जनकपुरधाम : नेकपा (एमाले) मधेश प्रदेश सङ्गठन कमिटी आफ्नो प्रथम प्रदेश अधिवेशनको अन्तिम तयारीमा जुटेको छ । आउने बुधबार र बिहीबार (असोज २४, २५) जनकपुरधाममा आयोजना हुने प्रथम अधिवेशनको अन्तिम तयारीमा जुटिएको सो दलको मधेश प्रदेश सङ्गठन कमिटीले जनाएको हो ।

“अधिवेसनका लागि आधारभूत पूर्वतयारी सम्पन्न भएका छन् , अब हाम्रो ध्यान जनपरिचालनको सुव्यवस्थापन र अधिवेशन सञ्चालन कुशलतापूर्वक सम्पन्न गर्नमा केन्द्रित छ” अधिवेसनका लागि जनपरिचालन समितिका संयोजक रहनुभएका दलका प्रदेश उपाध्यक्ष रेवती पन्तले भन्नुभयो ।

अधिवेसनसँग जोडिएको मुख्यपक्ष प्रदेशका आठवटै जिल्ला , पार्टीका प्रदेश विभाग र जनसङ्गठन संयन्त्रबाट प्रतिनिधि छानिएका छन् । अहिले निर्वाचित भएर आएका प्रतिनिधिको नाम दर्ता भइरहेको पन्तले जानकारी दिनुभयो । अधिवेसनसँग जोडिएका जनपरिचालन, उद्घाटनसत्र , बन्दसत्र सञ्चालन स्थल, प्रतिनिधि आबास तथा खानपान , अतिथि सत्कार , नगर सरसफाईसहितका व्यवस्थापन समिति आआफ्नो काममा जुटेका पन्तको भनाइ छ ।

“अधिवेसन तयारीका सबै काम पूर्वयोजनाअनुसार अघि बढेका छन् , हामी अधिवेसन शानदार बनाउँछौं” पन्तले भन्नुभयो । प्रथम प्रदेश अधिवेसनका लागि यसपालि भूगोलतर्फ स्थानीयतह (गाउँपालिका, नगरपालिका) लाई प्रतिनिधि चयनको इकाई तोकिएको थियो । यसअनुसार प्रदेशका १३६ वटै स्थानीयतहबाट लोकतान्त्रिक विधिबाट प्रतिनिधि छानिएका पन्तको भनाइ छ ।

भूगोल, विभाग र जनसङ्गठन संयन्त्रबाट गरी एक हजार २५ प्रतिनिधि अधिवेसनका लागि छानिएका जनाइएको छ । एमालेको मधेश प्रदेशको प्रथम अधिवेसनको उद्घाटन जनकपुरधाममा आउने बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम छ । यस अधिवेसनबाट अध्यक्ष, उपाध्यक्ष, सचिब एक/एक र दुई उपसचिबसहितका पदाधिकारीसमेत २३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने सो दलले जनाएको छ ।

२०८० आश्विन २०, शनिबार १०:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय