मटिहानी (महोत्तरी) : साउन दोस्रो साता बित्नै लाग्दासम्म पानी नपरेर मुख्य बाली धान लगाउन नपाएपछि महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । आज बिहीबार सम्पन्न नगर कार्यपालिकाको पूणर् बैठकले नगरक्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत कार्यक्रम दिन माग गरेको हो ।

“असार १५ अघि सकिनु पर्ने धान रोपाइँ यसपालि साउन मध्य हुनलाग्दासम्म अघि बढ्न सकेन”नगर प्रमुख हरिप्रसाद मण्डलले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, “अब ठूलो अनिकालको लक्षण देखिएको बुढापाका भन्दैछन्, त्यसैले हामीले सरकारको ध्यानाकर्षण गराएका छौं ।”

नगर कार्यपालिकाले सुख्खाक्षेत्र घोषणासँगै अब वैकल्पिक खेतीतर्फ किसानलाई अग्रसर गराउन, भोकमरी लाग्न नदिन पूर्वसजगता अप्नाउन, राहत कार्यक्रम अघि बढाउन , किसानलाई धान लगाउन नपाएपछि गरिने अन्य खेतीका लागि बीउ, मल, आवश्यक कृषि ज्यावल र सुलभ ऋणको प्रबन्ध गर्न माग गरेको छ ।

मटिहानी नगरक्षेत्रमा एक हजार ६८६ हेक्टर जग्गा खेतीपाती योग्य रहेको मध्ये एक हजार २०० हेक्टरमा धान खेती गरिन्थ्यो । स्थायी सिंचाईको प्रबन्ध नहुँदा आकासे पानीको भरको खेती यसपालि पानी नपर्दा धान बाली लगाउन नपाइएको नगरप्रमुख मण्डलको भनाइ छ ।

जिल्लाका सबैतिर यस्तै समस्या रहेपनि औपचारिक रुपमै सरकारसँग सुख्खाक्षेत्र घोषणा माग गर्ने मटिहानी पहिलो स्थानीयतह भएको छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह छन् ।

२०८० श्रावण ११, बिहीबार १९:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय