
महोत्तरी, ६ जेठ । मधेशका होटल तथा पर्यटन व्यवसायी अहिले पर्यटन प्रबद्र्धनका गन्तव्य पहिल्याउने अभियानमा छन् । प्रदेशको समृद्धि अभियानका लागि यहाँका पर्यटकीय गन्तव्यको पहिचान र तिनको समुचित व्यवस्थापनको कार्य अहिलेको मुख्य कार्यभार रहेको नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिले औंल्याएको छ । महासङ्घले प्रदेशका आठवटै जिल्लाका पर्यटकीय सम्भावनाका ठाउँबारे स्थलगत अध्ययन गरेर सरकार र सम्बद्ध निकायसँगको समन्वयमा काम अघि बढाउने पहलकदमी लिएको हो ।
शनिबार महासङ्घले बाराको आधिभारस्थित पर्सा राष्ट्रिय निकुञ्जको अवलोकन तथा अन्तर्कृया कार्यक्रममा पर्यटन विकास र यसको समुचित व्यवस्थापनमा सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गराएको छ । होटल तथा पर्यटन व्यवसायी यस कार्यमा सरकारका विभिन्न निकायसँग समन्वय गरी काममा अघि बढ्न उत्सुक रहेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिले जनाएको हो ।
महासङ्घले प्रदेशका आठवटै जिल्लामा सरोकारवालासहितको अवलोकन भ्रमणको तालिका बनाएको छ । यसको सुरुआत पर्सा राष्ट्रिय निकुञ्जबाट थालिएको महासङ्घ मधेश प्रदेश समितिका अध्यक्ष हिरालाल गौतमले बताउनुभयो । “हामी प्रदेशका सबै जिल्लामा पर्यटकीय सम्भावनाका स्थलको अवलोकन गर्दैछौं” उहाँले भन्नुभयो ।
महासङ्ले प्रारम्भिक चरणमा प्रदेशका आठवटै जिल्लामा पाँच/पाँच ठाउँमा पर्यटन प्रबद्र्धनका थप काम अघि बढाउने निणर्य गरेको छ । “हामीले प्रारम्भिक चरणमा प्रदेशका पूर्वको सप्तरीदेखि पश्चिम पर्सासम्मका आठवटै जिल्लाका पाँच/पाँच ठाउँको पहिचान गरी पर्यटन प्रबद्र्धनका काम अघि बढाउने निधो गरेका छौं” गौतमले भन्नुभयो, “यी ठाउँका काममा केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहयोगको वातावरण बनोस् भन्ने हाम्रो अपेक्षा छ ।”
महासङ्घले छनौट गरेका ठाउँमा महोत्तरीका जलेश्वरनाथ महादेव मन्दिर, रौजा मजार, टुटेश्वर महादेव मन्दिर, पञ्चधुरा माई मन्दिर र कालापानी पार्क (उद्यान) छन् । यसैगरी सप्तरीका कङ्कालिनी माई मन्दिर, सकरा भगवती, सिरहाका सहलेस फुलबारी, उत्तरायणी कमला, धनुषाका धनुषाधाम , सर्लाहीका वागमतीताल र सागरनाथ वन विकास परियोजना , चन्द्रनगरस्थित ताल , रौतहटका नुनथर र जङ्गे झरना, बाराको गढीमाई मन्दिर र आधिभारस्थित पर्सा राष्ट्रिय निकुञ्ज र पर्साका भिसवाडाँडा र शङ्कराचार्यद्वारलगायतका स्थान छन् । यी ठाउँमा पर्यटन प्रबद्र्धनका क्षेत्रमा के गर्न सकिन्छ ? प्रारम्भिक चरणमा के गरिन पर्दछ ? जस्ता विषयमा महासङ्घभित्र घनिभूत छलफल गरीरहिएको गौतम बताउनुहुन्छ ।
प्रारम्भिक चरणमा महासङ्ले छनौट गरेका ठाउँमा कैयन संरचना बनेका छन् । यद्यपि संरचना विकासका कुराले मात्र पर्यटन प्रबद्र्धनमा सघाउ नपुग्नेहुँदा तिनको सम्भार, व्यवस्थापन र सेवाप्रदायकमा अतिथि सत्कारको तत्परता, दिइने सेवाको स्वच्छता र तोकिएको जिम्मेवारीप्रतिको जवाफदेहिता महत्वपूणर् पक्ष हुने होटल तथा पर्यटन व्यवसायीको निष्कर्ष छ ।
“हाम्रा कतिपय निर्मित संरचना खण्डहरजस्ता बनेका छन् , यो व्यवस्थापकीय चाँजोको कमी र जवाफदेहितामा देखिएको उदासिनता मुख्य कारण हुन् भन्ने लाग्छ, “महासङ्घका प्रदेश महासचिब वैकुण्ठ सापकोटा भन्नुहुन्छ, “हामीले आनीबानीमा सुधार नल्याए संरचना बनेरमात्र पर्यटन प्रबद्र्धनका क्षेत्रमा परिणाममुखी उपलब्धी हासिल हुन सक्दैन ।” सरकारले पर्यटन क्षेत्रमा गर्ने लगानी र काममा पर्यटन व्यवसायी र सामाजिक सङ्घ संस्थाका प्रतिनिधिबीच समन्वय हुनसके कम लगानीमा बढी उपलब्धी हासिल गर्नसकिने सापकोटाको भनाइ छ ।
महासङ्घले प्रदेशका सबै स्थानीयतहसँग आआफ्ना तहमा पर्यटन प्रबद्र्धन समिति गठन गर्न र यस्ता समितिमा पर्यटन व्यवसायी, सामाजिक सङ्घसंस्था र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीलाई सम्मिलित गराउन माग गरेको छ । यसरी बन्ने समितिले आफ्ना तहका सम्भावनाको खोजी, तिनको कुशल व्यवस्थापन र सम्भारका पक्षमा ठोस सुझावसहित स्थानीयतहलाई सघाउ पुर्याउने महासङ्घको निष्कर्ष छ ।
प्रदेशमा पर्यटन प्रबद्र्धनका क्षेत्रमा यस्ता सम्भावना पहिल्याइँदा धार्मिकस्थल नै मुख्य देखिएका छन् । मुलुकभित्रका मात्र नभइ छिमेकको भारतका सीमावर्ती जिल्लाका श्रद्धालुहरुको यहाँका मठमन्दिर र धार्मिकस्थलमा उल्लेख्य सहभागिता हुँदै आएको छ । यो सहभागिता परम्रागतमात्र हुँदै आएको हुँदा अब यसलाई व्यवसायिकता र आधुनिकतासँग जोड्दै लानपर्ने आवश्यकता होटल तथा पर्यटन व्यवसायीले औंल्याएका छन् । प्रदेशका पर्यटकीय सम्भावनाका ठाउँमा निजीतहबाट पनि लगानी लगाउन व्यवसायी उत्साहित छन् । यद्यपि यसका लागि सरकार र सरकारका निकायहरुबीचको समन्वय अपरिहार्य भएको महासङ्घका संरक्षक सल्लाहकार तथा जनकपुरधामस्थित होटल वेलकमका सञ्चालक विजय झुनझुनवाला बताउनुहुन्छ ।
पर्सा राष्ट्रिय निकुञ्जको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिब सुशीलकुमार साहले प्रदेशका पर्यटकीय सम्भावनाका ठाउँको मर्मतसम्भार, नयाँ पूर्वाधार विकास, यिनको व्यवस्थापकीय चाँजोपाँजो र जिम्मेवारीका क्षेत्रबारे पर्यटन व्यवसायी र खासमा महासङ्घसँग समन्वय गरिन तयार रहेको बताउनु भएको छ । साहले प्रदेश सरकारबाट अपेक्षा राखिएका विषयबारे लिखित प्रस्तावना दिन महासङ्घ प्रतिनिधिसँग अनुरोध गर्नुभयो । समारोहमा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पर्यटन सम्भावनाका ठाउँको विकासमा महासङ्घ र अन्य सम्बद्धपक्षसँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले नेपालका सम्पदा, यहाँको हावापानी र जनजीवन विविधतायुक्त रहेको बताउनुभयो । यद्यपि यो विशेषताबाट अपेक्षित उपलब्धी लिनभने योजनाबद्ध कामको आवश्यकता उहाँले औंल्याउनुभयो ।
महासङ्घले स्थानीयतहसँग गरेको अपेक्षाअनुसार केही स्थानीयतहले आफ्नो ठाउँमा पर्यटन प्रबद्र्धन समिति गठन गरेर कामका क्षेत्रबारे गृहकार्य गर्न थालेका छन् । महोत्तरीमा बर्दिबास नगरपालिकाले महासङ्घका प्रदेश अध्यक्ष गौतमकै नेतृत्वमा यो समिति गठन गरेको छ । प्रदेशका कतिपय स्थानीयतह अहिले यस्ता समिति गठनको गृहकार्यमा रहेका महासङ्घले जनाएको छ । स्थानीयतहमा देखिएको यो तत्परताले अब क्रमशः पर्यटन प्रबद्र्धन क्षेत्रका कामले परिमाणात्मक गति लिने महासङ्घको प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार साह बताउनुहुन्छ ।