
मटिहानी (महोत्तरी) , २५ वैशाख ।
आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि महोत्तरीको मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पौष्टिक आहार मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् ।
किसानलाई मटिहानी नगरपालिका र हेफर प्रोजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ कार्यक्रमले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो । विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला-५५०, बकाइनो-१५० र भटमासे-१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताउनुभयो । डाले घाँसका बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन् । यी घाँस दुधालु बस्तुमा दूध बढाउने, पशुबस्तु निरोगी भइ हलक्क बढ्ने , मासु प्रयोजनमा पालिने पशु चाँडै हुर्कने र मासु खदिलो हुने परियोजनाका वरिष्ट कार्यक्रम अधिकृत मिथिलेश झाले बताउनुभयो ।
आफ्नै घरआगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुबस्तुका लागि घाँस खोज्न कहाँ जाने भन्ने चिन्ता हराएको पशुपालक महिला किसानको भनाइ छ । “प्रतिकूल मौसममा घाँस खोज्न, काट्न र घरसम्म ल्याउन हम्मे नै पथ्र्यो” मटिहानी-२ की पशुपालक किसान विमला खत्वे भन्नुहुन्छ, “अब आफ्नो घर नजिकै बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ ।” खत्वेजस्तै मटिहानी-३ की ललितादेवी मण्डल र मटिहानी-९ की बच्चीदेवी साफीले पनि अब घरपालुवा पशुबस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस ख्वाउन पाइने प्रतिकृया दिनुभयो । मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरेली (बाछी) पाल्दै आएका छन् ।
महिला किसानलाई आय आर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले निकै सघाउ पुर्याएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । नगरका साना पुँजीका महिला परियोजनाको सहयोगबाट पशुपालनमा लागेपछि आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका मण्डलले बताउनुभयो ।
मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्ला पाँच वर्षयता बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नबालीका बीउ/ बिरुवासँगै आवश्यक प्रविधिको सहयोग गरिदै आइएको नगरप्रमुख मण्डलले उल्लेख गर्नुभयो ।
पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरेली (बाछी) पालनमा उत्साहित देखिँदा छन् । “हामी अब आफै केही गर्न सक्ने भयौंजस्तो लागेको छ” मटिहानी-२ की पशुपालक किसान सुजिता यादव भन्नुहुन्छ, “परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ ।’’
यसैगरी सोमबार नै परियोजनाले सातवटा महिला सहकारी संस्थाहरुलाई प्रभावकारी अभिलेख राख्न सहयोग पुग्ने उद्देश्यले ल्यापटप, प्रिन्टरसहितका सामग्री प्रदान गरेको छ । त्यस्तै महिला सहकारी संस्थालाई उत्पादित फलपूmल र तरकारी सुरक्षित राख्न र बजारसम्म पुर्याउन क्यारेट दिइएको छ । यी सामग्रीले अब संस्थाको अभिलेख सुरक्षित र वैज्ञानिक तरिकाले राख्न सहयोग भएको संस्थाका प्रतिनिधि महिलाको भनाइ छ ।