महोत्तरी : महोत्तरी र धनुषाका छ स्थानीयतहले विपद् तथा जलवायु जोखिम न्युनिकरण एबं व्यवस्थापनका कार्यमा आपसी सहकार्यको प्रतिबद्धता जनाएका छन् । महोत्तरीका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका तथा धनुषाका मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाले आज महोत्तरीको औरहीमा संयुक्त संयन्त्रमा आबद्ध भई नदीसँग जोडिएर आउने विपद् तथा जलवायु जोखिम न्युनिकरणका लागि साझा प्रयत्नको प्रतिबद्धता जनाएका हुन् ।

महोत्तरीका बर्दिबास, औरही र गौशाला एकअर्कासँग जोडिएका मरहा नदी तटीय स्थानीयतह हुन् । त्यसैगरी बर्दिबास, भङ्गाहा र धनुषाको मिथिला नगरपालिका एकअर्कोसँग जोडिएका रातु नदी तटीय छन् । यस्तै औरही र भङ्गाहाका केही बस्ती अङ्कुशी नदी तटीय र भङ्गाहा, मिथिला र बटेश्वर औरही तथा बडहरी नदी तटीय रहेका छन् । चुरे पर्वत श्रेणिबाट निस्कने मरहा, रातु, औरही , बडहरी र पहिलेको रातु भँगालाबाट निस्केको अङ्कुशी नदी व्यवस्थापनका विषय एकअर्को स्थानीयतहसँग अन्तर्सम्बन्धित रहेका हुँदा यी नदीसँग जोडिएर आउने विपद्मा आपसी सहकार्य बढाउने प्रतिबद्धता गरिएको औरही नगरपालिकाका प्रमुख प्रदीपकुमार खड्काले बताउनुभयो ।

“हाम्रा नदीसँग जोडिएका साझा समस्या छन् , यिनको व्यवस्थापनमा संयुक्त पहलकदमीले हाम्रा स्रोतसाधनको अधिकतम परिचालन हुनसक्छ”नगरप्रमुख खड्काले भन्नुभयो, “यो सहकार्यले नदी प्रणाली व्यवस्थापनमा दुरगामी सकारात्मक परिणाम प्राप्त हुन सक्छन् ।”

नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा कृषि शाखाका प्रमुखसहितको सहभागितामा गठित संयन्त्रले यी नदी प्रणालीसँग जोडिएका अन्य स्थानीयतहलाई पनि सहकार्यको अपिल गरेको छ । “कुनै एक स्थानीयतहले नदी प्रणाली व्यवस्थापनसँग जोडिएका ठूला योजना धान्न सक्दैन, तर स्थानीयतहहरुको बीच हुने सहकार्यले यो सहज हुन्छ” मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीले भन्नुभयो । नदी प्रणाली व्यवस्थापनका ठूला योजनामा स्थानीयतहको संयुक्त पहलकदमीलाई मधेश प्रदेश सरकारको पनि साथ रहने प्रतिबद्धता पाइएको उपप्रमुख बुढाथोकीले बताउनुभयो ।

यी स्थानीयतहको संयुक्त पहलकदमीमा युरोपियन युनियन, अष्ट्रियन विकास नियोग, आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्चसहितका राष्ट्रिय/अन्तराष्ट्रिय सङ्घ संस्थाको पनि साथ छ ।

“हामी स्थानीयतहहरुकै समन्वयमा नदी तटीय बस्तीमा नदीले ल्याउने विपद् र जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्न संयुक्त पहलकदमीमै छौं, अहिले छ स्थानीयतहको साझा प्रतिबद्धताले यो प्रयत्नमा अझ बल थपेको छ” सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले भन्नुभयो, “हामी साझा अवधारणाको जगमा समन्वय तथा सहकार्य, जलवायु जोखिम व्यवस्थापन, विपद् व्यवस्थापन, अध्ययन अनुसन्धान, क्षमता विकास, मानवीय सहकार्य र उत्थानशील तथा दिगो विकासको प्रयत्नलाई अघि बढाउँछौ ।”

छिमेकका दुई जिल्लाका छ स्थानीयतहले व्यक्त गरेका प्रतिबद्धतामा दुबै जिल्लाका अन्य तिनै नदी तटीय स्थानीयतहको चासो बढेको छ । “चुरेबाट निस्कने नदी प्रणालीको व्यवस्थापन हाम्रा साझा सवाल हुन् , यिनको समाधानमा हुने साझा प्रयत्नमा हाम्रो पनि भागिदारी जोड्न तयार छौं” मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले प्रतिकृया दिनुभएको छ ।

नदी प्रणाली व्यवस्थापनमा स्थानीयतह, राष्ट्रिय/अन्तर्राष्ट्रिय सङ्घ संस्था र प्रदेश सरकारको सकारात्मक धारणाले तटीय क्षेत्रका बसोबासीमा नयाँ भरोसा जगाएको छ । सामुहिक सहकार्यको प्रतिबद्धताले सर्वसाधारणमा पनि काममा लाग्ने तत्परता बढाएको बर्दिबास-९ को रातु तटीय बस्ती पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृतकुमार महतोको भनाइ छ ।

२०८० जेष्ठ २८, आईतवार २०:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय