जिपी बराल, महोत्तरी, ३ जेठ ।

मधेशको प्राचीन मिथिलाक्षेत्रमा अहिले जानकी नवमीको उल्लास छ । सीता, वैदेही, जनकनन्दिनी, मिथिला , रामिणी र किशोरीजीसहित कैयौं नाउँले पुकारिने जानकी वैशाख शुक्ल नवमी तिथिका दिन प्रकट भएको मानिन्छ । यसै विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी वा जानकी प्रकाट्य दिवसका रुपमा मनाउने गरिएको छ ।

मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ । तिथिको भोगले आजै नवमी भएपनि नौ दिनको यो अनुष्ठान भोलि शुक्रबार विभिन्न धार्मिक कार्यक्रमबीच सम्पन्न गरिदै छ । जानकी नवमी पर्व सम्पूणर् हिन्दू समुदाय, नेपालीहरुका लागि उतिकै महत्वपूणर् भएपनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको महोत्तरीको मटिहानीस्थित श्री लक्ष्मीनारायण मठका सन्त तथा मिथिला परम्परा तथा संस्कृतिका ज्ञाता रविन्द्रदास वैष्णव बताउनुहुन्छ ।

पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा विशेष भजन, कीर्तन र सत्सङ्ग आयोजन हुँदै आएका छन् । त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान गुञ्जी रहेका छन् । पर्वका अवसरमा आज साँझ विशेष धार्मिक अनुष्ठान सम्पन्न गरिदैछन् । पर्व भोलि शुक्रबार विशेष धार्मिक समारोहबीच सम्पन्न गरिने तयारी छ ।

पर्वका अवसरमा प्राचीन मिथिला अर्थात् विदेह राज्यको राजधानी जनकपुरधामस्थित धार्मिक दृष्टिले अत्यन्त पवित्र मानिने दुधमती नदीमा भोलि शुक्रबार बिहानै शाहीस्नान गरिने कार्यक्रम छ । यसैगरी भोलि मध्यान्ह १२ बजे विशेष आरती महोत्सव गरी जानकीजीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात पर्व सम्पन्न गरिने तयारी रहेको जानकीमन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो । यस कार्यक्रममा सहभागिताका लागि जानकी मन्दिरले आम भक्तजनसँग अपिल गरेको छ ।

यसैगरी मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमी पर्वका अवसरमा विशेष धार्मिक अनुष्ठान वैशाख शुक्लपक्ष सुरु भएसँगै हुँदै आएका छन् । यस अवसरमा सीता जन्म कथा, सीता स्वयम्वर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन हुँदै आएका छन् । पर्वमा वैशाख शुक्लपक्ष प्रारम्भसँगै प्रत्येक साँझ राजा जनकलाई पुत्रीलाभको वधाई कार्यक्रम आयोजन हुँदैछन् । पर्वका अवसरमा आजसाँझ मिथिलाक्षेत्रमा सन्ध्या दीपावली गरिने तयारी छ ।

अघि त्रेता युगमा तत्कालिन मिथिला राज्यममा अकाल पर्दा विद्वानहरुको सभाले राजा शिरध्वज जनकले सुनको हलोले राज्यका विभिन्न भेगमा जोते पानी पर्ने बताएपछि राजाले हलो जोत्ने क्रममै घडासहित सीताजी हलोको टुँडोले उप्किएको सियोमा प्रकट हुनुभएको विश्वास गरिन्छ । सानैदेखि आफ्ना विशिष्ट गुणले आदर्श नारीको पहिचान बनाएकी सीताले विवाहपछि पनि बुहारी भएर गएकी अवधमा मिथिलाको महिमा बढाएकी रामायणसहितका पौराणिक ग्रन्थमा वणर्ित छ । सीतालाई नेपालको राष्ट्रिय विभूति मानिएको छ ।

जानकी नवमी पर्वका अवसरमा नवमी सकिने घडीको दिन पारेर व्रत बस्ने परम्परा छ । यो व्रत एक अहोरात्र बसेर भोलिपल्ट साङ्गता गरिन्छ । पर्वका अवसरमा मधेश प्रदेश सरकारले पछिल्ला केही वर्षयता वैशाख शुक्ल नवमीका दिन सार्वजनिक विदा दिदै आएको छ ।

२०८१ जेष्ठ ३, बिहीबार २२:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय