महोत्तरी, ११ असार । ‘नगरौ बिहेको कुरा, भएको छैन २० वर्ष पुरा’ अहिले महोत्तरीको मटिहानी नगरका सामाजिक अभियानी र विद्यालयका छात्रछात्रा यो नारा आम नगरबासीलाई बुझाउन जुटेका छन् । नगरक्षेत्रमा बालविवाहका घटना धेरै पाइएपछि नगर कार्यपालिकाको कार्यालयको बालबालिका तथा जेष्ठ नागरिक शाखाले यसविरुद्ध सामाजिक अभियान बढाएको हो ।

पछिल्ला दुई वर्षदेखि बालबिबाहविरुद्ध विभिन्न अभियान संयोजन गर्दै आएको शाखाले अहिले विद्यालयका छात्रछात्रा , विभिन्न धर्म सम्प्रदायका गुरु/पुरोहित र सामाजिक अगुवाहरुलाई यस अभियानमा जोडेको छ । “हामीले बालविवाहविरुद्ध सामाजिक जागरणलाई प्राथमिकता दिएका छौं, अहिले यस अभियानमा इस्लाम धर्म परम्पराका मौलाना, मोल्वी , धार्मिक मठका सन्तमहन्थ र गुरु/पुरोहित जुट्नु भएको छ” दास भन्नुहुन्छ, “अभियानमा समाजका अगुवा जोडिनु भएको छ, बस्तीबस्तीमा बालविवाहविरुद्ध सामाजिक जागरण सञ्चालन गर्न समिति बनेका छन् ।”

चमार, दुसाध, मलाह, धानुक, केवट, खत्वे र मुस्लिम जाति समुदायका गरिब बस्तीमा यो समस्या बढी देखिएको छ । नगरक्षेत्रमा यी जाति समुदायको बसोबास बाक्लो हुँदा यहाँ बालविवाहका घटना बढी देखिएका हुन् । बालविवाहलाई निरुत्साहित गर्न यसविरुद्धको सामाजिक ऐक्यबद्धता र छोरी शिक्षालाई प्राथमिकतामा राखेर अहिले सङ्गठित अभियान अघि बढाइएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

“यो वर्षौवर्षदेखि समाजलाई जकड्याएको सामाजिक कुरिति हो, यसविरुद्ध मुख्य रुपले सामाजिक ऐक्यबद्धता आवश्यक छ” मण्डल भन्नुहुन्छ, “समाजका व्यक्तिव्यक्तिले ‘अब बालविवाह हुन दिनु हुन्न’ भन्ने स्थिति बनाइनुपर्छ ।” अहिले आपूmहरु यसै प्रयत्नमा जुटिएको उहाँले बताउनुभयो । यस क्रममा नगरक्षेत्रका सबै माध्यमिक तहका विद्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना भइरहेका छन् । त्यसैगरी बालविवाहविरुद्ध जनमत बढाउन बस्तीबस्तीमा जागरण अभियान सञ्चालन गरिएका मण्डलको भनाइ छ ।

मटिहानी नगरपालिकाले आफ्ना छोराछोरीको विवाह गर्ने अभिभावकलाई पछिल्ला दुई वर्षयता सम्मानको परम्परा बसाएको छ । यस अवधिमा अभिभावक, धार्मिक विधिअनुसार विवाह गराउने मोल्वी तथा गुरु/पुरोहितसहित १०० बढी सम्मानित भएका छन् । विवाह गर्न गराउन महत्वपूणर् भूमिका हुने मोल्वी, गुरु/पुरोहित र धार्मिक मठका सन्तहरुलाई अभियानमा जोडेर उहाँहरुबाटै घरघरमै पुगेर ‘उमेर नपुगी छोराछोरीको विवाह गर्नु सामाजिक अपराध हो’ भन्न थालेपछि बालविवाहका घटना क्रमशः कम हुँदै गएका मण्डलले बताउनुभयो ।

बालविवाहविरुद्ध सामाजिक जागरण अभियानको संयोजन गरीरहेको बालबालिका तथा जेष्ठ नागरिक शाखाले पनि क्रमशः बालविवाहका घटना कम हुँदै गएका निष्कर्ष निकालेको छ । “हामीले आर्थिक वर्ष २०७९/०८० मा सर्वेक्षण गरेका थियौं, बालविवाहका ८०० घटना पाइएका थिए, त्यसयता यसविरुद्धको अभियान बढाउँदै लगिएसँगै अब बालविवाहका घटना निकै कम भएका छन्” शाखा प्रमुख दासले भन्नुभयो । अब त कतै उमेर नुपुगेका जोडीबीच विवाह हुँदैछ भन्ने थाहा पाउनासाथ अभियानमा जुटेका सामाजिक अभियानी र छात्रछात्रा यस्तो विवाह नगर्न घरघरै पुगेर सुझाउने गरेका दासको भनाइ छ ।

