
बर्दिबास : नेकपा एमालेका सचिब तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) दक्षिण एशीयामै दक्ष जनशक्ति उत्पादन गर्ने उत्कृष्ट कलेज रहेको बताउनु भएको छ । आज मङ्गलबार महोत्तरीको बर्दिबास-१४ स्थित प्रतिष्ठान शाखाको अवलोकनपछि आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नाथमको उत्पादनको जनशक्ति अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वासिलो रहेको दाबी गर्नुभयो ।
“प्राविधिक शिक्षातर्फ नाथमले दिएको योगदान गर्व गर्न लायक छ, विश्व बजारमा यसका उत्पादित जनशक्तिले सम्बद्ध काममा राम्रो दख्खल देखाएका छन्” यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहीसक्नु भएका भट्टराईले भन्नुभयो, “मुलुकभित्रै पर्यटन सम्भावना बढाउँदै लान नाथमका शाखा सातवटै प्रदेशमा पुर्याउन आवश्यक छ ।” यसको सैद्धान्तिक तथा अभ्यास कक्षा विस्तार गर्नसके विश्वबजारमा श्रमिकका रुपमा जाने नेपालीको आर्जन निकै बढ्नसक्ने भट्टराईको भनाइ छ । अवलोकनका क्रममा एमालेका मधेश प्रदेश इञ्चार्जसमेत रहनु भएका नेता भट्टराईले प्रयोगात्मक अभ्यासकक्षमा प्रशिक्षार्थीसँग सिकेका ज्ञान र सीपबारे जिज्ञासा पनि राख्नुभयो ।
नाथमले एक वर्षअघि बर्दिबास-१४ मा स्थापना गरेको शाखाले ‘व्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ विषयको अध्यापन र अभ्यास थालेको हो । अन्तराष्ट्रिय पाठ्यक्रम पात्रो (तालिका)अनुसार गत अक्टुबरदेखि सुरु भएको कक्षाका पहिलो सत्रका १७ जना प्रशिक्षार्थी अहिले दोस्रो सेमेष्टरमा प्रवेश गरेका छन् । आठ सिमेष्टरको यो अध्ययन र अभ्यासमा यसवर्षका लागि दुईवटा सेक्सनमा सैद्धान्तिक र अभ्यासकक्षा सञ्चालन गरिनेगरी प्रथम सेमेष्टरमा ८८ जना नयाँ भर्ना लिनेगरी आवेदन आह्वान भएको नाथम बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिनुभयो ।
नाथम शाखा बर्दिबासको स्थापनाले बर्दिबास नगरक्षेत्रलाई शैक्षिक केन्द्र (हव) बनाउने सङ्कल्पलाई सहयोग गरेको यसभेगका जनप्रतिनिधिको भनाइ छ । बर्दिबास-६ मा रामपुर कृषि विश्वविद्यालयको सम्बन्धनमा प्राकृतिक स्रोत साधन कलेज सञ्चालनमा छ । त्यसैगरी बर्दिबास-११ खयरमारामा बिभिन्न आठ विधाको अध्यापन र अभ्यास गराइने निर्मल लामा बहुप्राविधिक शिक्षालय छ । नगरभित्रका कतिपय माध्यमिक विद्यालयले नेपाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सम्बन्धनमा प्राविधिक धारको अध्यापन र र अभ्यास गराइ रहेका छन् । बर्दिबास-१४ मा त्रिविवि सम्बन्धनको स्नातकोत्तर तहसम्मको अध्यापन गराइरहेको सामुदायिक कलेज छ । शिक्षाशास्त्र र वाणिज्य सङ्कायको अध्यापन हुने जनता बहुमुखि क्याम्पस बर्दिबास-१४ मा एक हजारमाथि विद्यार्थी छन् । बर्दिबासमै सरकारको ‘एक प्रदेश-एक मेडिकल कलेज’ को अवधारणाअनुसार प्रस्तावित बर्दिबास मेडिकल कलेजले पूर्वाधार कार्यालयले काम गरीरहेको छ । बर्दिबासलाई प्रदेशकै शैक्षिक केन्द्र बनाइने हाम्रो सामुहिक सङ्कल्पमा ‘नाथम’ पनि जोडिएको मधेश प्रदेशसभामा प्रमुख विपक्षीदलका नेता सरोज यादवले बताउनुभयो ।
विश्व बजारमा सहजै प्रवेश पाउने होटल म्यानेजमेन्टमा स्नातक तहको दक्ष जनशक्ति यहाँ तयार हुँदैछन् । नाथमले प्राविधिक धारको शैक्षिक गन्तव्यको महत्वपूणर् ठाउँ ओगटेको स्थानीय अभिभावकको धारणा छ । पछिल्लो कालमा बढ्दो शैक्षिक बेरोजगारी सीपसहितको व्यावसायिक शिक्षाले घटाउने स्थानीय अभिभावक बर्दिबास-१४ का शङ्कर महतो बताउनुहुन्छ ।
नाथमले सैद्धान्तिक कक्षा र अभ्यास गराउन थालेको छ महिनाभित्रै पहिलो सत्र पुरा गरेका प्रशिक्षार्थीले अब दोस्रो सेमेष्टरको कक्षा थालेका छन् । प्रथम सिमेष्टरमै प्रशिक्षार्थी बिभिन्न मुलुकमा रोजाइका खाद्य परिकार बनाउन / पकाउन पोख्त भएका प्रशिक्षक टासी शेर्पा बताउनुहुन्छ । अहिले नाथम शाखा परिसर अनुगमन गर्न पुग्ने अतिथिलाई प्रशिक्षार्थी आफैंले तयार गरेको परिकार चखाउँछन् । “ल, खिर खाउँ सर” अतिथि सत्कार गर्दै प्रशिक्षार्थी वितिशा सापकोटा भन्नुहुन्छ, “कस्तो लाग्यो , भन्नुहोला ।” सापकोटासहित अभ्यासकक्षमा भेटिएका आस्था भट्टराई, दिव्यानी जोशी, आरती भुजेल र सदीक्षा घिमिरेले पाक शिक्षाले आपूmहरुलाई धेरै परिकार बनाउन सिकाएको बताउनुभयो ।
“अब म मासुको कवाफसहितका बिभिन्न परिकार बनाउन सिपालु भइसकेकी छु” प्रथम सिमेष्टर सकेर दोस्रो सेमेष्टरको अध्ययन र अभ्यास थालेकी दिव्यानीले भन्नुभयो । “हामीले प्रतिष्ठानमा भर्ना भएर अध्ययन र अभ्यास थालेको एक सेमेष्टर पुरा भयो, नेपाली र अन्य बिभिन्न राष्ट्रमा प्रचलनका रहेका खाद्य परिकार बनाउन/पकाउन जान्ने भएका छौं” सबै साथीको प्रतिनिधित्व गर्दै आरती भुजेल भन्नुहुन्छ । प्रथम सिमेष्टरमै नेपाली प्रचलनका थकाली, नेवारी र परम्परागत अन्य भान्साका परिकारसहित बिभिन्न मुलुकका कहलिएका परिकार बनाउने/पकाउने सीप सिकिएको प्रशिक्षार्थी बताउँछन् । पहिलो सत्रका प्रशिक्षार्थीले गत चैतको अन्त्यसँगै दोस्रो सेमेष्टर थालेका छन् ।
प्रशिक्षार्थीलाई काठमाण्डौ विश्वविद्यालयको पाठ्यक्रम र अभ्यास तालिकामा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइने प्रतिष्ठान बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिक बताउनुहुन्छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रवि भवन कलङ्की काठमाण्डौको शाखाका रुपमा सञ्चालित बर्दिबासस्थित प्रतिष्ठानमा ४० जनाका लागि भर्ना आह्वान गरिएपनि पहिलो वर्ष १७ जनामात्र प्रशिक्षार्थी भएका मल्लिकले जानकारी दिनुभयो ।
“कक्षा सञ्चालनको पहिलो वर्ष थियो, पर्याप्त आवेदन आउन सकेनन् , अब यसपालिको सत्रमा मागअनुसारका प्रशिक्षार्थी पुरा हुनेछन्” मल्लिक भन्नुहुन्छ, “अहिलेका प्रशिक्षार्थीले प्रथम सिमेष्टरमा राम्रो अभ्यास र सैद्धान्तिक ज्ञान पाएका छन् ।” आपूm नाथममा २० वर्षदेखि प्रशिक्षक रहेको अनुभव साट्दै मल्लिकले बर्दिबास शाखाका पहिलो सत्रका प्रशिक्षार्थी सिकाइका दृष्टिले अब्बल रहेका दाबी गर्नुभयो ।
अन्तराष्ट्रिय क्यालेण्डर (तालिका , पात्रो) अनुसार अङ्ग्रेजी महिनाको अक्टुवरदेखि नयाँ कक्षा सुरु गरिने यो विषय चार वर्षभित्रका आठ सिमेष्टरमा पुरा हुन्छ । आठ सिमेष्टरमध्ये छ वटा प्रतिष्ठानकै सैद्धान्तिक र अभ्यासबाट र पछिल्ला दुई सिमेष्टर बिभिन्न मुलुकका प्रसिद्ध होटलमा अभ्यास गराएर कोर्स पुरा गराइने प्रतिष्ठानले जनाएको छ ।
होटल व्यवस्थापनको विषयका दक्ष जनशक्ति अहिले अन्तराष्ट्रिय क्षेत्रमा निकै माग हुने गरेको हुँदा यो कोर्स पुरा गर्ने संसारका कुनै पनि मुलुकमा काम गर्नसक्ने र आकर्षक पारिश्रमिक पाउनसक्ने जनशक्ति तयार हुने प्रतिष्ठान (नाथम) शाखा प्रमुख मल्लिक बताउनुहुन्छ । “हामी अन्तराष्ट्रिय क्षेत्रमा यस विषयका लागि पोख्त हुने दक्ष जनशक्ति तयार गर्दैछौं” मल्लिक भन्नुहुन्छ, “यहाँको पहिलो व्याच (समूह) का प्रशिक्षार्थी मेहनती र जिज्ञासु छन् , यिनले ठिक समयमा प्रथम सिमेष्टर पुरा गरेका छन् ।” अहिलेको पहिलो समूहले कोर्स पुरा गरेर यो जनशक्ति अन्तराष्ट्रिय बजारमा जमेपछि यस भेगमा होटल म्यानेजमेन्ट विषयप्रति थप आकर्षण बढ्ने मल्लिकको विश्वास छ । दोस्रो सिमेष्टरको प्रारम्भसँगै बर्दिबास ओरपर ‘होमस्टे’ सञ्चालनको पूर्वाधार विकास गरिने नाथम बर्दिबास शाखाले जनाएको छ ।
कक्षा-१२ उतीणर् गरेपछि ‘व्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ मा भर्नाका लागि इच्छुक प्रशिक्षार्थीले आवेदन दिन सक्छन् । यो आवेदन प्रत्येक वर्षको अङ्ग्रेजी महिना अगष्टमा दिने, सेप्टेम्बरभित्र नाम लेखाउने र अक्टोबरदेखि कक्षा सुरु हुने नाथमको क्यालेण्डर (तालिका) छ ।
मधेश प्रदेशको करिब मध्यभेगमा अवस्थित बर्दिबासमा प्रतिष्ठानको शाखा सञ्चालनमा आउनुले यस भेगका वैदेशिक रोजगारीमा जान इच्छुक शिक्षित युवाका लागि महत्वपूणर् अवसर बनेको यहाँका शिक्षाविद्हरुको टिप्पणी छ । संसारका सबैजसो मुलुकमा तत्काल बिक्ने यो ज्ञान र सीपबारे पछिल्लो पुस्तामा चासो बढेको बर्दिबास जनता बहुमुखि क्याम्पसका प्रमुख तोपबहादुर ठकुरी बताउनुहुन्छ । सीपमूलक व्यावसायिक शिक्षाको प्रबद्र्धन र खासमा बर्दिबास नगरलाई शैक्षिक केन्द्र बनाउन पनि यो शाखाले योगदान दिएको ठकुरीको भनाइ छ ।
मधेशमा वैदेशिक रोगारीमा जाने ठूलो सङ्ख्या भएपनि काममा दक्ष नहुँदा थोरै पारिश्रमिकमा कठोर मेहनत गर्नु पर्ने वर्तमान अवस्था अन्त्य गर्न प्रतिष्ठान बर्दिबास शाखाको ‘व्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ कक्षा प्रभावकारी हुने यस भेगका शिक्षा विज्ञले अपेक्षा गरेका छन् ।