धनुषा, जेष्ठ ८ गते:  मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शान्ति मार्ग दर्शन बौद्ध गुम्बाको आज एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ सितानगर लामाटोलमा सभामुख मण्डलले शान्ति मार्ग दर्शन बौद्ध गुम्बाको शिलान्यास गरेका हुन् ।


सभामुख मण्डलको विशेष पहलमा उद्योग तथा पर्यटन मन्त्रालयबाट निर्माण हुन लागेको गुम्बाको शिलान्यास सभामुख मण्डल सहित क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, वडाध्यक्ष मोद कुमार महतो र जग्गादाता फूलमाया तामाङ्गीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहमा बोल्दै सभामुख मण्डलले जनताको अपेक्षा धेरै र बजेट तथा योजना सिमिति हुने हुनाले एकै पटकमा सबै जनताको माग पुरा गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने,‘आम नागरिकको चाहना सबै पुरा गर्ने मेरो पनि मन हुन्छ, तर के गर्नु भनेजति सबै एक्कै पटकमा गर्न सकिन्न, चाहेर पनि योजना सिमित हुन्छ, रकम सिमित हुन्छ । सरकार फेरबदलले विकासमा बाधा अवरोध सृजना भैरहेको छ । त्यसैले सोचे अनुरुपमा काम गर्न कठिन छ ।’


धनुषा क्षेत्र नं. १ का प्रदेशसभा सदस्य समेत रहेका सभामुख मण्डलले आफ्नो गाउँठाउँको विकासमा अहोरात्र खटेको बताउँदै नागरिकको माग अनुसार कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सडक, बत्ति लगायतको कामहरु प्राथमिकताका आधारमा धमाधम भैरहेको सुनाए । उनले भने, ‘जनताको चाहना असिमित छ, त्यही चाहनालाई पुरा गर्न हामी हाम्रो टिम सदैव लागि रहेका छौं ।’

उनले जनताको घरदैलोमा गएर तत्काल आवश्यक योजनाहरुको माग अनुसार अहिले विकासको कामहरु तीव्र गतिमा अघि बढी रहेको बताए । उनले भने, ‘उनले जनताको माग अनुसारको योजना परिपूर्ती गर्न गाह्रो भएपनि क्रमागत रुपमा हरेक नागरिकको आवाजलाई सम्बोधन गर्ने प्रयास यथाशिघ्र गरिरहेको छु ।’

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले गुम्बा निर्माणको लाग्ने आवश्यक खर्च गरपालिकाले समेत विनियोजन गरेर काम सम्पन्न गर्न सघाउने प्रतिबद्धता जनाए । उनले सार्वजनिक स्थलहरुको निर्माण र सुदृढिकरणमा नगरपालिका लागेकोले सघाउन तयार रहेको सुनाए ।

बौद्ध जयन्तीको पूर्व सन्ध्यामा गरिएको शान्ति मार्ग दर्शन बौद्ध गुम्बाको शिलान्यास समारोहमा कार्यक्रको उदघोषण धर्म बहादुर बुलनले गरेका थिए । समारोहमा मिथिला नगरपालिका ४ का वडाध्यक्ष चन्द्रबहादुर बुलनले बौद्ध धर्मावलम्हिरुको संख्या नेपालमा कम हुनुको प्रमुख कारक प्रचारप्रसारमा कमी हुनु भएको औल्याए ।

कार्यक्रममा ६० लाख बराबरको जग्गा दान गरेकी फूलमाया तामाङ्गीलाई सभामुख मण्डलले गम्छा तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

२०८१ जेष्ठ ८, मंगलवार २३:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय