काठमाडौँ : कालीमाटी भित्रिने तरकारीले उपत्यकाको ६० देखि ७० प्रतिशत माग धान्छ । बाँकी बल्खु, बालाजु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकी लगायतका बजारले पूर्ति गर्छन् । प्याज र आलुको माग भने झन्डै ८० प्रतिशत कालीमाटी बजारले नै पूर्ति गर्छ । ११ दिनयता भने कालीमाटी तरकारी बजारमा भारतीय प्याज र आलु भित्रिएको छैन ।

सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि केही व्यापारीले आलु–प्याज ल्याएका छैनन् । त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका छन् । आयातमै निर्भर भएको प्याजको मूल्य यतिबेला मनोमानी छ । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ । यसअघि यी तरकारी तथा फलफूलमा भ्याट लाग्दैन थियो, अब १३ प्रतिशत भ्याट लाग्छ ।

‘भारतबाट केही मात्रामा आएको हुन सक्छ, तर २१ गतेयता कालीमाटीमा भारतीय आलु–प्याज भित्रिएको छैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकबाट भित्रिए पनि नगण्य छ । एक/दुई टनले माग धान्न सक्दैन ।’ समितिका अनुसार भारतबाट दैनिक औसत ८० देखि ९० टन प्याज भित्रिन्छ ।

भारतबाट आयात नभएपछि समितिभित्र कारोबार हुन छाडेको श्रेष्ठले बताए । भारतबाट दैनिक डेढ सय टनसम्म आयात हुने आलुको आयात पनि रोकिएको छ । ‘सिजन भएकाले स्वदेशी आलु ७०/८० टन भित्रिएको छ, त्यसपछि फेरि भारतकै भर हुन्छ,’ श्रेष्ठले भने, ‘भ्याट लागेपछि व्यवसायीहरूले मगाएकै छैनन्, त्यसको असर स्वतः खुद्रा बजारमा देखिएको हो ।’

श्रेष्ठको भनाइलाई समितिको आयात तथ्यांकले पनि पुष्टि गर्छ । तथ्यांकअनुसार जेठ १ गते भारतबाट ८४ हजार किलो प्याज कालीमाटी भित्रिएको थियो । आयात परिमाण घटबढ हुँदै जेठ १० मा २ लाख १३ हजार किलो र जेठ २० मा ७३ हजार किलो भित्रिएको थियो । त्यसयता आयात ठप्प छ । स्रोतका अनुसार अर्थ मन्त्रालय र भन्सार विभागसँग पहुँच राख्ने व्यापारीहरूले भ्याट लाग्ने सूचनाका आधारमा प्याज लुकाएका थिए ।

‘ठूला व्यापारीले गोदामभन्दा बाहिर लुकाए । बजेटलगत्तै बजारमा मूल्य अस्वाभाविक रूपमा बढाए,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘मूल्य बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न गोदाममा अनुगमन पनि गर्‍यो तर गोदाम खाली देखियो । त्यही प्याज अहिले बढी मूल्यमा बिक्री गरेको अनुमान छ ।’

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म १० करोड १० लाख ३५ हजार रुपैयाँको १२ लाख ५६ हजार ४ सय ८३ किलो प्याज आयात भएको छ । भारतबाट मात्रै ६ करोड ४९ लाख ६८ हजार रुपैयाँको ११ लाख ५९ हजार ४ सय ८३ किलो र चीनबाट ३ करोड ६० लाख ६८ हजारको ९७ हजार किलो भित्रिएको हो । तर, बजेट भाषणबाट भ्याट लागेपछि आयात हुन छाडेको छ ।

‘चोरी तस्करीबाट ८/१० बोरा आए पनि पर्याप्त आएको देखिँदैन,’ वाणिज्य विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले भने, ‘आपूर्ति नहुँदा बजारमा केही महँगो देखिएको छ । महँगी नियन्त्रण गर्न विभागले अनुगमन पनि गरेको छ ।’

उनका अनुसार महँगी बढेपछि करिब १३ वटा ठूला गोदाममा विभागले छापा मारेको थियो । त्यस क्रममा भ्याट बिल काटी प्रतिकिलो ३५, ४२ देखि ६० रुपैयाँसम्म मूल्य लिएको फेला परेको छ । ‘चार जना व्यापारीमाथि थप छानबिन गर्दै छौं, बिलबीजक हेर्दै छौं,’ महानिर्देशक ठाकुरले भने, ‘अस्वाभाविक देखिए कालोबजारीअनुसार कारबाही हुन्छ ।’ आयातमै भर पर्नुपर्ने भएकाले पनि समस्या भएको विभागको ठहर छ । ठाकुरका अनुसार माग धान्न करिब ९५ प्रतिशत आयात गर्नैपर्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा औसत २० हजार २ सय ५१ हेक्टरमा प्याज खेती हुन्छ । जसबाट करिब ३ लाख टन उत्पादन हुन्छ । बाँकी आयात नगरी धर छैन । कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन भए पनि स्वदेशी उत्पादन भण्डारण गरेर राख्ने सुविधा छैन । भएको उत्पादन स्थानीय तहमै खपत हुन्छ । प्याज उत्पादन बढाउन सरकारले कार्यक्रम नल्याएको होइन ।

२०६४ देखि २०६९ सम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रूपन्देही जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन भए पनि प्रतिफल आएन । प्याज उत्पादन बढाउन ५० करोडभन्दा बढी खर्च भएको थियो । तर, उत्पादन सामग्री खरिद, वितरणलगायतमा अनियमितता भएकै कारण परियोजना असफल भयो । त्यसको फाइदा बिचौलियाले उठाउन थालेका हुन् ।

कालीमाटीका होलसेल व्यापारी दधिराज उप्रेतीले भ्याटकै कारण प्याज आयात नभएको बताए । ‘सबै व्यवसायीहरू भ्याटमा दर्ता थिएनन्, अब भ्याटमा दर्ता नभई आलु–प्याज आयात गर्न नमिल्ने भयो । स्वदेशी प्याज छिटपुट रूपमा बिक्री भए पनि विदेशी एक सातायता बिक्री गरेका छैनौं,’ उनले भने, ‘मुख्य व्यवसायीले प्याज आयात गरेका छैनन् । राज्यको नीतिले उपभोक्ता महँगीमा परे ।’

उनका अनुसार कालीमाटीमा रहेका ६ सयभन्दा बढी स्टल प्यानमा दर्ता भएर चलिरहेका छन् । तीमध्ये ९० प्रतिशतभन्दा बढी स्टल भ्याटमा दर्ता हुनुपर्छ । ‘सरकारले ५० लाखभन्दा कम कारोबार गर्नेहरू भ्याट दर्तामा जान नपर्ने भने पनि कालीमाटी बजारका सबैले ५० लाखभन्दा बढी नै कारोबार गर्छन्,’ उनले भने, ‘अब भ्याटमा दर्ता गरी एक्जिम कोड लिएपछि मात्रै आयात गर्न पाउँछौं ।’

अर्का होलसेल व्यापारी प्रकाश गजुरेलले भ्याट प्रणालीले केही प्राविधिक समस्या उत्पन्न भएको बताए । ‘आलु–प्याज चाँडै बिग्रन्छन्, भ्याटमा खरिद गरेपछि सोहीअनुसार बिक्री गर्नुपर्छ,’ उनले भने, ‘हामीलाई गरिखाने वातावरण बनाइदिनुपर्‍यो । भ्याटमा कारोबार गर्न सक्दैनौं ।’

नेपाल कृषि उपज आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले भारतबाट प्याज आएको दाबी गर्दै व्यापारीले बेच्न डराएको बताए । ‘भैरहवा क्षेत्रमा प्याज छ, काठमाडौंका होलसेल व्यापारीले मगाएका छैनन्,’ उनले भने, ‘प्याज र आलुमा भ्याट लागेकै कारण अवैध धन्दा सुरु भइरहेको छ ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना हचुवाको भरमा भ्याटमा जाँदा बजारमा महँगी बढेको बताउँछन् । ‘४० रुपैयाँको प्याज बढेर सय पुगेको छ । यसले उपभोक्ताको भान्छा महँगिएको छ,’ उनले भने, ‘पर्याप्त अध्ययन गरेर मात्रै भ्याट लगाउनुपर्नेमा गलत काम भयो ।

२०८० असार १, शुक्रबार ०६:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय