बर्दिबास : “हमरो सबके बातमें ध्यान दियौ न, मेयरसा’ब, हमहुसब त अही ठामके बात करैछी” महोत्तरीको भङ्गाहा नगरपालिका-४ बाट निर्वाचित दलित महिला सदस्य जिलेबियादेवी सादा मुसहरले रुवाबिलो पारामा नगरप्रमुख सञ्जिवकुमार साहको ध्यान आकृष्ट गर्दै आफ्ना कुरा सुन्न अनुरोध गर्नुभयो ।

‘न राख्ने सामल, न सञ्चित गर्ने धन’ आहानका लागि उभ्याइने मधेशमा अत्यन्त पछि परेको मुसहर जाति समुदायकी जिलेबियादेवीको रोबिलो बोलीले नगरप्रमुख साह रिसाउनु भएन । “जी हँ, कहियौ न, हम सुनैछी” जिलेबियालाई बुझ्न सजिलो पार्दै जनबोलीको मैथिली भाषामै साहले आश्वस्त पार्नुभयो । जिलेबियामात्र नभई नगरका सबैजसो महिला जनप्रतिनिधि बिस्तारै निर्धक्क आफ्ना ठाउँका समस्याबारे कुरा राख्नसक्ने बन्दै गएको नगरप्रमुख साहको बुझाइ छ ।

“महिला जनप्रतिनिधि साँचो अर्थमा जनताको प्रतिनिधित्व गर्नभन्दा कानूनी व्यवस्था पुरा गर्न उभ्याइने बुझिन्थ्यो” नगरप्रमुख साहले भन्नुभयो, “तर अब महिला प्रतिनिधि रित (प्रकृया) पुर्‍याउनमात्र होइन, आफ्ना क्षेत्रका समस्या दर्विलो ढङ्गले राख्न सक्षम हुँदैछन् ।” महिला प्रतिनिधिमा बढेको यो क्षमताले महिला सशक्तिकरणलाई सघाउ पुर्‍याएको साहको ठम्याइ छ ।

महोत्तरीका पाँच र छिमेकको धनुषाका छ स्थानीयतहका महिला जनप्रतिनिधि महिला सशक्तिकरण क्षेत्रमा कार्यरत ‘माण्डवी’ संस्थाको निरन्तरको प्रयत्नले खारिदै र परिपक्व हुँदै गएका छन् । “हामीले आफ्नो काम, कर्तव्य र अधिकारबारे अब रामै्र जानकारी बढाएका छौं” आज शुक्रबार लालगढमा महोत्तरीको बर्दिबास र धनुषाको मिथिला नगरपालिकाका महिला प्रतिनिधिका लागिको चौथो मोड्युल (चरण) को चार दिने अभिमुखिकरण कार्यक्रमको समापनमा मिथिला नगर कार्यपालिका सदस्य अञ्जु श्रेष्ठले भन्नुभयो, “माण्डवीले हामीलाई चरणचरणमा गरेर धेरै कुरा सिकाएको छ ।” आपूmहरु अब जनताका समस्या सङ्कलन गर्न, समस्याबारे छलफल गर्न/गराउन, योजना छनौट र बजेट निर्माणका चरणका प्रकृया बुझ्नसक्ने भएका श्रेष्ठको भनाइ छ ।

अवसर र प्रशिक्षणले चेतनाको दियो बल्ने रहेछ भन्ने उदाहरण महोत्तरीकै बर्दिबास-७ की दलित महिला सदस्य कलीमायाँ विश्वकर्मा पनि हुनुहुन्छ । अति पिछडिएको कामी (डकमी, विश्वकर्र्मा) जाति समुदायकी विश्वकर्माको अहिले दोस्रो कार्यकाल हो । यसअघि २०७४ को स्थानीयतह चुनावमा पनि उहाँ सोही वडाबाट यसै पदमा निर्वाचित हुनुहुन्थ्यो । पहिलो पटक २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा महिला सदस्य जित्नुभएकी विश्वकर्मालाई पहिले नमस्कार गरेर आफ्नो परिचय दिन पनि लाज लाग्थ्यो । अहिले विश्वकर्मा आफ्नो पदीय दायित्व र अधिकारबारे खरर बोल्नसक्ने हुनुभएको छ ।

“२०७४ सालमा लहैलहैमा गाउँबस्ती ओरपरका छिमेकीले चुनाव लडलड भने, मानेर लडें , जितें पनि” पहिलो कार्यकालको अनुभव सुनाउँदै कलीमायाँले भन्नुभयो, “प्रमुख, उपप्रमुख र वडाअध्यक्षले जहाँजहाँ सही गर्न भन्नुहुन्थ्यो त्यही गरिन्थ्यो ।” तर पहिलो कार्यकालको उत्तर्राद्धमा माण्डवी संस्थाले नगरसभामा कसरी आफ्ना कुरा राख्ने भन्ने सिकाएपछि आपूmसहितका धेरै महिला सदस्यले महिला हकहित र सामाजिक आवश्यकताका विषयमा प्रस्ताव नै लग्ने गरेको उहाँ बताउनुहुन्छ ।

पहिलो कार्यकालको उत्तर्राद्धमा माण्डवीले ‘बुटक्याम्प’ (लक्षसहित सैनिक चालमा हिंड्ने भाव) तालिम दिएपछि जनताबीच कसरी जाने, फेरि कसरी निर्वाचित हुने र जनपक्षीय कामका मुद्दा कसरी उठाउने भन्ने सिकाएका कुरा व्यवहारमा लाँदै गएपछि समाजमा सबैले मायाँ गर्न थालेका विश्वकर्माको अनुभव छ । माण्डवीले महोत्तरीका बर्दिबास, औरही, भङ्गाहा र जलेश्वर नगरपालिका र पिपरा गाउँपालिका एबम् धनुषाका जनकपुरधाम उपमहानगरपालिका र मिथिला, क्षिरेश्वर, धनुषाधाम, गणेशमान चारनाथ नगरपालिका एबं मुखियापट्टी मुसर्नियाँ गाउँपालिकालाई कार्यक्षेत्र बनाइ महिला जनप्रतिनिधि सवलिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पहिलो कार्यकालको उत्तराद्र्धसँगै माण्डवीको प्रशिक्षण र बिभिन्न चरणको छलफलले दोस्रो पटक निर्वाचित हुन ज्ञानसँगै मनोवल बढाएको जलेश्वर-१ की महिला सदस्य मुस्लिम समुदायकी सोगरा खातुन बताउनुहुन्छ । “हामीलाई काम , कर्तव्य र अधिकारबारे माण्डवीले सिकाएको कुराले जनतामा स्थापित हुन सहयोग गर्‍यो, यसले दोस्रो पटक निर्वाचित हुन सघायो” खातुन भन्नुहुन्छ । महोत्तरीमा यसपालि पाँच स्थानीयतह (बर्दिबास, पिपरा, औरही, जलेश्वर र भङ्गाहा) मा २० जना महिला सदस्य दोस्रो कार्यकालका लागि चुनिएका छन् ।

“हामी त अन्धकारमा रहेछौं, माण्डवीले आँखा खोलीदियो” आज चौथो चरणको चार दिने प्रशिक्षणको समापनमा मिथिला-३ की बासिन्दा सिमान्तकृत समुदायबाट नगर कार्यपालिका सदस्य शर्मिला सुनुवार भन्नुहुन्छ, “नजान्नु त अन्धकार रहेछ नि ! जीवनको पहिलो कुरो त जानकारी पो रहेछ , यो माण्डवीले सिकायो ।” अहिले सुनुवारले सशक्त ढङ्गले नगर कार्यपालिकाको बैठकमा आफ्ना कुरा राख्ने हक्की प्रतिनिधिको परिचय बनाउनुभएको मिथिलाका उपप्रमुख सुनितासिंह बुढाथोकी बताउनुहुन्छ ।

महोत्तरीको औरही नगरपालिकाकी कार्यपालिका सदस्य हिराकुमारी महरा अहिले नगरक्षेत्रकै प्रखर वक्ता कहलिनु भएको छ । माण्डवीले सङ्कोच, डर हटाएर जिम्मेवार हुन सिकाएपछि अहिले योजनाहरु कसरी बनाउने ? कस्तो विकास गर्ने ? समुदायमा कसरी बोल्ने ? सभाहरुमा कसरी आफ्नो कुरा राख्ने ? लगायतका धेरै कुरा सिकेको हिराको भनाइ छ । मधेशको अति पिछडिएको चमार (सार्की) समुदायकी हिराको उत्प्रेरणाले अन्य महिला जनप्रतिनिधि पनि अब धक फुकाएर आफ्ना कुरा राख्न सक्ने बनेका नगरप्रमुख प्रदीप खड्काको मुल्याङ्कन छ ।

औरही-८ की वडासदस्य इन्दुदेवी सादा पनि अब हकअधिकारका कुरा गर्न पोख्त हुनुभएको छ । “सरकार, विकास, कानून, योजना, अधिकार जस्ता धेरै विषयबारे जानकारी पाइएको छ” मुसहर समुदायकी इन्दु भन्नुहुन्छ, “अब मलाई वडाका समस्या नगर कार्यपालिकासम्म पुर्‍याउन केही झैं लाग्दैन ।” माण्डवीको सहयोगले आपूmसहितका महिला सदस्यमा जीवनबारेको महत्व बल्ल थाहा भएको इन्दु बताउनुहुन्छ ।

माण्डवीले निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सवल र शसक्त बनाउन ‘शी लिड्स’ कार्यक्रममार्फत प्रशिक्षित गराउँदैछ । महोत्तरीका पाँच स्थानीयतहका १०६ महिला सदस्यलाई यस कार्यक्रमअन्तर्गत चार चरणको तालिम दिई सकिएको माण्डवी संस्थाका उत्प्रेरक (तालिम सहजकर्ता) पार्वती भट्टराईले जानकारी दिनुभयो ।

“हामीले महोत्तरी र धनुषाका गरी ११ स्थानीयतहका महिला जनप्रतिनिधिलाई चार चरणको तालिम दियौं” भट्टराईले भन्नुभयो, “यसअघि तीन चरणका सिकाई महिला प्रतिनिधिले अभ्यासमा राम्ररी लग्नुभएको पाएका छौं ।” यसअघि तेस्रो मोड्युल (चरण) मा समूहकार्य, बैठकको योजना र व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सञ्जालीकरण, सक्रिय सुनवाई, सञ्चारमाध्यमसँग सहकार्य, विकास, समुदाय परिचालन, व्यक्तिगत विकासका लक्ष्यहरु र कार्ययोजनासहितका विषय परेका थिए । त्यसैगरी दोस्रो मोड्युलको प्रशिक्षणअन्तर्गत महिला नेतृत्वको परिचय, आत्मविश्वासको अभिवृद्धि, लैङ्गिकता र लैङ्गिक समानतालगायतका विषयमा तालिम दिइएको थियो भने प्रथम चरणमा परिचयात्मक विषय समेटिएका थिए । पहिलो चरणमा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष , महिला जनप्रतिनिधिका घरमूलीलगायतसँग अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम पनि गरिएको भट्टराईले जानकारी दिनुभयो ।

चार चरणका तालिमबारे संक्षिप्तमा भन्नपर्दा पहिलोले चुनावमा सहभागी हुन उत्प्रेरित गर्ने , दोस्रोले काम, कर्तव्य र अधिकारबारे जानकारी, तेस्रोमा विधायिकी कार्य प्रणालीबारे जानकारी र हालै सम्पन्न चौथो मोड्युलमा योजना छनौटका सात चरण , बजेट निर्माणका नौ चरण र योजना कार्यान्वयनबारे छलफल र अन्तर्कृया गरिएको माण्डवीले जनाएको छ ।

आइएफएसको प्राविधिक सहयोग र अस्ट्रेलियन एडलगायतका संस्थाको आर्थिक सहयोगमा माण्डवीले यी कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीयतहका महिला सदस्यमा आएको सकारात्मक परिवर्तनले आपूmहरुको मेहनत सार्थक भएको देखिदा लगनपूर्वक लागी परे असम्भव केही छैन भन्ने लाग्ने गरेको माण्डवीका अध्यक्ष अञ्जु झा बताउनुहुन्छ । माण्डवी महिलामात्र सङ्गठित संस्था हो ।

माण्डवीसँगको महिला जनप्रतिनिधिको सहकार्य,अन्तर्कृया र सैद्धान्तिक छलफलले महिला सशक्तिकरणमा राम्रो बल मिलेको यहाँका सामाजिक अभियानीको ठहर छ । माण्डवीको साथले कोरा महिला अहिले सामाजिक सचेतनाका अगुवा बन्दै गरेको देखिदा सन्तोस लाग्ने गरेको भङ्गाहा-४ का वडाअध्यक्ष गणेशप्रसाद महतोको भनाइ छ ।

२०७९ चैत्र २४, शुक्रबार २०:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय