गगन अर्याल,

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सत्ता समीकरणका लागि प्रमुख दलहरूले गृहकार्य थालेका छन् । सरकार गठनका लागि निर्णायक मानिएका साना दललाई आफ्नो पक्षमा पार्न नेताहरूले गृहकार्य थालेका हुन् । साना दल र स्वतन्त्र सांसदलाई नेताहरूले फोन गरेर फकाइरहेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सत्ता गठबन्धनले चुनावमा जाँदा नै भविष्यमा पनि यही गठबन्धन कायम रहने वाचा गरेको थियो । सोही अनुरूप गठबन्धनले नयाँ सरकार गठनका लागि गृहकार्य थालेको छ । गठबन्धनका नेताले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग कुराकानी गरेका छन् भने रेशम चौधरीको पार्टीसँग पनि सम्पर्क गरिरहेका छन् ।

समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर संसदमा सातौं नम्बरको दल बन्न लागेको जनमतका अध्यक्ष सीके राउतसँग प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले छलफल गरिसकेका छन् ।

देउवालाई भेटाउन भूमिका खेलेका कांग्रेस नेता विमलेन्द्र निधिले संघ र प्रदेश सरकारमा सहभागी हुने सहमति भएको बताएका छन् । सीके राउतले पनि सरकारमा सहभागी हुन सकारात्मक रहेको प्रतिक्रिया लोकान्तरलाई दिएका छन् ।

गठबन्धनका नेताले पश्चिम तराईबाट उदाएको नागरिक उन्मुक्ति पार्टीलाई पनि नयाँ सरकारमा ल्याउन पहल थालेका छन् । कैलालीको टीकपुरमा २०७२ सालमा भएको हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि समाजवादी पार्टीका डा. बाबुराम भट्टराईसम्म जेलमै पुगे ।

कैलालीमा ३ र बर्दियामा एक (स्वतन्त्र) जितेको नागरिक उन्मुक्तिको संसदमा हैसियत महन्थ ठाकुरको लोसपासरह छ । उपेन्द्र यादवलाई विस्थापित गरेर सत्ता गठबन्धनसँग तालमेल गरेको महन्थको पार्टीले ४ सीट जितेको छ । महन्थको पार्टी पनि सरकारमा सहभागी हुनका लागि लालायित देखिएको छ ।

पार्टी अध्यक्ष रहेकी रेशमपत्नी रञ्जिता श्रेष्ठ निमित्त पात्र मात्र भएकाले नेताहरूले रेशमसँगै कुरा गरिरहेका छन् । उनको पार्टी सुदूरपश्चिम प्रदेश सरकार गठनमा पनि निर्णायक हुँदैछ । सरकारमा सहभागिताका लागि चौधरीको रिहाइलाई सो दलले शर्त बनाएको छ ।

लिङ्देनलाई देउवा–ओलीको फोन

सरकार गठन विघटनका लागि महत्त्वपूर्ण फ्याक्टर बन्नसक्ने हैसियत बोकेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली दुवैले फोन गरेका छन् ।

‘काठमाडौं आएपछि भेटौं भनेर देउवा र ओली दुवैले फोन गर्नुभएको छ,’ राप्रपा स्रोतले भन्यो, ‘सरकारमा सहभागिताका लागि अहिलेसम्म कतैबाट औपचारिक प्रस्ताव आएको छैन ।’

प्रत्यक्षतर्फ ७ र समानुपातिकबाट ७ सीटसहित १४ सीट सुरक्षित गर्ने राप्रपा आफैं भने सरकारमा सहभागी हुन हतारिएको देखिँदैन ।

‘अहिलेको जनमत राप्रपा सरकारभन्दा प्रतिपक्षमै बसोस् भन्ने छ । अहिलेसम्म कतैबाट औपचारिक प्रस्ताव पनि नआएकाले छलफल भएको छैन,’ प्रवक्ता मोहन श्रेष्ठले लोकान्तरसँग भने, ‘हाम्रो कारणले देशमा सरकार नै नबन्ने अवस्था आयो भने एउटा जिम्मेवार दलले त्यो बेला निर्णय लिन्छ ।’

चुनावमा राप्रपाले तीन जिल्लामा एमालेसँग तालमेल गरेको थियो । कतिपय क्षेत्रमा भने उसले एमालेकै उम्मेदवारलाई पराजित गरेको थियो ।

कांग्रेस, माओवादी, नेकपा एस, जनमत, लोसपा र जनमोर्चा मिल्दा सरकारका लागि आवश्यक बहुमत (१३८) पुग्न सक्छ । तर, गठबन्धनलाई बलियो बनाउन देउवा र प्रचण्डले राप्रपा लगायत दलको समर्थन जुटाउने कोशिश गरिरहेका छन् ।

संसदीय सुनुवाइलगायत समितिमा बहुमत पुर्‍याउन र विपक्षी गठबन्धनलाई कमजोर तुल्याउन पनि सत्ता गठबन्धनले अधिकतम दललाई सरकारमा समेट्न कोशिश गरिरहेको छ ।

‘सकेसम्म सरकारमा सहभागी गराउने, नभए सरकारलाई समर्थन जुटाउने प्रयासका लागि साना दलसँग कुराकानी भइरहेको छ,’ नेपाली कांग्रेसका एक नेताले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा पनि सम्पर्कमा

एक वर्षभन्दा बढी सत्ताको अनुभव गरेर चुनावको मुखैमा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जसपा पनि सत्ता गठबन्धनसँग नजिकिएको छ ।

चुनावमा अध्यक्ष उपेन्द्र यादवको पराजयपछि जसपाले पुनः सरकारमा सहभागिताका लागि पहल शुरू गरेको हो ।

‘संघ र प्रदेश सरकारमा सहभागिताका लागि सत्ता गठबन्धनसँग हामी छलफलमै छौं । कुनै गठबन्धनलाई निषेध गर्ने हाम्रो सोचाइ छैन,’ प्रदेशसभा सदस्य निर्वाचित भएका जसपाका एक नेताले भने ।

प्रत्यक्षमा ७ सहित समानुपातिकमा राम्रो मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने अहिलेसम्म गठबन्धन र एमाले कसैले सम्पर्क गरेका छैनन् । केही शर्त पूरा गरे सरकारमा सहभागी हुने संकेत स्वतन्त्र पार्टीले गरेको थियो ।

चुनावमा स्वतन्त्रले पाएको भोटका कारण कांग्रेस र एमाले दुवै दल उसँग सशंकित छन् । घण्टी चिह्नवाला स्वतन्त्र पार्टीबाहेक स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेकासँग पनि गठबन्धनले छलफल गरिरहेको छ ।

रौतहट– ३ बाट स्वतन्त्र चुनाव जितेका प्रभु साह र रौतहट– २ का किरण साहसँग माओवादी अध्यक्ष प्रचण्डले सम्पर्क गरेका थिए ।

कांग्रेसको बागी उम्मेदवार बनेर चुनाव जितेका अमरेश कुमार सिंहलाई पनि कांग्रेसका नेताहरूले फकाइरहेका छन् ।

केही स्वतन्त्र सांसद र साना दललाई समावेश गर्दा गठबन्धनको बहुमत पुग्ने देखिएपछि नेकपा एमालेले अहिलेसम्म सरकार गठनको ठोस पहलकदमी लिएको छैन ।

गणना जारी रहेका तीन क्षेत्र र समानुपातिकतर्फको सम्पूर्ण नतिजा आएपछि मात्र एमालेले कसरी अगाडि बढ्ने भनेर निर्णय लिने नेताहरू बताउँछन् ।

साभार : लोकान्तर

२०७९ मंसिर १७, शनिबार ०६:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय