बर्दिबास , १० असार ।
महोत्तरीका १० सामाजिक सङ्घसंस्थाले चुरे पाहाडि क्षेत्रका पर्यटकीय सम्भावनाका गन्तव्यबारे तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, नेपाल होटल तथा पर्यटन व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबास र रोटरी क्लव अफ बर्दिबासलगायतका संस्थाले चुरे पाहाडि क्षेत्रका पर्यटकीय सम्भावनाका गन्तव्यबारे तीनै तहका सरकारसमक्ष ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षण पत्रमा अन्य हस्ताक्षरकर्ता बर्दिबास नगर पत्रकार सञ्जाल, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास, हामी सबैका लागि, लायन्स क्लव अफ बर्दिबास समाज , रोट्र्याक क्लव अफ बर्दिबास र रोयल मिडिया समूहसहितका सामाजिक सङ्घ संस्था छन् ।


महोत्तरीको चुरे पाहाडि शृङ्खला क्षेत्रका विभिन्न ठाउँमा पदमार्ग यात्रा गरेर पर्यटकीय सम्भावनाका ठाउँबारे पहिचान गरिएपछि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मधेश प्रदेश सरकारको उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्रालय एबं बर्दिबास नगर कार्यपालिकाको कार्यालय र यसै मातहतको संस्कृति तथा पर्यटन प्रबद्र्धन समिति बर्दिबासलाई पहिचान गरिएका ३४ ठाउँबारेको ध्यानाकर्षण गराइएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।
“हामीले २०८० माघदेखि २०८१ जेठ मसान्तसम्म चुरे पाहाडी क्षेत्रको पैदल भ्रमण अवलोकन गर्‍यौं, यस क्रममा विभिन्न पक्षबाट पर्यटकीय सम्भावनाका ठाउँबारे आपसी छलफल गरेर तीनै तहका सरकारलाई प्रतिवेदनका रुपमा ध्यानाकर्षण पत्र बुझाएका छौं” खड्काले भन्नुभयो, “यस प्रतिवेदनको अध्ययनले तीनै तहका सरकारलाई तत् ठाउँबारे बुझ्न र कुनै योजना बनाउन सहज हुने हाम्रो विश्वास छ ।”
यस प्रतिवेदनमा चुरे पाहाडि क्षेत्र, वन, धार्मिकस्थल, जलाधारक्षेत्र, चुरेकाछ बस्ती, उच्च पाहाडि शृङ्खला, ऐतिहासिक पुरातात्विक महत्वका ठाउँ , वन्यजन्तु र पक्षी, जडिबुटी र विशेष वनष्पतिबारे उल्लेख छ । चुरे क्षेत्रका ३४ ठाउँबारे परिचय, महत्व र विभिन्न सम्भावनाबारे उल्लेख गरिएको प्रतिवेदन पर्यटन प्रबद्र्धनका क्षेत्रमा महोत्तरीका लागि पछिसम्म एउटा दस्तावेज रहने पदयात्रामा सहभागी बर्दिबास नगर पत्रकार सञ्जालका सचिब विशाल बस्नेतले बताउनुभयो ।
प्रतिवेदनमा दुर्लभ गिद्ध पक्षीको बासस्थान , अति प्राचीन धार्मिकक्षेत्र राइमण्डलधाम, सुन्तला तथा जुनार फल्ने लेकाली हावापानीको चनौटेडाँडा, जडिबुटीको भण्डार सोलीघोप्टेडाँडा, हिमालदेखि तराईका समतल फाँटसम्म अवलोकन गर्न सकिने बेसारेडाँडा, धार्मिकस्थल टुटेश्वरधाम र पञ्चधुरा माईस्थानसहितका ३४ ठाउँको प्रतिवेदनमा परिचयात्मक वणर्न छ । यो प्रतिवेदनले यहाँका पर्यटकीय सम्भावनाका ठाउँबारे अध्ययन गर्न , यी ठाउँबारे योजना बनाउन र ठाउँको महत्वबारे जानकारी राख्न सहयोग पुग्ने बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका संयोजक हिरालाल गौतमको धारणा छ ।

“प्रतिवेदन सरसर्ति हेरिदै निकै उपयोगी लाग्यो” प्रतिवेदन ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिकृया दिदै गौतमले भन्नुभयो, “यसले लामो कालखण्डसम्म पर्यटन प्रबद्र्धनका क्षेत्रमा हामीलाई मार्गदर्शन गरीरहन्छ भन्ने लागेको छ ।” यसैगरी प्रतिवेदनबारे बर्दिबास नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले यो प्रतिवेदन खासगरी बर्दिबास नगरको पर्यटन प्रबद्र्धनका क्षेत्रमा मार्गचित्रका रुपमा रहने प्रतिकृया दिनुभयो ।
प्रतिवेदनबारे नगर कार्यपालिकाको बैठकमा सामुहिक छलफलपछि स्थानीय रुपमा गर्नसकिने सम्भावनाका ठाउँ र प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउन पर्ने ठाउँ छुट्याएर तदनुरुप अघि बढिने बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्रीको भनाइ छ ।
सामाजिक सङ्घसंस्थाहरुले करिब छ महिना लगाएर पैदल यात्राका क्रममा देखिएका विशेष ठाउँबारे प्रतिवेदन नै बनाएर सम्बद्धपक्षको ध्यानाकर्षण गराउनुले राम्रो थीतिको थालनी हुने विश्वास जागेको बर्दिबासका नागरिक समाजका प्रतिनिधिको प्रतिकृया छ । “यो राम्रो काम भयो, अन्य सामाजिक सङ्घसंस्थाले पनि यसको अनुशरण गरुन्” बर्दिबास उद्योग वाणिज्य सङ्घ र रोटरी क्लव अफ बर्दिबासका पूर्वअध्यक्ष सुरेशबहादुर राउत भन्नुहुन्छ, “तीनै तहका सरकार प्रतिवेदनबारे गम्भीर हउन् र परिणाममुखी काममा लागुन् ।”

-श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
नेपाल सरकार ।
-श्री उद्योग , वाणिज्य तथा पर्यटन मन्त्रालय ,
मधेश प्रदेश सरकार, जनकपुरधाम ।
-श्री बर्दिबास नगर कार्यपालिकाको कार्यालय,
बर्दिबास, महोत्तरी ।
-श्री अध्यक्ष , संस्कृति तथा पर्यटन प्रबद्र्धन समिति
बर्दिबास नगरपालिका, महोत्तरी ।

विषयः- पर्यटन प्रबद्र्धनका लागि ध्यानाकर्षण ।

हामी तपसिलका हस्ताक्षरकर्ता सामाजिक सङ्घ संस्थाका प्रतिनिधिले बर्दिबास उद्योग वाणिज्य सङ्घको संयोजन तथा समन्वयमा महोत्तरी जिल्लाको बर्दिबास नगरक्षेत्रका पर्यटकीय सम्भावनाका ठाउँको खोजी र तिनको परिचय विस्तारको उद्देश्यसाथ पदमार्ग यात्रा गरिएको सहर्ष जानकारी गराउँछौं । २०८० को पुस महिनादेखि २०८१ जेठ मसान्तसम्म गरिएको पदमार्ग यात्राका क्रममा हामीले ठम्याएका ठाउँ र तिनको पर्यटकीय सम्भावनाबारे परिचयात्मक विवरण तयार गरी नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र बर्दिबास नगर कार्यपालिकाको कार्यालयसमक्ष पेस गरेका छौं ।
तीनै तहका सरकारको यिनमा चासो हुनसके यी ठाउँ मुलुककै पर्यटन प्रबद्र्धनका क्षेत्रमा नमुना बन्ने हाम्रो विश्वास छ । यसै विश्वाससाथ यी ठाउँबारे सकारात्मक चासो बढाउन हामीले यो प्रतिवेदनका रुपमा ध्यानाकर्षण गराएका हौं । तीनै तहका सरकारबीच आपसी समन्वय हुन सकोस् भन्ने हाम्रो अपेक्षासहित यी ठाउँबारे प्रारम्भिक परिचय पस्केका छौं ।

++बर्दिबास—१
०१ —रातुठाकुर मोक्षधामः- महोत्तरी/धनुषाको सीमा छुट्याउने पूर्वपश्चिम राजमार्गको रातु पुल मास्तिर पश्चिमतर्फ निर्मित यो धाम मृत्युपछिको अन्तिम सदगतका लागि हो । यहाँ राजमार्गदेखि नै कलात्मक द्वार बनेका छन् । धाम परिसरभित्रै मोक्षेश्वर महादेव मन्दिर र रातुठाकुरका मन्दिर छन् । परिसर प्रवेश गर्नासाथ अध्यात्मिक परिवेशले जोसुकैलाई आफन्तको वियोगमा चित्त शान्तिमा सघाउ पुर्‍याएको भान हुन्छ । मोक्षधाममा यथासक्य सतगत गर्न सहज व्यवस्थापन मिलाउँदै लगिएको देखिन्छ । दाउरा भण्डारण, मलामी विश्रामकक्ष, खानेपानी र चिता पखाल्ने पानीको व्यवस्था र अहिलेसममको सरसफाई सन्तोसप्रद छन् । धाम क्षेत्रमा अझै सौन्दर्यीकरणको काम गर्नसकिए यहाँ टाढाटाढाका पर्यटक अवलोकनकै लागि पनि आउने सम्भावना देखिन्छ ।

०२— दुर्गामन्दिरः

बर्दिबास-१ पानीखोल्सी वनक्षेत्रको छेउमै पाहाडि थुम्कोमा निर्मित दुर्गा मन्दिर अहिले आकर्षणको केन्द्र बनेको छ । मन्दिर परिसरबाट वनक्षेत्रमा मयूर पक्षीको नाच र अन्य चराचुरुङ्गीको कलरव देख्ने, सुन्नेका लागि अत्यन्त मनमोहक बन्छ । मन्दिर परिसर थुम्कोमा हुँदा वनका कन्दराका लताकुञ्ज परैबाट देखिन्छन् । मन्दिर परिसरमा चारैतिर पर्खाल लगाएर ससाना टावर चारै सुरमा लगाइन पर्ने यहाँ पुगेका दर्शनार्थी भक्तजनको सुझाव हुने गरेको छ ।

०३ —पितृ मोक्षालय पानीखोल्सीः –

बिपी राजमार्गको बर्दिबास-१ मा पर्ने पानीखोल्सी वनक्षेत्रभित्रको खोल्सी ओरपर दिवङ्गत आफन्तको परम्परागत कृया गर्न यहाँ आवश्यक भौतिक पूर्वाधार कति तयार भएका छन् , कति निर्माण गर्नु पर्नेछ । प्रारम्भिक चरणका कृयापुत्री घर, कृयास्थल , खाना पकाउने ठाउँ, पिण्ड सेलाउने ठाउँ, यात्रु विश्रामकक्ष र पानीका धारा र कुवा यहाँ तयार छन् । पछिल्ला केही वर्षयता यो ठाउँ सहरको गञ्जागोल, इष्टमित्र बस्न ठाउँको अभाव र एकान्त ठाउँमा गर्नपर्ने कृयाका लागि रोजा ठाउँ बनेको छ । यहाँ पारम्परिक कृयादि कर्म गर्न मात्र नभइ अब घुमफिर र विश्रामका लागि पनि सर्वसाधारण पुग्ने गरेका छन् । यस ठाउँमा थप पूर्वाधारको आवश्यकता देखिन्छ । स्थानीय सरकारले पहलकदमी लेओस् ।

०४-रातु मित्रपार्क (उद्यान)ः— बर्दिबास नगरपालिकाको वडानम्बर १ र १४ मा रातु मित्र पार्क निर्माण थालिएको छ । पूर्वपश्चिम राजमार्गको रातु पुल मुनिको पश्चिमी तटबन्धसँगै जोडेर निर्माण थालिएको रातु मित्र पार्क परिसरमा अहिले तीन वर्ष पहिले रोपिएका विभिन्न जातका बिरुवा बढ्दैछन् । पुगनपुग करिब पाँच हेक्टर क्षेत्रफलमा यो उद्यान क्षेत्र फैलिएको छ । यहाँ घेराबेरा गरिएको छ । रातुपुल मुनि पश्चिमी तटबन्ध र बर्दिबास-रौजा-जलेश्वर सडकको माझको नदीउकास गेगर्‍यानमा तीन वर्ष पहिले रोटरी क्लव बर्दिबासले रातु मित्रपार्कको काम सुरु गरेको हो । मधेश प्रदेश सरकारको सहयोग पनि पाएको यो उद्यानमा पानीको कमीले केही बिरुवा मरे पनि अधिकांश सरेका छन् । यो उद्यानले पश्चिमी तटबन्धलाई माटो खस्कनबाट रोकेर संरक्षण गर्नसँगै मनोरम सौन्दर्य दिएको छ । राजमार्ग र रातुपुलसँगै रहेको हुँदा यो सबैको आँखामा पर्ने र यातायातको सहजता भएको ठाउँ छ । यहाँ उद्यानका लागि काम प्रारम्भ भएपनि थप संरचना भने बन्न सकेका छैनन् । रातु पूर्वको धनुषाको लालगढ र पश्चिमको बर्दिबासका बासिन्दाको यो साझा घुमफिरको ठाउँ रहँदै आएको छ । यस पार्कमा सौन्दर्यीकरणका थप काम बढाइएर बिरुवाको समुचित देखभाल (संरक्षण) गर्न सकिए यो पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिन्छ ।

++बर्दिबास—२
०५—बर्दिबास रङ्गशालाः—बर्दिबास-२ स्थित रङ्गशाला सम्पूणर् बर्दिबास नगरबासीको गौरववोधको ठाउँ हो । पूर्वपश्चिम रेलमार्गको भब्सी पुलदेखि दक्षिण भब्सी नदी पूर्वको मैदान अहिले रङ्गशाला छ । बर्दिबासका विभिन्न विधाका खेलाडि स्रोत, साधनबिना नै आफ्नो क्षेत्रमा श्रेष्टता हासिल गर्न लागीपरेका देखिन्छन् । अन्य स्रोतसाधनको कुरा थाति राख्दा पनि व्यवस्थित खेलमैदान र विभिन्न विधाका लागि ठाउँको आवश्यक पूर्वाधार खेलका लागि प्रारम्भिक कुरा हुन् । ठाउँ भएर पनि व्यवस्थित रङ्गशाला नहुँदा खेलाडिले सामान्य अभ्यास गर्नपनि अप्ठ्यारो झेलेका छन् । यो रङ्गशालालाई खेलका विभिन्न विधाका लागि उपयुक्त अभ्यासस्थल बनाउन आवश्यक पूर्वाधारबारे प्रथमतः स्थानीय सरकारको सकारात्मक पहलकदमी आवश्यक छ । यस दिशामा प्रदेश र सङ्घीय सरकारसँग पनि आवश्यक समन्वयको पहलकदमी स्थानीयतहले नै लिन पर्दछ ।

०६—सी आशा फाउण्डेसनः- सी आशा फाउण्डेसन अपाङ्गता भएका हरुको शिक्षा, स्वास्थ्य, भौतिक र बौद्धिक विकाससँगै वृति विकासप्रति समर्पित संस्था हो । यो संस्थामार्फत विद्यालय सञ्चालनका लागि बर्दिबास-२ स्थित रङ्गशालाभन्दा दक्षिणको जग्गा व्यवस्थापन भएको छ । यस ठाउँमा पूर्वाधार विकासका केही काम पनि सुरु भएका छन् । यद्यपि यसले अझै ठोस आकार लिन सकेको छैन । यहाँ अपाङ्गता भएका हरुको शिक्षादीक्षा र आवश्यक तालिमका लागि चाहिने पूर्वाधारका लागि सम्बद्धपक्षको पहलकदमी अपेक्षित छ ।
++बर्दिबास—३

०७—पाषाणकालीन हतियार कारखाना ः- चुरे पाहाडि शृङ्खलामा अवस्थित बर्दिबास-३ पाटुमा पाषाणकालीन ढुङ्गे हतियारको कारखाना रहेको तथ्य पुष्टि भएपनि यो ठाउँको रणनीतिक महत्व र यसको चिनारीमा काम भएको छैन । बर्दिबासचोकबाट करिब पाँच किलोमीटर उत्तरमा बिपी राजमार्गको पश्चिमतर्फको रातमाटेडाँडा नै करिब १० हजार वर्ष पहिलेको हतियार कारखाना रहेको ठाउँ मानिएको छ । यसबारे जर्मन अन्वेषक श्री गुडन कर्विनले प्रसस्त अध्ययन गर्नुभएको छ । यस ठाउँका पाषणकालीन हतियारका अवशेषबारे पुरातत्व विभागले पनि अन्वेषण गरेको देखिन्छ । अहिले पनि पुरातत्व विभागमा यिसम्बद्ध पुष्ट्याइँ छन् । यसैगरी बर्दिबास-३ पाटु , राइमण्डललगायतका ठाउँमा पनि हतियार कारखाना रहेको कतिपय विद्वानले बताएका छन् । यति धेरै महत्वको ठाउँ भएर पनि यसबारे सरकारी तवरबाट खोजखबर भएको छैन । अब यसबारे खोजखबर गरिन पहलकदमी बढोस् भन्ने अनुरोध गर्दछौ । यो ठाउँले मुलुककै महत्वपूणर् पर्यटकीय स्थलका रुपमा विकास गराउन सकिने प्रचुर सम्भावना बोकेको छ । यो ठाउँ अध्ययन, अन्वेषण र इतिहासमा रुची राख्नेहरुको आकर्षण बन्ने देखिन्छ ।

०८—गिद्धबास ः— अहिले मुलुकभरि नै गिद्ध पक्षी लोपोन्मुख अवस्थामा छ । यसैबीच हाम्रो पदमार्ग यात्राका क्रममा बर्दिबास-३ को उच्च चुरे शृङ्खलाको टारमा गिद्ध बसोबासको स्थल हामीले भेट्टायौं । बिपी राजमार्गको पाटुचोक नजिकबाट करिब चार किलोमीटर वनक्षेत्र छिचोल्दै पुगिने भब्सी, राइमण्डलमाथि डाँडामा अहिले सयौं सङ्ख्यामा गिद्ध देखिन्छन् ।

यी गिद्धको संरक्षणमा तीनै तहका सरकारको चासो आवश्यक हुने हाम्रो ठहर छ । यसमा मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाले नेपाल सरकारका सम्बद्ध निकायसँग पनि आवश्यक समन्वय गर्न वाञ्छनीय नै हुन्छ । पाटुदेखि गिद्ध बासस्थानको डाँडासम्म पदमार्गका लागि गोरेटो बाटो बनाउन सकिए पैदलमार्गी पर्यटकका लागि यो रोजाइको ठाउँ बन्नसक्छ । यस पदमार्गमा वनक्षेत्रका असङ्ख्य लताकुञ्ज, चराचुरुङ्गीको कलरव र वनको शीतल छहारीले पर्यटक यस ठाउँको भ्रमणका लागि लोभिने छन् । योसँगै गिद्धबास डाँडाको फेदीमा गिद्धको भोजन सामग्रीको व्यवस्थापन गर्न सकिए गिद्धका लागि यो अत्यन्त मनपर्ने ‘रेष्टुरेन्ट’ बन्नेछ । यसले गिद्धको बसाइ लम्ब्याउनसँगै वंशवृद्धिमा सहयोग पुग्ने र यो ठाउँ पर्यटकको आकर्षणमा पर्नसक्ने हामीले ठानेका छौं ।

०९-कालापानी पार्क (उद्यान)ः—

बर्दिबास-३ कै कालापानी उद्यानक्षेत्रमा अहिलेपनि खास पर्वमा वनभोज खानेहरुको लर्को लाग्छ । बर्दिबासचोकबाट बिपी राजमार्गतर्फ करिब १३ किलोमीटर छिचोलेपछि रातु किनार अवस्थित यो ठाउँ निकै मनोरम छ । यस ठाउँको विकासमा बर्दिबास नगरपालिकाले प्रारम्भिक पहलकदमी लिएको पनि छ । यद्यपि ठाउँअनुसार यहाँ गर्नपर्ने काम धेरै छन् । तसर्थ यसठाउँलाई पर्यटकको रोजाइमा पार्न योजनाबद्ध कामको आवश्यकता छ । यस कार्यमा तीनैतहका सरकारबीच समन्वय होस् भन्ने हामी चाहान्छौं ।

१०—कारेगँगटे ः—बिपी राजमार्गमै बर्दिबासचोकबाट करिब आठ किलोमीटर उत्तर कारे र गँगटे दुई खोल्साबीचको वनक्षेत्र मधेशकै मुख्य ‘पिकनिकस्पट’ रहँदै आएको छ । दुबै खोल्सा रातु नदीमा मिसिने यो ठाउँलाई बोलिचालीमा कारेगँगटे भन्ने गरिएको छ । वनभोजका लागि रोजाइको ठाउँ रहँदै आएपनि यहाँ कुनै पूर्वाधार निर्माणबारे सरकारको चासो पुगेको छैन । वनभोजलाई अझ व्यवस्थित बनाउन योजनाबद्ध काम थालिए यो ठाउँ मुख्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नसक्छ ।

११—योगभवन ः— बर्दिबास-३ गौरीडाँडाको शिरमा सानो पाहाडि थुम्कोमा योगभवन निर्माण भएको छ । बिपी राजमार्गको छेउकै यो पाहाडि थुम्को ओरीपरीका वृक्ष र लताकुञ्जले मनोरम हुँदा योग साधनाका लागि उत्तम ठाउँ बनेको छ । यस ठाउँको योजनाबद्ध विकास हुनसके योगसाधना र अभ्यासका लागि टाढाटाढाका पर्यटकको रोजाइमा पर्नसक्छ ।

१२—राईमण्डलधाम ः—बर्दिबास-३ भब्सी शिरानको राइमण्डलधाम फराकिलो फाँट परेको मनोरमस्थल हो । अघि सत्ययुगमा दानवसँगको युद्धबाट आजित भएका स्वर्गका राजा इन्द्रले तपस्या गरेका ठाउँको रुपमा यो ठाउँ पूज्य छ । यहाँ इन्द्रेश्वर महादेव मन्दिर र परेवापाखा मुख्य आकर्षण छन् । सामान्यतया घरआँगनमा खोपमा बस्ने परेवा पक्षी यहाँ भिरमा गुँड खोपेर बसेका देखिन्छ । परम्परागत शैलीको ग्रामीण जनजीवनको यो ठाउँ अहिले तरकारी र फलपूmल उत्पादनको पकेटक्षेत्रको रुपमा विकास गर्दैछ । बर्दिबाचोकबाट यहाँ पुग्न दुईवटा सडक चलनचल्तीमा छन् । बिपी राजमार्गको पाटुचोकबाट तीन किलोमीटर पश्चिम यो ठाउँ पर्छ । यसैगरी बर्दिबासचोकबाट उत्तर देउराली माध्यमिक विद्यालयको छेउ हुँदै वनपाखा छेउको सडकबाट छ किलोमीटर छिचोलेर पनि यो ठाउँ पुग्न सकिन्छ । यस ठाउँको विकासमा अहिलेसम्म योजनाबद्ध चासो लिइएको छैन । अत्यन्त पुरानो धार्मिक आस्था बोकेको यो ठाउँको विकासमा पहलकदमी अपेक्षित छ ।

१३—पाटु पोखरीः—बर्दिबास-३ पाटुस्थित पाटुपोखरी पानी पुनर्भरण र सिँचाइ प्रयोजनको अत्यन्त महत्वपूणर् सम्पदा हो । यसको मर्मत, सम्भार, संरक्षण र उपयोग नीति अवलम्वन गरिन आवश्यक पहलकदमी लिइयोस् । यस पोखरीको संरक्षण गरिदा पानी पुनर्भरणमा सहयोग पुग्ने देखिन्छ । यसैगरी मयुरसहितका पक्षी र अन्य वन्यजन्तुका लागि पनि पोखरीको पानी उपयोगी हुनेछ । यो पोखरीको कुशल व्यवस्थापन हुनसके पर्यटकको घुमफिरको ठाउँ बन्नसक्ने अपेक्षा लिन सकिन्छ ।

१४—रातमाटाः- बर्दिबास मुख्यचोक उत्तरतिर वडानम्बर-३ मा रातमाटाक्षेत्र छ । संरक्षणको अभावमा यो ठाउँ बर्सेनि नाङ्गिदै गएको छ । एक समय सघन वनक्षेत्रको यो ठाउँमा माटो परीक्षण गरेर यस ठाउँमा चाँडै हुर्कने र वातावरणीय दृष्टिले उपयुक्त बिरुवा रोपण गर्न आवश्यक देखिन्छ । साथै यसक्षेत्रको रातो माटोलाई पनि विधि र निश्चित प्रकृया बाँधेर संस्थागत आर्जनको स्रोत बनाउन सकिन्छ । यसबारे सम्बद्धपक्षको ध्यानाकर्षण होस् ।

१५—चराको बासस्थान पाटुडाँडाको सिमलको रुखः—पर्यटन र पर्यावरणमा ससाना विषयले पनि निकै महत्व राख्छन् । यस्तै बर्दिबास-३ को पाटुडाँडास्थित पुरानो सिमलको रुख छ । करिब १०० वर्ष भन्दा बढीको यो रुख पाटुडाँडामा सबैको अभिभावकजस्तो बनेर ठिङ्ग छ । यस रुखमा विभिन्न प्रजातिका दुर्लभ चरा बस्दै आएका छन् । चराचुरुङ्गी र विभिन्न वनष्पतिको अध्ययन/अन्वेषण गर्नेहरुका लागि यो उपयुक्तस्थल बन्नसक्छ । यस सिमलको रुखमा मालकन्या माता (देवी) बास गरेकी विश्वास गरिन्छ । यहाँ देवीको नियमित पूजाअर्चना हुनसँगै चण्डी पूणर्िका दिन हिन्दू र बौद्ध धर्मावलम्बीले विशेष पूजाअर्चना गर्दै आएका छन् । यस रुखमा बर्खालगत्तै पछि विभिन्न प्रजातिका चरा वंश वृद्धिका लागि आउने गरेका पाइएको छ । यिनले यहाँ शरद ऋृतुमा गुँड बनाउने, फुल (अण्डा) पार्ने र बच्चा कोरलेर हुर्काएपछि हेमन्त ऋतुको अन्त्यतिर मूल बासस्थानतिर प्रस्थान गर्ने गरेका छन् । यो ठाउँलाई संरक्षण गरिन आवश्यक पहलकदमी लिन स्थानीयतहको पहलकदमी अपेक्षित छ ।

१६-भूगर्भ अध्ययनका लागि गन्तव्यः—बर्दिबास-१ कोे मुख्यचोक मास्तिरका गौरीडाँडासहितका पाहाडि शृङ्खला र थुम्काहरु सन् १२५५ को ठूलो भूकम्पको असरले १० मीटर अग्लिएका भूगर्भविद्हरुले पुष्टि गरेका छन् । धार्मिकक्षेत्र राइमण्डलसहितका यी पाहाडि शृङ्खला र थुम्का भूगर्भशास्त्रको अध्ययन गर्नेहरुका लागि छनौटको ठाउँ बन्नसक्छ । यी ठाउँलाई ‘जियो पार्क’का रुपमा विकास गराउन सकिए मुलुकका मात्र नभएर विदेशका अध्येता र अन्वेषकका लागि पनि रोजाइको ठाउँ बन्नसक्ने सम्भावना देखिन्छ । यहाँ हरिण, मृग, दुम्सी, खरायोलगायतका वन्यजन्तु देखिने गरेका छन् । यिनको संरक्षण गर्दै वन्यजन्तु बढाउन पहलकदमी लिन आवश्यक छ ।

++बर्दिबास—४
१७—सोलीघोप्टेडाँडाः—बर्दिबास-४ को वरडाँडा छिचोलेर उक्लिएपछि चुरे शृङ्खलाको सोलीघोप्टेडाँडा पुगिन्छ । पाटुतर्फबाट गिद्धबासका लागि गरिने पदमार्ग भएर पनि यो डाँडामा पुग्न सकिन्छ । सघन वनक्षेत्रको यो डाँडा प्राकृतिक जडिबुटीको भण्डार मानिन्छ । आयुर्वेद उपचार पद्धतिमा ‘रामवाण’ भनिने/मानिने अधिकांश जडिबुटी यहाँ रहेका छन् । चुरे पर्वत शृङ्खलाका पाखा बस्ती र चुरेकाछबासीको अस्पताल यसै डाँडाका जडिबुटी हुन् । पर्यटकका लागि पदमार्ग र जडिबुटीको संस्थागत खेती, संरक्षण र उपयोग नीति बनाउनसके यो ठाउँ आर्जनका दृष्टिले उम्दा बन्ने देखिन्छ ।

१८—पञ्चधुरा माई मन्दिरः-पूर्वपश्चिम राजमार्गबाट दुई किलोमीटर उत्तर बर्दिबास-४ अवस्थित पञ्चधुरा माईमन्दिर यस भेग (मधेश) कै धार्मिक आस्थाको केन्द्र हो । यहाँ देवी पञ्चधुरा माईको मन्दिर छ । हिन्दू परम्परामा देवीलाई आदिशक्ति मानिदै आइएको छ । यहाँ टाढाटाढादेखि श्रद्धालु देवीको पूजाआराधनाका लागि पुग्छन् । दिनहुँजसो यहाँ विवाह, व्रतबन्ध, छेवर र अन्नप्रासनसहितका षोेडष कर्मसँग सम्बन्धित समारोह आयोजना भइरहेका देखिन्छन् । यसबाहेक नयाँ यान्त्रिक उपकरण वा सवारी साधन केही किनिदा यहाँ तिनको पूजनका लागि पुग्नेहरुको भीड नै लाग्छ । देवीकै नाउँबाट यहाँको बस्तीको नाउँ नै माइस्थान बनेको छ । मन्दिरको आठ बिघाभन्दा बढी जग्गा छ । भक्तजनको बाक्लो ओहोरदोहोरले मन्दिरमा प्रसस्त भेटी चढेपनि कुशल व्यवस्थापन हुन नसक्दा ठाउँको विकासमा कुनै ठोस काम भएको देखिन्न । यहाँको जग्गा र अन्य भौतिक संरचनाको योजनाबद्ध खाका बनाएर काम हुनसक्दा यो धार्मिक पर्यटनका दृष्टिले प्रचुर सम्भावना बोकेको ठाउँ छ । यो मन्दिरलाई पनि टुटेश्वरनाथजस्तै ट्रष्ट व्यवस्थापनमा लान पर्ने सुझाव पाइएका छन् । यसको विकासमा योजनाबद्ध कामको रुपरेखा कोरिन आवश्यक छ ।

++बर्दिबास—५
१९—बेसारेडाँडाः- बर्दिबास-५ को चुरे पाहाडि शृङ्खलाको डाँडा हो । चुरेका उच्च शृङ्खलामध्येमै पर्ने यो ठाउँ पदमार्गी पर्यटकका लागि विकास गर्न सकिने देखिन्छ । बेसारेडाँडाबाट उत्तरतर्फ महाभारत र हिमाली शृङ्खलाको र दक्षिणतर्फ तराईको उर्वरफाँटको अवलोकन गर्न सकिन्छ । यो ठाउँ अध्यात्मिक जागरणका दृष्टिले उर्वर मानिन्छ । जीवनमा दुःख र आपद पर्दा मान्छे यहाँ पुगेर मन बुझाउने गर्छन् । भनिन्छ, यो ठाउँको माटोको सुगन्धले मान्छेलाई निरन्तर सत्कर्ममा लागी रहन प्रेरित गर्छ । बर्दिबास नगरपालिकाकाको वडानम्बर-३ पाटुफेदीबाट पाहाडि शृङ्खलाको अवलोकन गरिने पदमार्गमा गिद्धबास, सोलीघोप्टेडाँडा, बेसारेडाँडाहुँदै चनौटेडाँडासम्मको खाका कोर्न सकिए पर्यटकका आँखामा यी ठाउँ पार्न सकिन्छ । पदमार्गक्षेत्रका ठाउँठाउँमा खाना, खाजा, चिया र आबासका निश्चित ठाउँ तोकिए होमस्टे सञ्चालनको सम्भावना पनि बढ्छ । यस क्षेत्रमा सम्बद्धपक्षको ध्यान पुग्न आवश्यक छ ।

२०—शिरखोला तथा गुप्तेश्वर महादेव मन्दिर—बर्दिबास-५ को चेरु र जोडिएका बस्तीका लागि शिरखोला जीवन मानिन्छ । यही खोलाको पानीले चेरुका फाँटमा लहलह धानका बाला झुलेका हुन् । यसैगरी विभिन्न बालीको सिँचाइका लागि यहाँका बासिन्दा शिरखोलामै आश्रित छन् । शिरखोला पछिल्ला केही वर्षयता सुक्दै गएको छ । यहीं नै चुरे शृङ्खलाका फेदीमा गुप्तेश्वर महादेवको मन्दिर छ । शिरखोला, यस ओरपरका बस्ती र यहाँका वन्यजन्तु श्री गुप्तेश्वर महादेव संरक्षित रहेका विश्वास गरिन्छ । यसैगरी गुप्तेश्वर महादेव मन्दिरबाट तीन किलोमीटर उत्तरको शिरखोला वनक्षेत्रमा चुरेक्षेत्रमा दुर्लभ मानिने चिउरी र अन्य कुरिलो, चिलाउने, पलास, मलातो र उत्तिससहितका वनष्पति र अन्य जडिबुटीको भण्डार छ । यसको व्यवसायिक खेती विकास गर्नसके संस्थागत आयआर्जन बढ्ने अपेक्षा गरिन्छ ।

२१—टुटेश्वरनाथ महादेव मन्दिरः- बर्दिबास-५ मा चुरे शृङ्खलाको पाहाडि थुम्कोअवस्थित श्री टुटेश्वरनाथ महादेव मन्दिर मधेशकै मुख्य धार्मिकस्थलमा गनिन्छ । पूर्वपश्चिम राजमार्गबाट सात किलोमीटर वनक्षेत्र छिचोलेर पुगिने यो धार्मिकस्थल प्राचीन भएको हुँदा यससँग जोडिएका निकै किम्बदन्ती छन् । राजमार्गबाट वनक्षेत्र छिचोल्दै पाहाडि थुम्कोमा पुग्दा आम श्रद्धालुले विशिष्ट ठाउँमा पुगेको अनुभूति गर्छन् । श्री टुटेश्वरनाथको प्रसिद्धिले मन्दिर रहेको बस्तीको नाउँ नै टुटेश्वर बनेको छ । यहाँ साउन महिना र महाशिवरात्रीमा लाखौं श्रद्धालु पुग्ने गरेका छन् । तर मन्दिर सञ्चालन, भेटी संरक्षण तथा व्यवस्थापन र यसको सौन्दर्यीकरणका क्षेत्रमा आशलाग्दा काम हुन सकेका छैनन् । श्री टुटेश्वरनाथलाई ट्रष्टमा व्यवस्थित गर्नसके यो सिङ्गो मधेश प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य बन्ने सम्भावना स्पष्ट झल्किन्छ । यस दिशामा सम्बद्धपक्षले ठोस पहलकदमी लिन आवश्यक छ ।

++बर्दिबास-६
२२- नमुना कृषि गाउँ (मोडल एग्रो भिलेज)ः-बर्दिबास नगरपालिकाले विक्रम सम्वत् २०७६ सालमा सुरु गरेको अत्यन्त महत्वाकांक्षी आयोजना हो, मोडल एग्रो भिलेज । बर्दिबास कृषि कार्यक्रमअन्तर्गत सुरु गरिएको यो आयोजनाको त्यतिखेरको लागत अनुमान एक अर्ब आठ करोड प्रस्तावित छ । अत्याधुनिक कृषि प्रणालीप्रति समर्पित भनिएको यो आयोजना बर्दिबास-६ को रातु नदीउकास क्षेत्रको ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । प्रारम्भमै सो आयोजनास्थलभित्र तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डार (कोल्डस्टोर) निर्माणको काम थालिएपनि २०७९ यता यस ठाउँमा नयाँ काम थपिएका छैनन् भने पहिले थालिएका कामपनि बेवारिसजस्तै बनेका छन् । आयोजनाका सेवा प्रदायक र व्यावसायिक गरी दुई क्षेत्रमा काम गरिने बताइएको थियो । किसानले उन्नत बीउविजन, प्रविधिलगायतका सेवा पाउने र व्यावसायिक क्षेत्रमा भित्रिने नयाँनयाँ कृषि प्रविधिबारे किसानले अवलोकन गर्ने र सिक्ने लक्ष बोकेको यो आयोजना अहिले व्यवसायिककक्षमा गरिएका प्रयत्नको अवलोकनमा सिमित छ । यसको स्थापना गरिने उद्देश्यअनुसार काम अघि बढेको भए मुलुककै नमुना ठाउँ बनीसकेको हुने विज्ञहरुको भनाइ छ । अहिले पनि प्रस्तावित उद्देश्यअनुसारका काम अघि बढे यो उपलब्धीका दृष्टिले मात्र नभइ अनुकरणका लागि पनि नमुना हुनसक्छ । यति धेरै महत्वको यो आयोजना २०७९ यता स्थानीयतहको प्राथमिकतामा पर्न नसक्दा बेवारिस बनेको छ । यो अवस्था अन्त्य गरी यसमा प्रस्तावित काम अघि बढाउन मुख्यतः बर्दिबास नगर नेतृत्वले अग्रसरता लेओस् भन्ने अपेक्षा गरिन्छ ।

++बर्दिबास-१०
२३—रक्तकाली देवी शक्तिपिठ र चन्देश्वर महादेवः—चुरे पाहाडि शृङ्खला, यसभित्रका फाँटहरु, सघन वनक्षेत्र र काछबस्ती पुरातात्विक महत्वका छन् । यी ठाउँसँग धार्मिक, साँस्कृतिक र पौराणिक मान्यता जोडिएका छन् । चुरे क्षेत्रकै बर्दिबास-१० को दमार भञ्ज्याङ् सामुदायिक वनभित्र प्राचीन शिवलिङ्ग र देवी शक्तिपिठ फेला परेका छन् । स्थानीय (दमार क्षेत्रबासी) ले शिवलिङ्गलाई चन्देश्वरनाथ महादेव र देवीलाई रक्तकाली नामकरण गरेका छन् । यस ठाउँमा कच्ची सडक भर्खरै पुगेको छ । यद्यपि बर्खाकालमा यो बाटो हिंड्न निकै अप्ठ्यारो हुने देखिन्छ । वनक्षेत्रभित्रका यी ठाउँबारे चासो र चर्चा बढ्नसके धार्मिक पर्यटनको विकास हुनसक्ने सम्भावना छ ।

++बर्दिबास-११
२४— निर्मल लामा बहुप्राविधिक शिक्षालयः-बर्दिबास-११ खयरमाराको सुन्दरबस्तीमा स्थापित निर्मल लामा बहुप्राविधिक शिक्षालय अहिले मुलुककै प्राविधिक धारको पठनपाठन र अभ्यासको मुख्य गन्तव्य बनेको छ । प्राविधिक धारका आठ विषयको पठनपाठन र अभ्यास हुने यो शिक्षालय भौतिक पूर्वाधारका दृष्टिले पनि क्रमशः उम्दा बन्दैछ । यहाँ दक्षिण कोरियाली सरकारको सहयोगमा आबास, अभ्यास र सैद्धान्तिक अध्ययनकक्ष निर्माण गरिएका छन् । चुरे पाहाडि शृङ्खलाको दक्षिण फेदी अवस्थित यो शिक्षालय खयरमारा खोलाको किनारमै छ । शिक्षालयबाट उत्तर लागेपछि पाहाडि जनजीवनको झल्को दिने बस्ती छन् । शिक्षालयमा मुलुकका ४० भन्दा बढी जिल्लाका शिक्षार्थी अध्ययन र अभ्यासमा छन् । यो ठाउँ शिक्षाको कोणबाट मधेशकै महत्वपूणर् बनेको छ । बर्दिबास नगरको आँखाबाट हेरिदा यसलाई शैक्षिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना छन् । यहाँको पठनपाठन र अभ्यास एबं यहाँबाट खास योग्यता हासिल गरेका हरुले आआफ्ना क्षेत्रमा विशिष्ट स्थान बनाएका छन् । यहाँ शैक्षिक पर्यटन विकासमा थप काम गर्नसकिने क्षेत्रबारे पहलकदमी लिन सकिन्छ । चुरे शृङ्खलाको काख अवस्थित यो शिक्षालय अवलोकनलाई चनौटेडाँडासँग जोड्नसके पर्यटकको बसाइ र यो ठाउँको आय आर्जनमा थप मद्दत पुग्ने हाम्रो विश्वास छ ।

२५—चनौटेडाँडाः-बर्दिबास-११ मा पर्ने यो डाँडा चुरे पर्वत श्रेणिका उच्च शृङ्खलामध्येको हो । बर्दिबासचोकबाट करिब ३० किलोमीटर दुरीअवस्थित यो ठाउँ पूरै लेकाली वातावरणको छ । मधेशमा सुन्तला, जुनार फलेको हेर्न यो ठाउँ पुग्दा पाइन्छ । मधेश प्रदेशमा यो लेकाली हावापानी दुर्लभ हो । बर्दिबास-११ को खयरमारा शिरानबाट करिब पाँच किलोमीटर पैदल यात्रा गरेपछि पुगिने यो ठाउँ दृश्यावलोकनको दृष्टिले मनमोहक छ । यहाँबाट महाभारत र हिमाली शृङ्खला पल्लो डाँडा जसरी देखिन्छन् भने भारतीय सीमासम्मकै तराईका समतल मैदान अवलोकन गर्न सकिन्छ । पाहाडी जनजीवन हेर्न र लेकाली हावापानीमा रम्न मधेश र छिमेकी मित्रराष्ट्र भारतको बिहारसम्मका पर्यटक यहाँ पुग्नसक्छन् । यस ठाउँबारे संस्थागत प्रचारप्रसार पनि भएको छैन । यहाँ पर्यटकको चहलपहल बढ्दै जाँदा होमस्टे सञ्चालन हुन सक्छ । मधेशको भएर पनि पूरै लेकाली वातावरणको यो ठाउँ पदमार्गबाट जोड्ने पर्यटकीयस्थल बन्नसक्छ । यस दिशामा सम्बद्ध पक्षहरुबीच सहकार्य र समन्वय अपेक्षित छ ।

++बर्दिबास-१२
२६—जुडीबाँध र माछापालन पोखरीः-बर्दिबास नगरपालिकाको सुदुर दक्षिणी भेगअवस्थित जुडीबाँध केही दशकअघिसम्म जिल्लाकै कहलिएको जलभण्डार थियो । जुडीबाँधको कुलो लाग्ने खेत भनेपछि उम्दा मानिन्थ्यो । तर विभिन्न प्रतिकूलता थपिदै जाँदा आज जुडीको पुरानो जरुवास्थल कमिलाको गोलो ठडिने ठाउँ बनेको छ । यो जरुवा र बाँधको सम्भार र संरक्षण हुन नसक्दा एउटा सम्पदा बर्दिबासबासीले गुमाएका छन् । करिब आठ बिघा क्षेत्रफलको जुडीबाँधका डिल र ओरीपरीका जग्गा अतिक्रमण हुँदैछ । बर्दिबास-१२ जुडीबजारसँगै जोडिएको यो पुरानो जरुवा र बाँधलाई तत्काल मर्मत सम्भार गरिन आवश्यक देखिन्छ । यसैगरी बर्दिबास-१२ बिजलपुराकै अङ्कुसी जलाधार क्षेत्र पनि करिब पाँच बिघाभन्दा माथि छ । ताल वा पोखरीका रुपमा अङ्कुसीको विकास गर्न सकिन्छ । अहिले बर्दिबास-१२ कै चल्की र जुडीटोलबीचमा पछिल्ला केही वर्षयता माछापोखरी निर्माण र माछापालन व्यवसाय फस्टाउँदै गएको छ । त्यहाँका किसान माछापालनमा भविष्य खोज्दैछन् । यस कार्यमा स्थानीय सरकारको साथ सहयोग किसान खोज्दैछन् । यसैगरी बिजलपुराकै भेडियारीटोल दक्षिणको सार्वजनिक पोखरी मर्मत सम्भार तथा संरक्षणको पहलकदमी पनि स्थानीय सरकारले लिन पर्दछ । विजय पोखरी भनिने यो करिब छ बिघा क्षेत्रफलको सम्पदा संरक्षणमा तत्काल पहलकदमी लिन आवश्यक देखिन्छ ।
++बर्दिबास-१४
२७—कामेश्वरनाथ महादेव मन्दिरः-बर्दिबास-१४ हटियाचोकस्थित श्री कामेश्वरनाथ महादेव मन्दिर यस भेगका हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । मन्दिर परिसरमा धर्मशालासहितका संरचना पनि छन् । महादेव मन्दिरसँगै जोडिएर दुर्गा मन्दिर पनि बनेको छ । मन्दिर नजिकैको हटिया पोखरी छठी घाटका लागि प्रसिद्ध ठाउँ रहँदै आएको छ । यद्यपि बर्दिबास हाट क्षेत्रका सारा दुर्गन्धित फोहर यसै पोखरीमा विसर्जन हुँदै आएको छ । यहाँ कामेश्वरनाथ महादेव मन्दिर, दुर्गा मन्दिर र हटिया पोखरी सौन्दर्यीकरण , सरसफाई र समुचित व्यवस्थापनको पर्खाइमा छन् । यस दिशामा सम्बद्धपक्षको ध्यान पुग्न आवश्यक छ ।

++समग्र नगर क्षेत्र
२८—सामुदायिक वन—चुरेसँग जोडिने बर्दिबास नगरक्षेत्र महोत्तरीको एकमात्र स्थानीयतह हो । यस नगरक्षेत्रमा चुरेका पाहाडि शृङ्खला , कन्दरा र सघन वनक्षेत्र अपार सम्पदा हुन् । यद्यपि यिनको सम्भार, संरक्षण र प्रबद्र्धनका काम योजनाबद्ध हुन सकेका छैनन् । फलस्वरुप कतिपय यहाँका वनक्षेत्र उजाडिएका छन् । बर्दिबासको मुख्यचोक माथिकै वनपाखाले बजारक्षेत्रको सौन्दर्यमा सघाउ पुर्‍याएको छ । यहाँको नेवारडाँडा कामीडाँडा वनका हुर्केका वनष्पतिले चोकक्षेत्रकै ओजवृद्धि गरेको छ । झण्डै ६५ हेक्टर क्षेत्रफलको यो वनक्षेत्र अतिक्रमणको चपेटामा पनि परेको छ । यस वनक्षेत्रको करिब तीन हेक्टर क्षेत्रफलको वन उजाडिएको छ । बर्दिबास नगरको मुख्यचोक र बजारक्षेत्रको सौन्दर्य वृद्धिका लागि यहाँ तत्काल माटो परीक्षण गरेर बिरुवा रोपण गरिन आवश्यक छ । यस्तै यस वनक्षेत्रमा मनोरम उद्यान बनाएर हरिण, मृग, मयुरसहितका वन्यजन्तु र पक्षीको आकर्षण थप्नसके पर्यटन प्रबद्र्धनमा सघाउ पुग्छ । यसरी नै यहाँका अन्य वनक्षेत्र पनि कतिपय ठाउँमा अतिक्रमण र विनासको चपेटामा परेका छन् । तसर्थ पर्यावरण सन्तुलनमा महत्वपूणर् पाटो रहेको वन सुरक्षा र प्रबद्र्धनको विषयमा नगरपालिका, नागरिक समाज र सामाजिक सङ्घ संस्थाको संयुक्त पहलकदमी आवश्यक छ । यसको नेतृत्व नगरपालिकाले लिन पर्दछ ।

२९—बौद्ध गुम्बा संरक्षण र सुव्यवस्थापन—बर्दिबास नगरक्षेत्र विभिन्न धर्मावलम्बीको साझा बासस्थानको थलो हो । यहाँ हिन्दू, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने आपसमा प्रेमसम्बन्ध जोडेर नै बसोबास गर्दै आएका छन् । नगरक्षेत्रमा रहेका बौद्ध गुम्बाको मर्मतसम्भार र कतिपय ठाउँमा नवनिर्माणको आवश्यकता देखिन्छ । यसैगरी इस्लाम परम्पराका मस्जिद (प्रार्थना घर)र इसाई परम्पराका चर्च यहाँ छन् । स्थानीयतह नेतृत्वले सबै धर्म परम्पराले गौरववोध गर्नसक्ने गरी कामका क्षेत्र प्राथमिकिकरण गर्न जरुरी देखिन्छ । यी पक्ष पर्यटन प्रबद्धनसँग अनुन्यास्रित हुन्छन् । धार्मिक आस्था अत्यन्त सम्वेदनशील पनि हुन्छ । राज्यपक्ष यी सबैप्रति सहिष्णुमात्र होइन, आवश्यकता सम्बोधनका लागि पनि तत्पर देखिनु पर्छ ।

३०—चुरेकाछ बस्ती—बर्दिबास नगरपालिका क्षेत्र चुरेसँग जोडिएको महोत्तरीको एकमात्र स्थानीयतह हो । चुरेक्षेत्रसँग जोडिएका सारा सम्पदा र वैभव यस नगरपालिकालाई प्राप्त छ । चुरेसँग जोडिएका बर्दिबासका वडानम्बर-३, ४, ५ , १० र ११ छन् । यस क्षेत्रमा अपार वन सम्पदा छन् । यहाँका पर्वतीय शृङ्खला, नदी, वनपाखा र काछबस्ती अध्ययन, अन्वेषण र अवलोकनका महत्वपूणर् पक्ष हुन् । यहाँ पाटुदेखि खयरमारासम्मको शिरका बस्तीहरु मौलिक र परम्परागत ढाचाका छन् । यो क्षेत्र पदमार्ग यात्री पर्यटकका लागि मनमोहक हुनसक्छ । यी सम्भावनालाई मध्यनजर गर्दै पाटु शिरदेखि नै पर्वतीय शृङ्खलाका पदमार्ग बर्दिबास-११ को चनौटेसम्म बनाउन सकिदा पर्यटन प्रबद्र्धनका क्षेत्रमा खास काम अघि बढ्छ । यस मार्गमा पर्यटकका लागि खाजा, चिया र खाना खाने ठाउँ एबं कमसेकम दुई रात्रीबासका प्वाइण्ट बनाउन सकिए यसक्षेत्रको होमस्टे व्यवसाय उर्वर हुनेछ । यिनमा चुरेकाछका रजबास, पर्साहीधाप, राइमण्डल, बेसारेडाँडा, चनौटे, झ्याउरे, भाङ्ग्रेसहितका कैयौं बस्ती होमस्टे सञ्चालनका लागि उपयुक्त छन् ।

३१ —कला, संस्कृति तथा परम्पराको संरक्षणः— बर्दिबास विविध कला, संस्कृति र परम्पराको उर्वर क्षेत्र हो । यहाँका पहाडी काछमा कैयौं बौद्ध गुम्बा छन् । यससँगै तामाङ्, मगर र मूल मैथिली जाति समुदायका आफ्नै विशिष्ट संस्कृति परम्परा छन् । यसैगरी थारु, दनुवार, मुसहरका जातीय चालचलन, रीतिथीति र साँस्कृतिक पर्व निकै रमाइला हुन्छन् । जातीय पहिरन पनि विशिष्ट खालका छन् । पछिल्लो पुस्ताले यीपक्षमा कम वास्ता गरेको देखिन्छ । यी फरक फरक साँस्कृतिक परम्पराको जगेर्नामा सम्बद्ध समुदायलाई प्रोत्साहन गरिन आवश्यक देखिन्छ ।

३२—नाथम कलेज बर्दिबासः— नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबास अहिले मधेशकै प्राविधिक सीप र शिक्षाको गन्तव्य बन्दैछ । अहिले बर्दिबास-१४ हटिया नजिक सञ्चालनमा रहेको यस कलेजमा होटल व्यवस्थापनका विभिन्न विधामा प्रशिक्षार्थी अध्ययन र अभ्यास गर्दैछन् । अहिले यस कलेजले बर्दिबास-२ को नदीउकास क्षेत्रमा थप जग्गा प्राप्तिका लागि प्रकृया अघि बढाएको छ । बर्दिबास नगरक्षेत्रलाई शैक्षिक गन्तव्य बनाउन यो कलेजको योगदान महत्वपूणर् छ ।

३३ कृषि पर्यटनः— बर्दिबास नगरक्षेत्र वनसम्पदा, धार्मिकस्थल, भौगौलिक विविधता, जलाधारक्षेत्र, मनोरमक्षेत्र र शैक्षिक केन्द्रका रुपमा मात्र नभई कृषि पर्यटन प्रबद्र्धनका दृष्टिले पनि उम्दा छ । बर्दिबास-१२ को बिजलपुराका माछापोखरीबारे माथि केही चर्चा गरिसकिएको छ । बर्दिबास-३ राइण्डलधाम, भब्सी, बर्दिबास-४, ५, १० र ११ परवल र टमाटर खेतीका दृष्टिले उर्वर छ । यहाँका सबैजसो बस्ती आँपका पकेटक्षेत्र नै छन् । खयरमाराको आरनडाँडाको टमाटर खेती हेर्न अहिले पनि बाहिरी मान्छे पुग्दैछन् । यसैगरी नगरक्षेत्रका किसाननगर र पशुपतिनगरमा व्यावसायिक केसोर खेती बढ्दैछ । यस्तै पशुपतिनगर, प्रेमनगर, किसाननगर , बिजलपुरा र हात्तीलेटमा पनि तरकारीखेतीको प्रचुर सम्भावना छ । राइमण्डलधाममा अहिले पनि अन्य ठाउँमा कम देखिने चना (बदाम) खेती बाक्लै गरिदै छ । यी कृषिक्षेत्रमा राम्रो सम्भावनाका ठाउँ हुन् । सम्बद्ध निकायले कृषि पर्यटनको विकासमा पहलकदमी लिनसके यी ठाउँको विकासले राम्रो फड्को लिनसक्ने देखिन्छ ।

३४—रातु सभ्यताको संरक्षणः—इतिहासका विभिन्न कालखण्डका घटनाक्रम र पुष्ट्याइँले रातु नदी यसभेगकै बासिन्दाका लागि जीवनदायिनी रहँदै आएको पाइन्छ । माथि उल्लेख गरिए झैं पाषाणकालीन हतियार कारखाना र नदीक्षेत्र किनारका बस्ती निकै पुराना पनि पाइएका छन् । यसले रातु एउटा नदीमात्र नभएर सभ्यताकै रुपमा विकास गरेको भन्ने अध्येता र अन्वेषकहरुले बताएका छन् । चुरे दक्षिणका महोत्तरी र धनुषाका दर्जनौं बस्तीको जीवन रातुसँग जोडिएको छ । यसैगरी पूर्वपश्चिम राजमार्ग मुनिका महोत्तरीका करिब ४० भन्दा बढी बस्तीहरु रातु नदी काखमा रहेका छन् । पछिल्ला केही दशकयता रातु परिवेश ओरपरका वनक्षेत्र, वनपाखाक्षेत्र, पाहाडि थुम्का र नदी बहाव र नदीउकास क्षेत्र अतिक्रमणको चपेटामा पर्दै आएका छन् । यो अवस्थाले रातु सभ्यताको पुरानो परिचय निभ्ने खतरा बढेको छ । तसर्थ यसको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा सम्बद्धपक्षको पहलकदमी र तदनुरुपको कार्य तत्त्परता अपेक्षित छ ।

बर्दिबास नगरपालिकाले नगर कार्यपालिकाको अङ्ग रहने गरी संस्कृति तथा पर्यटन प्रबद्र्धन समिति बनाएर यसक्षेत्रप्रति देखाएको तत्परताको हामी सराहना गर्दछौं । यद्यपि यो समितिलाई संस्कृति पर्यटन क्षेत्रका काममा अधिकार सम्पन्न बनाएर सुव्यवस्थित गर्न बाँकी छ । संस्कृति पर्यटन क्षेत्रका सबै काम यो समितिको प्रत्यक्ष रेखदेखमा हुने, संस्कृति पर्यटन क्षेत्रका सबै सामाजिक सङ्घ संस्था तथा पर्यटकीय महत्व बोकेका धार्मिकस्थल र तिनका समितिको अभिभावकत्व दिने एबं समितिको शाखा नगर कार्यपालिकाको कार्यालयमै व्यवस्थित गरेर आवश्यक जनशक्ति व्यवस्थापन गर्नपर्ने देखिन्छ । यस दिशामा तत्काल पहलकदमी लिन हामी नगर नेतृत्वको ध्यानाकर्षण गराउँछौं ।

महाशय,
यी बर्दिबास नगरक्षेत्रका केही नमुना हुन् । पर्यटन प्रबद्र्धनका क्षेत्रमा उपलब्धीमूलक हुने यहाँ अनन्य सम्भावना छन् । यहाँको चुरे र यसका सोलीघोप्टे, बेसारे, चनौटेसहितका उच्च शृङ्खलासँग जोडेर क्पथ ऋथअष्लिन, ज्ष्िि ऋष्mिदष्लन, द्यगलनभभ वगmउ र श्ष्उष्लिभ जस्ता साहसिक खेल सामेल गर्नसके केही वर्षभित्रै यहाँको पर्यटन सम्भावनाले समृद्धिको बाटो समात्ने हाम्रो विश्वास छ । हामी यी सम्भावनाको खोजी गर्दै योजनाबद्ध काम अघि बढ्न् भन्ने चाहान्छौं । सरकार र राज्यका निकायहरुबाट यसक्षेत्रमा हुने काममा हामी साथ रहने प्रतिबद्धता जनाउँछौं । विश्वास छ, हाम्रा यी प्रस्तावबारे विचार गरिने छ ।
तपसिल
क्रमसङ्ख्या संस्थाको नाम हस्ताक्षरकर्ताको नाम पद हस्ताक्षर
१. बर्दिबास उद्योग वाणिज्य सङ्घ —
२. होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरी—
३. सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबास (महोत्तरी) —
४.बर्दिबास नगर पत्रकार सञ्जाल, महोत्तरी—
५. नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), बर्दिबास (महोत्तरी) —
६. रोटरी क्लव अफ बर्दिबास—
७.लायन्स क्लव अफ बर्दिबास समाज, महोत्तरी—
८. हामी सबैका लागि , बर्दिबास (महोत्तरी)—
९. रोट्र्याक क्लव अफ बर्दिबास, महोत्तरी—
१०. रोयल मिडिया ग्रुप , बर्दिबास (महोत्तरी)—
इति सम्वत् २०८१ साल असार गते रोज शुभम……………।

२०८१ असार १०, सोमबार २२:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय