
महोत्तरी : कतिबेला धारामा पानी चुहिएला भनेर जागै रात बिताउने बर्दिबास-२ का बासिन्दाका लागि अब आसलाग्दा दिन सुरु भएका छन् । यहाँका ८३२ घरपरिवारलाई लक्षित गरी खानेपानीका लागि बोरिङ्ग जडान भइ आज शुक्रबार कार्यालयसँगै पानी वितरण थालिएपछि बर्दिबास-२ का बासिन्दामा अब आसलाग्दा दिन सुरु भएका हुन् । बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षत्रीले आज पानी सुचारु ग्र्नसँगै बर्दिबास-२ सेक्टर नम्बर-३ को कार्यालय पनि उद्घाटन गर्नुभयो ।
“यसपालि वैशाखदेखि नै खानेपानीका लागि धेरै दुःख खेपियो, धारामा कतिखेर पानी चुहिएला भनेर पर्खदै जागै रात कटाइयो” खानेपानीका लागि खेपेको दुःख सम्झदै बर्दिबास-२ ओमशान्तिचोककी गृहिणी पर्मिला ठाकुर भन्नुहुन्छ, “अब बोरिङ्गबाट पानी दिन थालिएछ, अब पानीका लागि दुःख खेप्ने दिन गए भन्ने आस जागेको छ ।” बोरिङ्गबाट आज वितरण थालिएको पानी सफा कञ्चन देखिदा यसअघि धारामा झर्ने धमिलो लेदो पानीले आँत भिजाउनु पर्ने बाध्यता पनि अब नहुने ठाकुरको विश्वास जागेको छ । यसपालिको उखरमाउलो गर्मीमा कैयन दिनसम्म धाराबाट पानी नझर्दा यहाँका बासिन्दाले साइकल, टायरगाडा जोतेर टाढाटाढाबाट खानेपानीको जोहो गर्नु परेको बताएका छन् ।
खानेपानीका स्रोतका मुहान सुकेर हाहाकार परेका बेला बर्दिबास-२ मा नेपाल सरकारको तराई मधेश खानेपानी योजनाअन्तर्गत ३१ लाख अनुदान सहयोगमा बर्दिबास साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सेक्टर नम्बर-३ को कार्यालय निर्माण र पाइप ओछ्याउने कार्य सम्पन्न भएको हो । यहाँको पाँच कठ्ठा क्षेत्रफलको कार्यालय कम्पाउण्डमा पक्की घेराबेरा भएको छ । यस योजनामा बोरिङ्ग जडान भने करिब १३ लाखको लागतमा बर्दिबास नगर कार्यपालिकाको कार्यालयले गरी दिएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेन ठकुरीले जानकारी दिनुभयो ।
यस वडाबस्तीका घरघरका धारामा अब बोरिङ्गको सफा पानी झर्ने भएको छ । “हे भगवान, अब खानेपानीका लागि धारामा कतिखेर पानी चुहिएला भनेर रात कटाउनु परोइन” बर्दिबास-२ कै खानेपानी उपभोक्ता फुलमाया मगर भन्नुहुन्छ, “अब चाहिँ खानेपानीको दुःख टर्यो भन्ने लागेको छ ।”
यहाँ सेक्टर नम्बर-३ को आज सञ्चालनमा आएको कार्यालयले अब खानेपानीसम्बन्धी धारा माग गर्ने, जडान गर्ने, प्राविधिक हेरचाह गर्ने र पानीको महसुल काउण्टर पनि यहीं नै सञ्चालनमा ल्याएपछि आम उपभोक्ता मख्ख देखिएका छन् । “अब खानेपानीसम्बन्धी सबै काम यहीं आफ्नै बस्तीको कार्यालयबाटै हुने भएछ, टाढा जानुपर्ने सास्ती पनि टरेछ” यही बस्तीकै गृहिणी शोभा उपाध्यायले भन्नुभयो । यसअघि खानेपानीसम्बन्धी सबै सेवा लिन तीन किलोमीटर माथिको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय पुग्नुपथ्र्यो ।
नगरक्षेत्रमा अब खानेपानीको सङ्कट समाप्त गर्न बस्तीबस्तीमा बोरिङ्ग जडान गरिने नगरप्रमुख षत्रीको भनाइ छ । “नगरबासीले खानेपानीका लागि निकै दुःख झेल्नु परेको पीडा देखिएको छ, हामी यसको निदानका लागि सङ्कल्प गरेर काममा लागेका छौं” क्षत्रीले भन्नुभयो । सबै नगरबासीले स्वच्छ खानेपानी सहज रुपमा पाउने व्यवस्थाका लागि प्रतिबद्ध भएर काममा लागिएको उहाँले स्पष्ट पार्नुभयो ।
महोत्तरीमा खानेपानीका स्रोतका मुहान धमाधम सुकेपछि अब बोरिङ्ग जडानको विकल्प रोजिएको हो । सेक्टर नम्बर-३ को आज सञ्चालित पानी र कार्यालय परिसरमा अब ओभरहेड ट्याङ्क आवश्यक भएको सेक्टर नम्बर ३ कार्यालय निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीको भनाइ छ ।