
जनकपुरधाम :
आजु जनकपुर मंगल,
चारु दिस मंगल हे !
जानकी के होइ छे वियाह
जनकपुर मंगल हे !!
विवाहपूर्व एतिहासिक रंगभूमि (बारहबिग्घा) मैदानमा राम-सीताबीच स्वयम्बर समारोह चलिरहँदा हेलिकप्टरबाट पुष्पवर्षा गराइएको थियो । त्रेता युगमा रामसीताको स्वयम्बर हुँदा देवी देउताले स्वर्गबाट पुष्पवृष्टि गरेका थिए । सोही सम्झनालाई साकार रुप दिन स्वयम्बर कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै आएको छ । विगत पाँच सय वर्ष पहिले गाँसिएको राम-सीताबीचको सम्बन्ध अहिलेका पुस्तका लागि पनि आदर्श बनेको छ ।
विवाह पञ्चमीमा देवी देउताको उपस्थिति हुने विश्वासका साथ उत्सवमा उपस्थित भएकाहरु जन्तीको आगमन देखि बिहे नटुंगिएसम्म नै सामेल हुन्छन् । महोत्सवमा मिथिला संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयम्बर आदि गरिने चलन रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताएका छन् ।
विवाहपञ्चमी महोत्सव फुलबारी प्रसंगबाट सुरु भई, स्वयमवर सम्मको आयोजनापछि देवी बिवाह महोत्सवका रुपमा रुपान्तरण हुंँदै आएको छ । विवाह महोत्सवका अवसरमा जानकी मन्दिर, राम मन्दिर ,अग्नीकुण्ड, बिहारकुण्ड लगायतका दर्जनौ मठ मन्दिरहरुबाट निस्कने डोला शोभायात्रामा देशका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय गाउँबाट आएका श्रद्धालूहरु पनि सहभागी भएका छन् । अयोध्या नरेश दशरथ पुत्र भगवान राम र मिथिलाका राजा जनक पुत्रि जानकीको स्वयमवरको अबसरमा जनकपुरको ऐतिहासिक रगंभुमि बाह्रबिघा मैदानमा प्रत्येक बर्ष लाखौं श्रद्धालुहरु सहभागि भएका छन् ।
महोत्सवको मुख्य बिधिमा विहेको जन्ती बाजागाजा र स्वणर्िम झाँकी सहित दुलहा भगवान रामको प्रतिमालाई विशेष सिंहासनमा राखी त्रेताकालिन रंगभूमि मैदानमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट मिथिला राजा जनकको भूमिकामा जानकी मन्दिरको नेतृत्वमा दुल्ही जानकीको प्रतिमालाई विशेष सु-सज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पुर्याइन्छ ।
त्यसपछि त्यहाँ बिधि प्रारम्भ हुन्छन् । र महिलाहरु सुरमा लय हाली गाीत गाउँछन् ।
‘स्वागत अछि हे देव अहाँके, जनक जानकीक गाममे
हुलसल विहुँसथि सीता माता, आइ मिथिलाधाममे
हे पाहुन हम धन्य भेलहुँ अछि, अहाँके मधु मुस्कानमे
भाव विभोर अछि धरा सीयाके, अहाँसभक सम्मानमे
अहिंक स्वागत गान लीखल अछि, आजुक सुरुज चानमे
भक्ति हमर अछि दुभि-धानमे, हृदय पान मखानमे…’
यसरी दुलहा रामको स्वणर्िम डोला र दुलही जानकीको विशेष सु-सज्जित डोला क्रमशः पाँच पटक परिक्रमा एवं आरती पूजनपछि स्वयम्वर सम्पन्न हुन्छ । स्वयम्बर समारोह सकेर दुलहा-दुलहीको डोला एवं झांकी सहितको हजारौंको संख्यामा रहेको जन्तीले नगर परिक्रमा गरी वैदिक विवाहस्थल जानकी मन्दिर पुगेर विवाह संस्कार कार्यक्रम प्रारम्भ हुन्छ ।
जानकी मन्दिरमा पौराणिक विधिपूर्वक भगवान राम एवं जानकीको शुभ विवाह कार्यक्रम अहोरात्र चल्छ । जानक मन्दिरका सह-महन्थ रामरोशन दास वैष्णवले भने, ‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं’ उनका अनुसार पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन । अयोध्याबाट अनौपचारिक रुपमा आउनेलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे । ‘तर २०६१ सालदेखि नेपाल तथा भारत सरकारले संयुक्त प्रयासमा अयोध्याबाट जन्ती आउन थालेका हो । रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुर पुर्याइएको थियो । त्यसयता हरेक पाँच वर्षमा औपचारिक रुपमा जन्ती ल्याउने गरिएको छ ।
रामजानकी बिवाह पञ्चमी महोत्सवले मानव सभ्यताको परिचय दिएको छ । भारतको अयोध्या सन्त कन्हैया दासले भने, ‘नेपाल र भारतको सम्बन्ध भन्दा जनकपुर अयोध्याको सम्बध मजबुत छ, जसले सांस्कृतिक सम्बन्धलाई झल्काउँछ ।’ त्रेताकालमा भएको संस्कृतिलाई अहिले सम्म बचाएर राख्नु प्रमुख प्रतिफल हो ।
(धार्मिक तथा सांस्कृतिक पर्व सप्ताहव्यापी रामजानकी बिवाह पञ्चमी महोत्सवमा प्रतिकात्मक राम र सिताको स्वयम्बर कार्यक्रमको एक झलकहरु : )