महोत्तरी : अवसर पाउँदा चेतनाको दियो बल्ने रहेछ भन्ने उदाहरण महोत्तरीको अति पिछडिएको जाति समुदायबाट स्थानीयतहमा निर्वाचित महिला सदस्य बनेका छन् । विक्रम सम्वत् २०७२ मा नयाँ सम्विधान जारी भएपछि पहिलो पटक २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा बर्दिबास-७ मा चुनाव लडेर महिला सदस्य जित्नुभएकी कलीमायाँ विश्वकर्मालाई पहिले नमस्कार गरेर आफ्नो परिचय दिन पनि लाज लाग्थ्यो । अहिले विश्वकर्मा आफ्नो पदीय दायित्व र अधिकारबारे खरर बोल्नसक्ने हुनुभएको छ ।

“२०७४ सालमा लहैलहैमा गाउँबस्ती ओरपरका छिमेकीले चुनाव लडलड भने, मानेर लडें , जितें पनि” पहिलो कार्यकालको अनुभव सुनाउँदै कलीमायाँले भन्नुभयो, “प्रमुख, उपप्रमुख र वडाअध्यक्षले जहाँजहाँ सही गर्न भन्नुहुन्थ्यो त्यही गरिन्थ्यो ।” तर पहिलो कार्यकालको उत्तर्राद्धमा महिला सशक्तिकरण क्षेत्रमा कार्यरत ‘माण्डवी’ संस्थाले महिला सदस्यको कर्तव्य र अधिकारबारे लगातार सिकाउँदै गएपछि बल्ल आँखा खुलेको उहाँको भनाइ छ ।

माण्डवीले नगरसभामा कसरी आफ्ना कुरा राख्ने भन्ने सिकाएपछि आपूmसहितका धेरै महिला सदस्यले महिला हकहित र सामाजिक आवश्यकताका विषयमा प्रस्ताव नै लग्ने गरेको कलीमायाँले बताउनुभयो । पहिलो कार्यकालको उत्तर्राद्धमा माण्डवीले ‘बुटक्याम्प’ (लक्षसहित सैनिक चालमा हिंड्ने भाव) तालिम दिएपछि जनताबीच कसरी जाने, फेरि कसरी निर्वाचित हुने र जनपक्षीय कामका मुद्दा कसरी उठाउने भन्ने सिकाएका कुरा व्यवहारमा लाँदै गएपछि समाजमा सबैले मायाँ गर्न थालेका कलीमायाँको अनुभव छ ।

“पहिलोचोटी (२०७४) त चुनाव लड्नु परेको थियो” कलीमायाँले भन्नुभयो, “यसपालि (२०७९) त सबैले निर्विरोध पो छोडीदिए ।” पछिल्लो कालमा जनतासँग एकाकार हुने कलाले आपूm निर्विरोध निर्वाचित भएको कलीमायाँको ठम्याइ छ । माण्डवीसँगको सङ्गति, सहकार्य र प्रशिक्षणले अज्ञानतारुपी पट्टी खोलीदिएपछि आपूm पनि समाजको खास हुँ भन्ने अनुभूति हुने गरेको कलिमायाँले बताउनुभयो ।

कलीमायाँजस्तै बर्दिबास-१४ की श्यामकुमारी नेपाली, पिपरा-५ की जितनीदेवी महरा, औरही-२ की सोनावतीदेवी यादव, जलेश्वर-१ की सोगरा खातुन र भङ्गाहा-९ की जुमैदा खातुन पनि यसपालि (२०७९) दोस्रो कार्यकालका लागि निर्वाचित महिला सदस्य हुनुहुन्छ । आपूmहरुलाई हकअधिकार, दायित्व र कर्तव्यबारे माण्डवीले सिकाएको कुराले जनतामा स्थापित हुन सहयोग गरेको भङ्गाहा-७ की महिला सदस्य ललिता चौधरी थारुको ठम्याइ छ । जिल्लामा यसपालि पाँच स्थानीयतह (बर्दिबास, पिपरा, औरही, जलेश्वर र भङ्गाहा) मा २० जना महिला सदस्य दोस्रो कार्यकालका लागि चुनिएका छन् ।

माण्डवीले जिल्लाका पाँच स्थानीयतह बर्दिबास, पिपरा, औरही, जलेश्वर र भङ्गाहालाई कार्यक्षेत्र बनाइ निर्वाचित महिला सदस्यहरुलाई नेतृत्व विकासको तालिम दिएर निरन्तर सवल र सशक्त बनाउँदैछ । माण्डवीको तालिमपछि महिला सदस्यहरु नगर कार्यपालिकाको काम, सामाजिक छलफल र विकास निर्माणका काममा सकृय सहभागिता बढाउँदै लगेका भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहको भनाइ छ । “म आफैं पनि यसपालि दोस्रो कार्यकालका लागि निर्वाचित भएको प्रमुख हुँ” साहले भन्नुभयो, “महिला सदस्यहरु माण्डवीको तालिम पाएर निकै जानकार हुनुभएको छ ।”

मधेशमा शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनका अवसरबाट वञ्चित रहँदै आएको मुसहर जाति समुदायबाट बर्दिबास-१२ मा महिला सदस्य निर्वाचित रुपोदेवी सादा अहिले आफ्नो बस्ती ओरपर शैक्षिक विकासका लागि मरीहत्ते गरेर लागीपर्नु भएको छ ।

“हामी त अन्धकारमा रहेछौं, माण्डवीले आँखा खोलीदियो” रुपोदेवी भन्नुहुन्छ, “नजान्नु त अन्धकार रहेछ नि ! जीवनको पहिलो कुरो त जानकारी पो रहेछ , यो माण्डवीले सिकायो” । अहिले रुपोदेवी आफ्नो समुदाय (जाति, मुसहर) भित्रका नानीहरु आफैंले विद्यालय पुर्‍याउने गर्नुहुन्छ । पढ्न, पढाउन उत्प्रेरित गराउनुहुन्छ । रुपोदेवीको परिचय अचेल बर्दिबास-१२ बिजलपुरामा जागरुक महिलामा हुने गरेको वडाअध्यक्ष रामकिशोर साह बताउनुहुन्छ ।

जिल्लाको औरही नगरपालिकाकी कार्यपालिका सदस्य हिराकुमारी महरा प्रखर वक्ता जस्तै बोल्नुहुन्छ । माण्डवीले सङ्कोच, डर हटाएर जिम्मेवार हुन सिकाएपछि अहिले योजनाहरु कसरी बनाउने ? कस्तो विकास गर्ने ? समुदायमा कसरी बोल्ने ? सभाहरुमा कसरी आफ्नो कुरा राख्ने ? लगायतका धेरै कुरा सिकेको हिरा बताउनुहुन्छ । औरही-८ की वडासदस्य इन्दुदेवी सादा पनि अब हकअधिकारका कुरा गर्न पोख्त हुनुभएको छ । “सरकार, विकास, कानून, योजना, अधिकार जस्ता धेरै विषयबारे जानकारी पाइएको छ” इन्दु भन्नुहुन्छ, “अब मलाई वडाका समस्या नगर कार्यपालिकासम्म पुर्‍याउन केही झैं लाग्दैन ।” माण्डवीको सहयोगले आपूmसहितका महिला सदस्यमा जीवनबारेको महत्व बल्ल थाहा पाएको इन्दु बताउनुहुन्छ ।

माण्डवीले निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सवल र शसक्त बनाउन ‘शी लिड्स’ कार्यक्रममार्फत प्रशिक्षित गराउँदैछ । जिल्लाका पाँच स्थानीयतहका १०६ महिला सदस्यलाई यस कार्यक्रमअन्तर्गत तालिम दिई सकिएको माण्डवीका कार्यक्रम अधिकृत पियङ्का ठाकुरले जानकारी दिनुभयो । अहिले पाँच स्थानीयतहमध्ये भङ्गाहाबाहेक अन्य चारमा महिला सदस्यहरुलाई तेस्रो चरणको तालिम दिइसकिएको ठाकुरको भनाइ छ । भङ्गाहामा पनि अब तिहारलगत्तै तेस्रो चरणको तालिम सञ्चालन गरिने माण्डवीको तालिका छ ।

तालिमको अहिलेको तेस्रो मोड्युल (चरण) मा समूहकार्य, बैठकको योजना र व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सञ्जालीकरण, सक्रिय सुनवाई, सञ्चारमाध्यमसँग सहकार्य, विकास, समुदाय परिचालन, व्यक्तिगत विकासका लक्ष्यहरु र कार्ययोजनासहितका विषय पर्ने गरेका तालिमका सहजकर्ता पार्वती भट्टराईले जानकारी दिनुभयो । यसअघि दोस्रो मोड्युलको प्रशिक्षणअन्तर्गत महिला नेतृत्वको परिचय, आत्मविश्वासको अभिवृद्धि, लैङ्गिकता र लैङ्गिक समानतालगायतका विषयमा तालिम दिइएको थियो भने प्रथम चरणमा परिचयात्मक विषय समेटिएका थिए । पहिलो चरणमा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष , महिला जनप्रतिनिधिका घरमूलीलगायतसँग अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

आइएफएसको प्राविधिक सहयोग र अस्ट्रेलियन एडलगायतका संस्थाको आर्थिक सहयोगमा माण्डवीले यी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । स्थानीयतहका महिला सदस्यमा आएको सकारात्मक परिवर्तनले आपूmहरुको मेहनत सार्थक भएको देखिदा लगनपूर्वक लागी परे असम्भव केही छैन भन्ने लाग्ने गरेको माण्डवीका महासचिब अञ्जु साह बताउनुहुन्छ ।

जिल्लामा माण्डवीको यो कार्यले महिला सशक्तिकरणमा राम्रो वल प्राप्त भएको यहाँका सामाजिक अभियानीको ठहर छ । माण्डवीको साथले कोरा महिला अहिले सामाजिक सचेतनाका अगुवा बन्दै गरेको देखिदा सन्तोस लाग्ने गरेको बर्दिबास-२ का वडाअध्यक्ष श्यामराजा सिंहको भनाइ छ ।

२०७९ कार्तिक ६, आईतवार १६:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय