महोत्तरी-१ प्रतिनिधिसभा क्षेत्रका स्वतन्त्र उमेद्वार । दलहरुका बिभिन्न गठबन्धनहरुका बीच थापाको उमेद्वारी अहिले चर्चामा छ । सत्तागठबन्धन, एमाले/जसपा चुनावी तालमेल, अन्य दलका उमेद्वार र स्वतन्त्र अन्यहरुका बीच थापाको छुट्टै पहिचान स्थापित हुँदैछ । थापा जहाँ पुग्नुहुन्छ, उहाँलाई भेट्नेको तँछाडमछाड देखिन्छ । महोत्तरीको बर्दिबास-११ खयरमारामा २०३४ सालमा जन्मनु भएका थापा वाणिज्य शास्त्रका स्नातक हुनुहुन्छ । थापाले २५ वर्षको सरकारी सेवाको अनुभव सँगाल्नु भएको छ । यसपालि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दाखिला गर्न केहीपूर्व अधिकृत स्तरको सरकारी सेवा त्यागेर सकृय राजनीतिमा होमिनु भएका थापासँग उहाँको चुनावी अभियानकै क्रममा हाम्रा सञ्चार सहकर्मी ममता अर्यालले छोटो कुराकानी गर्नुभएको छ । यहाँ त्यसको सारसंक्षेप प्रस्तुत छ ।—सम्पादक

++ तपाईं छँदाखाँदाको अधिकृत स्तरको सरकारी जागिर छाडेर राजनीतिमा होमिनु भयो त, के देख्नु भयो आकर्षण ?
—म मध्यम परिवारिक पृष्टभूमिको किसान परिवारको छोरा हुँ । आफ्नो जग्गामा मेहनत गर्दा गुजारालाई चिन्ता गर्न पर्दैन । पढेलेखेर मुलुकका लागि सरकारी प्रशासनिक सेवा पनि दिएँ । पछिल्लो कालमा राजनीतिप्रति आम रुपमा वितृष्णा बढेको अनुभूति गरेर यो क्षेत्र घृणा वा उपेक्षाको होइन भन्ने देखाउने हुटहुटी जाग्यो । यो आँट मैले गर्नुपर्छ भन्ने सोचले मलाई निर्देशित गर्‍यो र सकृय राजनीतिमा लाग्ने निणर्यसाथ आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि उमेद्वारी दिएँ । यो आकर्षणभन्दा पनि जिम्मेवारीवोधले गराएको हो ।

++ठ्याक्कै राजिनामा दिनुभयो, तत्कालै उमेद्वारी दिनुभयो । यो चर्चा बटुल्न कि जित्न हो ?
—सरकारी सेवामा रहेपनि म सामाजिक गतिविधि र जनसरोकारका विषयमा सरिक भइरहन्थें । आफैं कार्यरत कार्यालय (यातायात व्यवस्था कार्यालय बर्दिबास) लाई पनि जनमुखि सेवा प्रवाह गर्न केके गर्न सकिन्छ ? मलाई यो कुराले हुटहुट्याई रहन्थ्यो । मैले कार्यालय प्रमुखका हैसियतमा बर्दिबासमा यो प्रयत्न इमान्दारीपूर्वक गरें । त्यसको सकारात्मक प्रतिफल सेवाग्राहीले पाएका छन् भन्ने मेरो आत्ममुल्याङ्न छ । खासमा भन्ने हो भने बर्दिबासमा स्थापित मालपोत र भूमिसुधार कार्यालयका कागजात (अभिलेख) जलेश्वरबाट यहाँ ल्याउनु राजनीतिक दलका लागि ‘आकाशको फल’ जस्तै बनेको थियो । मसहित अहिलेका बर्दिबास नगरप्रमुख प्रल्हाद क्षत्रीसहितले योजना बनाएर कागजात ल्याएर कार्यालयको काम प्रारम्भ गरियो । मलाई लाग्छ, बर्दिबासका लागि यो एउटा उत्साहवर्धक सफलता थियो । हामीले प्रयत्न गरेर पनि श्रम कार्यालय यहाँ जोगाउन सकेनौं । यहाँका जनताको मत लिएर मन्त्रीसम्म हुनेहरुले यसमा वास्ता देखाएनन् । मैले यो पृष्टभूमि यसकारण बताउँदै छु , कि कसैले फुत्त दुलाबाट निस्केको मान्छे न भन्ठानोस् । मसँग योजनाबद्ध विकासको खाका कोर्ने सीप छ , केही गरौं भन्ने उत्साह छ, काम गरेर देखाउने हुटहुटी छ । म यो उत्साहलाई जनताको सामुहिक प्रयत्नमा जोड्न चाहान्छु । देश फेर्ने फेरि पनि राजनीतिले नै हो । तसर्थ स्वच्छ र जनमुखि राजनीति स्थापित गर्नसकियोस् भन्ने स्पष्ट लक्ष (अर्जुनदृष्टि) साथ म मैदानमा उत्रिएको छु । मेरो जितले राजनीति सेवाको क्षेत्र रहेछ भन्ने दृष्टान्त स्थापित गर्दै यसप्रति देखिएको वितृष्णा घटाउने सङ्कल्प बोकेको छु ।

++ठिक छ, तपाईंले सङ्कल्पको कुरा गर्नुभयो । यसका लागि निर्वाचन जित्नु पर्ने होला नि ! के छन् तपाईंका जितका आधार ? केही गनाउनोस् त…।
—म तपार्इंलाई भनौं, गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा हामीले स्वतन्त्र समूह बनाएर चुनाव लडेका थियौं । त्यो समूहले राम्रो सफलता पाएको जगजाहेर छ । त्यतिखेर हाम्रा विजयी नगरप्रमुखले पाउनुभएको १४ हजारभन्दा बढी मत अहिले पनि हाम्रा पक्षमा खडा छ । त्यो मतमा ‘गर्ने त यिनै पो हुन्’ भन्ने विश्वास जनतामा बढ्दा मत अझै बढ्दै गएको छ । बर्दिबासबाहेकका यस क्षेत्रमा पर्ने भङ्गाहाका चार वटा वडा र गौशाला नगरक्षेत्रमा पनि हामीप्रति विश्वास र भरोसा गर्ने जनताको ठूलो पङ्ति देखिदो छ । म साँच्चै भनौ, मतदाता भेट्न बस्तीबस्ती पुग्दा मलाई हेर्न र दुईचार कुरा गर्न जुन उत्सुकता देख्छु , यसले मलाई भावुक मात्र हैन, थप जिम्मेवारीको वोध गराउँदो छ । निर्वाचन जित्ने मेरा यी मुख्य आधार हुन् । यसबाहेक मलगायतका बर्दिबासका स्वतन्त्र समूहका साथीहरु नेपाली काँग्रेस पृष्टभूमिका हौं । यहाँ प्रतिनिधिसभा र दुबै प्रदेशसभामा काँग्रेसको उमेद्वारी नहुँदा यस पृष्टभूमिका मतदातालाई मभन्दा नजिकका अरु हुनसक्दैनन् । यो पनि मेरो निर्वाचन जित्ने थप र बलियो आधार हो ।

—तपाईंसँग चुनावमा भिड्ने ठूलठूला दलका गठबन्धन छन् । के गरी तार लाउनुहोला खै…?
—गत स्थानीय निर्वाचनमा पनि अहिलेका मध्ये केही गठबन्धन त थिए । जनता सोझिएपछि कसैको केही लाग्दैन । फेरि त्यस्ता गठबन्धन चिनिन बाँकी त कोही छैनन् । जनताले त्यसै मलाई हेर्न र दुईचार कुरा गर्न चाहेका हैनन् । जनताले मभित्र आफ्नो प्रतिनिधि खोजेका छन् । त्यो जनताको मनमा एउटा मुल्याङ्कन घर गरी सकेको छ, त्यो मङ्सिर चार गते मतपत्रमा अभिव्यक्त हुन्छ । प्रतिक्षाको घडि अब टाढा छैन ।

++अन्त्यमा केही थप्नुहुन्छ वा केही महत्वपूणर् कुरा भन्न छुटे झैं लागेको छ ?
—म मनभरि महोत्तरी-१ का दर्जनौं सपना मनभित्र सँगालेर चुनावी मैदानमा होमिएको छु । मलाई जनताको साथ चाहिन्छ । म राजनीतिमा देखिएको फोहर सफा गर्न मन, वचन र कर्मले निष्ठा र इमानसाथ लागी रहने प्रण दोहोर्‍याउँछु । मलाई आफ्ना कुरा राख्ने अवसर र ठाउँ दिनुभयो । नेपालीवाणि परिवारमा साधुवाद ।

२०७९ कार्तिक २९, मंगलवार १८:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय