बर्दिबास : महोत्तरीको उत्तरवर्ती बर्दिबास-१३ बिजलपुरामा प्रसुतीकक्ष तथा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ । बिजलपुरा स्वास्थ्यचौकीको प्रसुतीकक्ष (वर्थिङ्ग सेन्टर) तथा जनस्वास्थ्य प्रयोगशालाको शनिबार एक समारोहबीच बर्दिबास नगर प्रमुख प्रल्हादकुमार क्षत्रीले सेवा शुभारम्भको घोषणा गर्नुभएको हो ।

आफ्नो बस्तीमा प्रसुतीकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि बर्दिबास-१२, १३ बिजलपुराका बासिन्दा उत्साही भएका छन् । अब स्वास्थ्यसम्बन्धी बिभिन्न जाँचको प्रयोगशाला सञ्चालनमा आएपछि सानोतिनो उपचारका लागि टाढा अस्पताल जानपर्ने झण्झट र खर्चिलो उपचारबाट राहत पाइने बर्दिबास-१२ की गीतादेवी महतोले बताउनुभयो । यहीं नै प्रसुतीकक्ष सञ्चालनमा आएपछि गरिबीले टाढा जान नसकेर ज्यान जोखिममा पारेर घरमै बच्चा जन्माउने महिलाका लागि ठूलो उपहार भएको महतोको भनाइ छ । बिजलपुरा प्रसुतीकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउने बर्दिबास नगरक्षेत्रको दोस्रो सरकारी स्वास्थ्य संस्था हो । यसअघिदेखि नै बर्दिबास अस्पतालले यी सेवा दिदै आएको छ ।

प्रसुतीकक्ष र स्वास्थ्य प्रयोगशाला उद्घाटन (सञ्चालनको घोषणा) गर्नुभएका नगरप्रमुख क्षत्रीले बिजलपुरा स्वास्थ्यचौकीलाई एक महिनाभित्र एमबुलेन्स दिइने घोषणा गर्नुभयो । प्रसुतीकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउनसँगै एक महिनाभित्रै एमबुलेन्स पाइएपछि अब अकालमा ज्यान जाने छैनभन्ने विश्वास जागेको बिजलपुराबासीको भनाइ छ ।

बिजलपुरा स्वास्थ्यचौकीमा थपिएको सेवाले गौशाला, भङ्गाहा र औरही नगरपालिकाका १० भन्दा बढी बस्ती र बर्दिबासकै वडानम्बर-८ र ९ का सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ । भङ्गाहाका ४, ६ र ७ औरहीका १ र २ एबं गौशालाका १ र ३ वडाहरु बिजलपुरासँग जोडिएका बस्ती हुन् । त्यसैगरी बर्दिबासका ८ र ९ पनि बिजलपुरासँग जोडिएका छन् ।

बिजलपुरा स्वास्थ्यचौकीको सेवालाई भरपर्दो र सेवामुखी बनाउन आवश्यक जनशक्ति र स्वास्थ्य संसाधन थपिदै लगिने नगरप्रमुख क्षत्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा महोत्तरी-१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापा, छिमेकको गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतो, महिला नेतृ रामकुमारी महतोसहितका सर्वसाधारणको उपस्थिति थियो । यसैगरी भङ्गाहा नगरक्षत्रेका सर्वसाधारणले पनि अब नजिकै गुणस्तरीय स्वास्थ्य जाँच र उपचार सेवा पाइने आश सँगालेका छन् ।

बिजलपुराका अगुवा समाजसेवी स्व. कृष्णप्रसाद पौडेलले करिब एक करोड ५० लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गा स्वास्थ्यचौकी निर्माणका लागि एकदशक पहिले नै निःशुल्क प्रदान गर्नुभएको थियो । सोही जगगामा निर्मित आधुनिक भवनमा स्वास्थ्यचौकी सञ्चालन छ ।

२०८० श्रावण २१, आईतवार ०७:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय