
महोत्तरी, ३ जेठ । महोत्तरीको मटिहानी नगरपालिकाले साक्षर नगरको प्रमाणपत्र प्राप्त गरेको छ । आज बिहीबार मटिहानीमा आयोजित एक विशेष समारोहबीच जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कणर्ले मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डललाई साक्षर नगरको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
समारोहमा प्रमुख कणर्ले अहिलेको साक्षरता उपलब्धी टिकाइ राख्न १५ वर्ष मुनिका बालबालिकालाई अनिवार्य रुपमा विद्यालय शिक्षामा जोडी राख्न नगर नेतृत्वसँग अपिल गर्नुभयो । “तपाईहरुको निरन्तरको प्रयत्नले नगर साक्षर बनेको छ, अब यो परिचय टिकाइ राख्न १५ वर्ष मुनिका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालय शिक्षासँग जोड्नु पर्छ” कणर्ले भन्नुभयो । साक्षरता अभियान एक कालखण्डको नभई निरन्तरको प्रकृया भएको हुँदा अबको नयाँ पुस्तालाई विद्यालय शिक्षामा जोड्दै लगिए नगर सुशिक्षत बन्दै जाने उहाँको कथन छ ।
सो अवसरमा नगरप्रमुख मण्डलले नगरका पुराना सामाजिक कुरिति अन्त्य गर्दै सुशिक्षित समाज बनाउन नगर कार्यपालिकाले योजनाबद्ध काम थालेको उल्लेख गर्नुभयो । नगरका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकलाई बस्तीबस्तीमै साक्षरता कक्षामा सामेल गराइएको र १५ वर्ष मुनिका बालबालिकालाई विद्यालयसँग जोडिएको हुँदा अब आफ्नो नगर सधैं शिक्षा अभियानमा अघि बढीरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मटिहानी नगरपालिकाले एक वर्ष पहिले यससम्बन्धी योजना बनाइएर गत असोजदेखि साक्षरता कक्षा सञ्चालन गरिएको नगरको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । नगरक्षेत्रका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत ७२ जना माध्यमिक तहका (कक्षा ९ देख १२ सम्मका )छात्रछात्रालाई साक्षरता दूत बनाइ बस्तीबस्तीमा साक्षरता कक्षा सञ्चालन गर्न थालिएको हो । नगरका नौ वटै वडा बस्तीमा सञ्चालित यस्ता कक्षाबाट यसअघि पूणर् निरक्षर रहेका तीन हजार ६०० जना साक्षर बनेका समारोहमा नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले प्रतिवेदन प्रस्तुत गरेको छ । “यो अभियानलाई हामीले केही वर्ष निरन्तरता दिदैछौंं , साक्षर भएका लाई निरन्तर अभ्यासमा जोडी राख्न र नयाँ निरक्षर कोही फेला परे यस्तालाई कक्षामा जोड्ने काम गरिने शाखा प्रमुख चन्देश्वर साहले बताउनुभयो ।
नगर बस्तीमा सञ्चालित साक्षरता कक्षाबाट यसअघिका निरक्षर अब आफ्नो र परिवारजनको नाउँ ठेगाना लेख्न पढ्न सक्ने, साधारण जोडघटाउ गर्न जान्ने, मोवाइल चलाउन सक्ने र घडी हेर्न जान्ने भएका छन् । यिलगायतका १२ सूचकमा उपलब्धी लिनेगरी सञ्चालित साक्षरता कक्षा सफल बनेका शाखा प्रमुख साहले बताउनुभयो । अब नगरका ९५.१६ प्रतिशत बासिन्दा साक्षर बनेका नगरको शिक्षा तथा खेलकुद शाखाको प्रतिवेदनमा उल्लेख छ ।
भारतसँग सीमा जोडिएको यो नगरमा धानुक, कापर, यादवलगायतका जनजाति, खत्वे, पासवान र महरासहितका दलित र मुसलमानको सघन बसोबास छ । शिक्षाको त्यति पहुँच नभएको हुँदा यहाँ बालविवाह बाक्लै हुने गरेको पाइएपछि नगरपालिकाले यसलाई निष्तेज गर्न निरन्तर सचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
“हामीले बालविवाहजस्ता कुरिति अन्त्यका लागि यसविरुद्धको कानुनी तथा सामाजिक सचेतनासँगै छोरी शिक्षालाई जोड दिएका छौं, यसका सकारात्मक परिणाम प्राप्त हुँदैछन्”नगरप्रमुख मण्डल भन्नुहुन्छ, “अहिले साक्षर नगरको परिचय पायौं, एक वर्षभित्रै अब नयाँ बालविवाह नहुने सामाजिक थिति बसाली सक्छौ ।”
आज साक्षर घोषणा भएसँगै मटिहानी जिल्लाको दोस्रो साक्षर नगर बनेको छ । समारोहमा जिल्लास्थित शिक्षा विकास समन्वय इकाई कार्यालयका प्रमुख प्रतिभा साहले मटिहानी दोस्रो साक्षर नगर बनेको बताउनु भएको हो । यसअघि जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका पहिलो साक्षर नगर घोषणा भइसकेको छ ।