ममता अर्याल, 

महोत्तरी, १ माघ : मधेशका बस्तीबस्तीमा तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्वको रौनक छ । आम सर्वसाधारण अभाव र गरिबी लुकाउने असफल प्रयत्नभित्र पर्व मनाउँदैछन् । यता प्रतिनिधिसभा र मधेश प्रदेशसभामा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा (एमाले) को आसन्न छैठौं जिल्ला अधिवेसनको चर्चाले राजनीति तापमान बढाउँदो छ । खासमा नीति, विचार र कार्यक्रम निरुपणका कुराले नभई कसले जिल्लाको नेतृत्व पाउने हो भन्ने कुराले चर्चा र कौतुहलता बढाएको हो ।

एमाले महोत्तरी पछिल्ला डेढ दशकयता तदर्थ समितिमै चल्दै आएको छ । पाँचौ जिल्ला अधिवेसनयता कैयन पटक छैठौं जिल्ला अधिवेसन आयोजना गरिने चर्चा चलेपनि डेढ दशकदेखि ती कुरा चर्चामा मात्र रहे । यसपटक यही माघ २२/२३ गते जिल्ला अधिवेसन गर्ने एमालेको महोत्तरी जिल्ला सङ्गठन कमिटीले निणर्य गरेको छ । यसअघि कैयन पटक अधिवेसनको मिति तोकिएपनि बिभिन्न बहानामा टार्दै आएको एमाले नेतृत्व यसपटक भने फरक नखाने प्रतिकृया दिदैछ ।

“हामी अधिवेसनको तयारीमा अघि बढ्यौं, यसपालि अब अधिवेसन टार्ने कुनै निहुँ बन्दैन” एमाले जिल्ला सङ्गठन कमिटीका अध्यक्ष कालीचन्द्र साह भन्नुहुन्छ, “अधिवेसनको मुख्य नारा र लोगो सार्वजनिक गरीसकेका छौं, अब जे काम हुँदैछन् , अधिवेसनका लागि हुन् ।” अध्यक्ष साहले अधिवेसनका लागि प्रतिनिधि चयनको आधार तय गरी यसका लागि जिल्लाका १३८ वडा र पार्टीका संयन्त्रहरुमा एकै दिन चुनावको तयारी गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष साहले भन्नुभएजस्तै एमाले जिल्लाका अगुवा नेताहरु अधिवेसनसँग जोडेर ठाउँठाउँमा भोट माग्दै हिडेको भेटिएपछि यसपालि चाहिँ जिल्ला अधिवेसन हुने नै जस्तो छाँट देखिएको सो दललाई नियाली रहेका बुद्धिजीवी बताउँछन् ।

आसन्न अधिवेसनमा नेतृत्वका लागि सघन दौडधूप सुरु भएको देखिदैछ । यो दौडधूप आधारभूत तहका कार्यकर्ताबीच नभई गुट सञ्चालन गर्दै आएका नेताहरुको जिहजुरीमा बढी देखिदो छ । जिल्ला अध्यक्षका आकांक्षीबारे सोझै आम टिप्पणी सुनिन्छ , ‘उहाँ सरोज गुटबाट ,अनि उहाँ रामदयाल गुटबाट ।’ अर्थात् एमाले अध्यक्ष भन्दा दुई नेताका गुटको खुल्लमखुल्ला प्रचार । महोत्तरीमा गुट नेताका रुपमा पार्टीका पोल्युटब्युरो सदस्य रामदयाल मण्डल र केन्द्रीय कमिटी सदस्य सरोज यादवको नाउँ आउने गर्छ ।

“यी जिल्लामा सरोज र रामदयाल गुट भन्छन् , विचरा यिनको पहुँच पनि त्यति नै होला , ती गुट नेताचाँहि बढीमा ‘महासेठ’ र ‘प्याकुरेल’ सम्म पुग्दाहुन्” एमाले महोत्तरीका गतिविधिलाई नजिकबाट नियाली रहेका एक वाम बुद्धिजीवी भन्नुहुन्छ, “केही फरक छैन , नीति, विचार, निष्ठा केही होइन, छैन, पार्टी कज्याउने र अवसर कुम्ल्याउने यतिमात्र हो ।”

दर्शनका दृष्टिले माक्र्सवाद, लेनिनवाद र कार्यक्रममा नेपाली मौलिकताको जनताको बहुदलीय जनवाद भनिएपनि अब एमालेभित्र यी ‘वाद’ र ‘कार्यक्रम’ कसैको चासोभित्रका कुरा पर्दैनन् । जिल्लाका यसो ठाउँ भेट्टाउ भन्नेहरु रामदयाल वा सरोजको द्वारसम्म, रामदयाल र सरोज चाँहि महासेठको प्यारो देखिन वा पत्यारिलो गनिन उहाँको निबाससम्म । यहाँका कार्यकर्ता र गुटनेताको गन्तव्य खुट्याउँदै अर्का एक बुद्धिजीवीले गर्नुभएको टिप्पणी हो यो । अहिले आवरणमा देखिएका दलमध्ये साङ्गठनिक अनुशासन निर्वाह गर्ने मानिएको एमाले अब नीति, विचार, निष्ठालाई तीलाञ्जली दिदै ‘चाकरी’ र ‘गुटबन्दी’ मा रुमल्लिएको यो दलभित्र लामो अनुभव सँगाल्नु भएका महोत्तरीकै हरिदेव साहको टिप्पणी छ ।

 

“पार्टीका कार्यकर्ताको मुल्याङ्कनको परिपाटी थियो, रवाफको भरमा पार्टी कज्याउन कसैले सक्दैनथ्यो” केही दशक पहिलेको कम्युनिष्ट पार्टी सम्झदै साह भन्नुहुन्छ, “अब त नेताको चाकरीभित्रको मुल्याङ्कन भएको देखिन्छ, आफ्नो गुटको परे सात खुन माफ !” एक समय विचार, निष्ठा र जिम्मेवारी निर्वाहका कुरामा खरो उत्रेका नेताहरुमा पनि चाकरी गाथाले समयअनुसार आपूmकहा उभिन पुग्ने कार्यकर्तामा मात्र आँखा पुग्ने गरेको साहको थप टिप्पणी छ । विचार , नीति, सिद्धान्त केही हेर्नु नपरेपछि अब एमाले पनि भिडभाड देखाउने थलोमात्र बनेको टिप्पणी सो दलमै आबद्ध आधारभूत तहका कार्यकर्ताबीच बाक्लिदै छन् ।

“अरुलाई त के भन्ने होला र ? केही आश पनि त थिएन । आश भा’को गरेको एमाले त अब विचार र निष्ठाको कुराबाट स्खलित हुँदै गएको देखिन्छ” सधैं एमालेको वकालत गर्दै आएका पुराना मान्छे अब भन्न थालेका छन् ।

एमालेले आसन्न अधिवेसनका लागि ‘महोत्तरीको समृद्धिको आधार ! सीपमूलक शिक्षा, आधुनिक कृषि र स्वरोजगार !! नारा तय गरेको छ । यद्यपी पार्टी तहबाट जिल्लामा गुणस्तरीय शिक्षा तथा आधुनिक कृषि प्रणाली र स्वरोजगारी सिर्जनामा लागि कुनै पहलकदमी लिएको भने उदाहरण देखाउन हम्मे पर्छ । नरा जतिसुकै आकर्षक बनाइए पनि त्यसको कार्यान्वयनको पाटो पत्यारिलो नभएपछि यसले विश्वास जगाउने सम्भावना त्यति नहुने सो पार्टीआबद्ध सर्वसाधारण कार्यकर्ता बताउँछन् ।

अहिले अधिवेसनको तयारी अघि बढ्दा जिल्ला अध्यक्ष पदमा बलिराम यादव र शिवचन्द्र सिंह आकांक्षी देखिएका छन् । यद्यपी दुबैमा आफ्नो योग्यता, क्षमताभन्दा गुटले नै पार लाउने आश देखिएको एमालेकै शुभचिन्तक बताउँछन् ।

“न कार्य योजना चाहियो, न विचार, सिद्धान्त” एक कार्यकर्ता टिप्पणी गर्छन्, “हुल देखाउन हेरौं को अघि पर्छन् ।” एमालेको अधिवेसन नजिकिदै जाँदा गुटवाजहरुको थप चर्तिकाला छरपष्ट बढ्दै जाने ती कार्यकर्ताको टिप्पणी छ ।

२०८० माघ १, सोमबार १४:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय