Oplus_131072

महोत्तरी : समाजमा बालविवाहका घटना बाक्लै भेटिएपछि महोत्तरीको मटिहानी नगरपालिकाले यसविरुद्ध निरन्तर सचेतना कार्यक्रम सञ्चालनमा जोड दिएको छ । विक्रम सम्वत् २०७८ देखिका वैवाहिक स्थितिको सर्वेक्षण गरिदा गत वर्ष २०८० वैशाखमै ८०० भन्दा बढी बालविवाहका घटना पाइएपछि नगरपालिकाले निरन्तर यो सामाजिक कुरितिविरुद्ध सचेतना कार्यक्रम बढाउँदै लगेको हो । यसैक्रममा आज मङ्गलबार मटिहानी-८ मा बालविवाहविरुद्ध सर्वपक्षीय र्‍याली सम्पन्न भएको छ ।

“हामीले बालविवाह आफ्नो ठाउँको सामाजिक समस्या रहेको निक्र्यौल गरेपछि यसविरुद्ध निरन्तर सचेतना वृद्धिलाई जोड दिएका छौं” मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “मान्छेलाई बुझाएरै यो सामाजिक कुरिति अन्त्य गर्न हामी लागी परेका छौ ।” बालविवाहविरुद्ध स्पष्ट कानुनी व्यवस्था भएपनि सर्वसाधारण यसबारे जानकार नहुँदा सचेतना कार्यक्रममा कानुनी व्यवस्थाबारे पनि जानकारी दिने गरिएको उहाँको भनाइ छ । यस अभियानमा समाजका अगुवा, धार्मिक व्यक्तित्व, सामाजिक सङ्घसंस्थामा आबद्ध महिला, जनप्रतिनिधि र विद्यालयका छात्राहरुको उल्लेख्य सहभागिता बढ्दै गएको मण्डल बताउनुहुन्छ ।

नगरपालिकाले भर्खरै बालविवाहविरुद्ध समाजका सबैपक्षका व्यक्ति समेटर ‘बालविवाहविरुद्ध सामाजिक बोलबाला समिति’ गठन गरेको छ । यो समितिले नगरका नौवटै वडाबस्तीमा सचेतना र्‍याली निकाल्ने निधो गरेको छ । नगरको मुख्य बजारकेन्द्र मटिहानीबाटै यसको सुरुआत गरिएको नगर उपप्रमुख मञ्जुदेवी साह बताउनुहुन्छ । “हामी बस्तीबस्तीमा सचेतना अभियान पुर्‍याउँदैछौं” साहले भन्नुभयो ।

नगरपालिकाले बालविवाह रोक्न सबैभन्दा बढी छोरी शिक्षामा जोड दिएको छ । यसका लागि विद्यालय र कलेज पढ्ने छोरीहरुलाई शैक्षिक सामग्री, विशेष पोसाक र हिडडूल गर्न सहजताका लागि नगर कार्यपालिकाको कार्यालयले साइकल उपलब्ध गराएको छ ।

नगरपालिकाले वालविवाह रोक्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालय र क्याम्पसमा पढ्ने छोरीको सङख्या बढाउन र छोरीको बालविवाह रोक्न नगर कार्यपालिकाको कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले योजनाबद्ध पहलकदमी लिइएको जनाएको हो । विद्यालय भर्ना र कक्षा बढ्दै जाँदा छोरी घट्दै जाने तथा २० वर्ष नपुग्दै किशोरवयमै विवाह हुने पाइएपछि यो अवस्था सुधार्न विशेष कार्यक्रम ल्याइएको शाखा प्रमुख दीपा दासको भनाइ छ ।

“छोरी शिक्षालाई बल दिनेगरी यसअघि पनि कक्षा-८ देखि १२ सम्मका छात्रालाई साइकल, शैक्षिक सामग्री र पोसाकसहित दिइदै आइएको हो” शाखा प्रमुख दास भन्नुहुन्छ, “अब परिवार, समाजका अङ्ग र धार्मिक व्यक्तित्वलाई पनि यस अभियानमा सरिक गराइएको छ ।”

नयाँ कार्यक्रमअन्तर्गत छोरी पढाउन क्याम्पस पठाउने अभिभावकलाई सम्मान गर्ने, बस्तीबस्तीमा बाबु/आमा र छोरीहरुबीच पढाइ र विवाहका कुरामा अन्तर्कृया गराउने, बालविवाह निष्तेज गर्न धार्मिक परम्पराका पण्डित, पुरोहित, मोल्वी र अभिभावकबीच छलफल गराउने र २० वर्ष मुनिको विवाह कानुनी व्यवस्थाले मात्र नभइ धार्मिक दृष्टिले पनि उचित नरहेको सन्देश प्रसारित गर्ने कार्य गत वर्षदेखि नै हुँदै आएको दासको भनाइ छ । यस वर्ष वडावडामा बालविवाहविरुद्ध सर्वपक्षीय समिति बनाएर सामाजिक सचेतनाका गतिविधि बढाउँदै लगिएको दासको भनाइ छ ।

यसैगरी उमेर पुगेर (२० वर्ष नघाएर) छोरीको विवाह गर्ने अभिभावकलाई सामाजिक सम्मान दिइदै आइएको छ । पछिल्ला एक वर्षभित्र ४० भन्दा बढी अभिभावकलाई सम्मान गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । यस्तै छोरी पढ्न नपठाउने र उमेर नपुगी विवाह गरीदिने अभिभावकलाई कानुनी कार्वाहीसँगै नगर र वडा कार्यालयबाट प्रदान गरिने विभिन्न अवसरमा सरिक नगराइने सचेतना कार्यक्रममा नगर नेतृत्वले स्पष्ट पार्दै आएको छ ।

आफ्ना नगर बस्तीमात्र नभएर सीमापारीका भारततर्फका पण्डित, पुरोहित, मोल्वी र उताका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलाई पनि सचेतना कार्यक्रममा नगरपालिकाले सरिक गराउँदै आएको छ । नगरका धेरै बस्ती भारतसँग जोडिएका छन् । बिहेबारीका सम्बन्ध पनि नेपाल/भारतका बस्तीमा बाक्लै हुँदै आएका छन् ।

धानुक, केवट, यादवसहितका जनजाति, खत्वे, चमारलगायतका दलित र सघन मुस्लिम बसोबासको नगर क्षेत्रमा सामाजिक र शैक्षिक चेतनाको कमीले छोरी शिक्षा र उमेर पुगेर विवाह गर्ने पक्ष अत्यन्त कमजोर बनेको शाखाको ठम्याइ छ । “हामीले पछिल्ला दुई वर्षको पारिवारिक सर्वे गर्दा गत वर्षको वैशाखमै २० वर्ष मुनि नै छोरी विवाहका ८०० घटना पायौं” दासले भन्नुभयो, “यो कहालीलाग्दो अवस्था चिर्न नगरका जनप्रतिनिधिबीचको सम्मतिबाट जनजनले देख्ने, बुझ्नेगरी सचेतनामूलक कार्यक्रम थालिएको हो ।” छोरा/छोरीको वैवाहिक अवस्था हेरिदा बालविवाह गरिएका छोरी निकै बढी पाइएका दासको भनाइ छ । बहुविवाहका घटना त्यति बढी नदेखिएपनि अनमेल विवाह (केटीको भन्दा निकै बढी उमेर भएका केटा) र छोरी बालविवाहका घटना भने निकै देखिएका छन् ।

शाखाले छोरी शिक्षालाई उत्प्रेरित गर्ने र बालविवाह निरुत्साहित गर्नेगरी सुरु गरिएका कार्यक्रममा सामाजिक चासो बढ्दै गएको नगरप्रमुख मण्डल बताउनुहुन्छ । वर्षौवर्षदेखि यो कुरितिमा जकडिएको समाज जगाउन केही समय लाग्ने जनप्रतिनिधि बताउँछन् । छोरी शिक्षालाई बल पुर्‍याउन र बालविवाह निरुत्साहित गरिन थप प्रभावकारी कार्यक्रम बढाइने नगरप्रमुख मण्डलको प्रतिबद्धता छ ।

२०८१ जेष्ठ २, बुधबार ०८:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय