महोत्तरी : मधेशका महोत्तरीसहितका चार जिल्लामा आज आइतबार हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन अभियान सुरु भएको छ । हात्तीपाइलेको प्रभाव रहेको महोत्तरीसहितका मधेशका धनुषा, सर्लाही र रौतहटका सबै स्थानीयतहका वडा बस्तीका घरघरमा आज औषधी सेवन अभियान सुरु भएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

महोत्तरीको मटिहानीस्थि तगत बुधबार आगलागी भएको जरलहवागाछी बस्तीमा बिहानैदेखि अग्निपीडित परिवारलाई औषधी ख्वाइएको छ । यसैगरी जिल्लाका सबै वडा बस्तीका सघन जमघट हुने ठाउँमा स्वास्थ्यकर्मीले उचाइ नाप्दै सोअनुसारको खुराक औषधी सर्वसाधारणलाई ख्वाइरहेका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा मटिहानी हात्तीपाइलेले सबैभन्दा बढी प्रभाव पारेको स्थानीयतह हो । गत वर्ष हात्तीपाइलेविरुद्धको औषधी ख्वाउने अभियानपछि मटिहानीमा गरिएको सर्वेक्षणमा ६०० जनाको रक्तपरीक्षणमा २१ जनामा यो रोगका जिवाणु भेटिएको थियो ।

यसपालि जिल्लामा औषधी खान कोही नछुटुन् भन्ने ध्येयका साथ अभियान थालिएको स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताले जानकारी दिनुभयो । दुई वर्षमाथि उमेरका सबैलाई यस अभियानमा औषधी ख्वाइँदैछ । जिल्लामा यसपालि सात लाख १६ हजार २६४ जनालाई औषधी ख्वाइने छ । जिल्लाका १३८ वटै (सबै) वडाका बस्तीबस्ती र घरघर यो अभियानका स्वास्थ्यकर्मी र स्वयंसेवक पुग्ने कार्यालयले जनाएको छ । यसका लागि वडावडाका स्वास्थ्य स्वयंसेविकाबाहेक ६३२ जना दक्ष स्वास्थ्यकर्मी परिचालित गरिएको प्रमुख स्वास्थ्य प्रशासक गुप्ताको भनाइ छ ।

भारतको बिहार प्रान्तका मधुवनी र सीतामढीसँग खुला सीमा जोडिएको महोत्तरीमा मटिहानीको सर्वेक्षण नतिजाले हात्तीपाइले डरमर्दो स्थितिमा रहेको देखाउँछ । मटिहानीका केही विद्यालय र मदर्सामा गरिएको रक्तपरीक्षणको नतिजाले जिल्लाको कूल जनसङ्ख्याको अनुपात मिलाउँदा झण्डै २५ हजार हात्तीपाइलेबाट सङ्क्रमित हुनसक्ने हिसाब आउँछ । यद्यपि यो स्वास्थ्यकर्मीहरुको सरदर अड्कल हो ।

मुलुकमा सन् २००३ देखि नै हात्तीपाइलेविरुद्ध औषधी ख्वाउन थालिए पनि मधेशका चार र अन्य प्रदेशका तीन (कोशीको झापा, वागमतीको रसुवा र लुम्बिनीको कपिलवस्तु) सहित सात जिल्लामा अझै यो रोग निवारण हुन सकेको छैन । औषधी परिवारका व्यक्तिलाई दिइदा नखाएको पाइएको हुँदा यसपालि स्वास्थ्यकर्मीले आफ्नै सामनेमा औषधी ख्वाउने प्रकृया बसालिएको गुप्ताले स्पष्ट पार्नुभयो । औषधी सेवनमा भएको लापर्वाहीले नै सन् २०२० सम्म हात्तीपाइले रोग उन्मूलन गर्ने मुलुकको लक्ष्य हासिल हुन नसकेको स्वास्थ्यका अधिकारी स्वीकार्छन् । यो अभियान १० दिने भएपनि कोही छुटेका सम्पर्कमा देखिए चार/पाँच दिन थपेर भएपनि सबैलाई ख्वाइने गुप्ताले स्पष्ट पार्नुभयो ।

२०८१ बैशाख १७, सोमबार ०७:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय