मटिहानी (महोत्तरी) , ९ वैशाख ।
बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका दिइएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक (किसान) समूहमा आवद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका दिइएको हो ।
मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले शनिबार नगरक्षेत्रका किसान समूहमा आबद्ध २० जना महिला लाई बोयर जातका उन्नत बीउ बोका दिइएको हो । बीउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आय आर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।
बोयर जातका उन्नत बीउ बोकाबाट अब बाख्राले जन्माउने पाठापाठीको नश्ल सुधार हुने र आपूmहरुको अम्दानी बढ्ने महिला किसान बताउँछन् । “अब हाम्रा बाख्राले चाँडै बढ्ने र ठूला हुने पाठापाठी जन्माउनेछन् , यिनबाट पहिलेका पाठापाठीभन्दा बढी आम्दानी हुनेछ” बीउ बोका पाएपछि मटिहानी-१ की बाख्रापालक महिला किसान हिरा सहनी भन्नुहुन्छ, “यसले हाम्रो आर्थिक गतिविधिमा राम्रो सुधार हुने विश्वास छ ।” हिराजस्तै मटिहानी-३ आवर बस्तीकी ललितादेवी र मटिहानी-५ विसनपुरकी सरिता रामले पनि उन्नत जातका बीउ बोका पाएपछि अब आफ्ना बस्तीमा नयाँ जन्मने पाठापाठी चाँडै हलक्क बढ्ने, खदिलो मासु भएका र बढी तौलका हुने आश पालेका छन् ।
नगरक्षेत्रमा किसान समूहमा आबद्ध महिला किसानलाई क्रमशः बीउ बोका दिइने कार्यक्रमलाई निरन्तरता दिइने परियोजना प्रबन्धक महेश यादवको भनाइ छ । यो कार्यक्रमले गरिब बर्गका मिहनेती किसानले आर्थिक उपार्जनमा थप अवसर बढाउने नगरप्रमुख मण्डल बताउनुहुन्छ । पशुपालनमात्र नभइ आफ्ना नगरक्षेत्रका मखान खेती गर्ने , अन्नबाली, तरकारी, दलहन र तेलहन बाली लगाउँदै आएका किसानलाई बीउ, मलदेखि खेतीमा आवश्यक प्राविधिक सहयोग र बजारिकरणमा पनि सहयोग गर्दै आइएको मण्डलको भनाइ छ ।