाई बोलाउने भने, कोही आएनन्।
यता संजिरा प्रसव पीडाले छटपटाइ रहेकी थिइन्। उनको आइयाआथ्थो चिच्याहटमा परिणत हुँदै थियो। सासु अनोधैन स्वास्थ्यकर्मी बोलाइदेउ भन्दै हारगुहर गरिरहेकी थिइन्। सरसफाई कर्मचारीले स्वास्थ्यकर्मीलाई पुनः एक पटक फोन गरिन्। स्वास्थ्य अवस्था नाजुक भएको जानकारी गराउँदा उताबाट जवाफ आायो, ‘बाहिर लैजान भन्देऊ।’
एक घण्टापछि अनोधैनले एम्बुलेन्स बोलाइन् र बुहारी संजिरालाई लहान अस्पतालतर्फ कुदाइन्। अस्पतालमा सुरक्षित रूपले बच्चा जन्माइन्। तर, अनोधैनले स्वास्थ्यकर्मीको गाली खाइन्।
उनले भनिन्, ‘ईश्वरलाई लाख–लाख धन्यवाद, लहानका स्वास्थ्यकर्मीको सहयोगमा बुहारीले सुरक्षित रूपमा बच्चा जन्माइन्, ढिलो गरी लगेकोमा मलाई हप्काए पनि। अझै ढिलो भएको भए अनिष्ट हुन सक्थ्यो।’
अनोधैन साहले स्वास्थ्यकर्मी राखेर बर्थिङ्ग सेन्टर सञ्चालन गरेर गोलबजार नगरपालिकाले जनताको आँखामा छारो हालेको आरोप लगाइन्। आवश्यक परेको बेलामा काम नपरेपछि उनले बर्थिङ्ग सेन्टरको चौचित्यमाथि नै प्रश्न उठाइन्।
‘नगरपालिकाले जनताको आँखामा छारो हाल्यो,’ उनले भने, ‘मातृ शिशुको ज्यानसँग खेलबाड गरेको छ, यो अक्षम्य अपराध हो।’
घटनाबारे गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णसँग जिज्ञाशा राख्दा उनले भने कर्मचारीलाई कारबाही हुने बताए।
‘बर्थिङ्ग सेन्टर बन्द हुनु र स्वास्थ्यकर्मी नहुनु गम्भीर लापरबाही हो,’ उनले भने, ‘दोषी कर्मचारी उपर दशैं बिदापछि कारबाही गरिनेछ।’
प्रसव वेदना महिलाहरूको लागि विशेष अवस्था हो। आमालाई सुरक्षित राखेर शिशुको जन्म गराउन सकियो भने हर्षोल्लास हुन्छ अन्यथा परिवार, समाज र राज्यका लागि पनि असह्य पीडाको विषय बन्छ।
मातृ शिशु मृत्युदर घटाउन राज्यले पनि हरेक यत्न गरिरहेको छ। त्यसकारण प्रसूति गराउन स्वास्थ्य संस्थामै लैजानू भनेर जनचेतना फैलाइन्छ।