मटिहानी नगरपालिकाले बालविवाह निरुत्साहित गर्न छोरी शिक्षा कार्यक्रम र निरक्षर उन्मुलुन अभियान सञ्चालन गरेको छ । नगरका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकलाई बस्तीबस्तीमै साक्षरता कक्षामा सामेल गराइएको र १५ वर्ष मुनिका बालबालिकालाई विद्यालयसँग जोडिएको हुँदा अब आफ्नो नगर सधैं शिक्षा अभियानमा अघि बढीरहने नगरप्रमुख मण्डलको भनाइ छ ।

मटिहानी नगरपालिकाले जारी आर्थिक वर्ष २०८०/०८१ को गत असोजमा बस्तीबस्तीमा विद्यालयका माध्यमिक तहका ७२ जना छात्रछात्रालाई साक्षरता दूूत तोकेर साक्षरता कक्षा कार्यक्रम सञ्चालन गरेको थियो । नगरका नौ वटै वडा बस्तीमा सञ्चालित यस्ता कक्षाबाट यसअघि पूणर् निरक्षर रहेका तीन हजार ६०० जना साक्षर बनेका नगर कार्यपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । यस अभियानको सकारात्मक परिणामले नै मटिहानी गत जेठको पहिलो सातामै पूणर् साक्षर नगर घोषणा भइसकेको शाखा प्रमुख चन्देश्वर साहले बताउनुभयो ।

नगर बस्तीमा सञ्चालित साक्षरता कक्षाबाट यसअघिका निरक्षर अब आफ्नो र परिवारजनको नाउँ ठेगाना लेख्न पढ्न सक्ने, साधारण जोडघटाउ गर्न जान्ने, मोवाइल चलाउन सक्ने र घडी हेर्न जान्ने भएका छन् । यिलगायतका १२ सूचकमा उपलब्धी लिनेगरी सञ्चालित साक्षरता कक्षा सफल बनेको शाखा प्रमुख साहले बताउनुभयो । अब नगरका ९५.१६ प्रतिशत बासिन्दा साक्षर बनेका नगरको शिक्षा तथा खेलकुद शाखाको प्रतिवेदनमा उल्लेख छ ।

खासमा समाजमा रहेका परम्परागत कुरिति हटाउन शिक्षामा जोड दिइनु पर्ने निष्कर्ष साथ मटिहानी नगरपालिकाले छोरी शिक्षालाई जोड दिदै आएको छ । विद्यालयमा पढ्न आउने छोरीहरुका लागि कापी, कलमसहितका शैक्षिक सामग्री, स्कूलब्याग र हुर्केका छोरी (छात्रा) लाई साइकल दिदै आएको छ । अहिले आठ कक्षामाथिका छात्राहरु आफ्नो बस्तीमा उमेर नपुगेका कसैको विवाहको कुरा चलेको थाहा पाउनासाथ ‘नगरौ बिहेको कुरा, भएको छैन २० वर्ष पुरा’ भन्न पुग्ने गरेका छन् ।

मुलुकको अहिलेको प्रचलित विवाहसम्बन्धी कानुनी व्यवस्थाले २० वर्ष उमेर नपुगी गरिने विवाहलाई दण्डनीय अपराध उल्लेख गरेको छ । बालविवाहविरुद्धको अभियानमा यो व्यवस्थाको प्रचारप्रसार गरिएको बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दास बताउनुहुन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीयतह छन् । जिल्लाको बर्दिबास नगरपालिका बालविवाहमुक्त नगर घोषणा भइसकेको छ । यहाँका सबै स्थानीयतहले बालविवाहविरुद्ध सङ्गठित अभियान सञ्चालन गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कणर् बताउनुहुन्छ । सबै स्थानीयतहले छोरी शिक्षालाई प्रबद्र्धन गर्ने र बालविवाहविरुद्धको सामाजिक जागरणको अभियान बढाउन पर्ने कणर्को सुझाव छ ।

पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार तराई मधेशका २० जिल्लामा बालविवाहको अवस्था सालाखाला ४२.२ प्रतिशत रहेको उल्लेख छ । महोत्तरीमा बालविवाह यसभन्दा बढी ४३.३ प्रतिशत रहेको देखिन्छ । यो स्थितिबीच जिल्लाका सात स्थानीयतहहरु बालविवाह न्यूनीकरणका लागि विभिन्न गैरसरकारी संघसंस्थासँगको सहकार्यमा प्रयत्न अघि बढाउँदैछन् । जिल्लाका मटिहानीसहित बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्धको सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना चलाइएका छन् । यी सातवटै स्थानीयतहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवन उपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका छन् । यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको छ ।

बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन , तालिम र बालमैत्री शासन आदि कार्यक्रम सञ्चालन गराइरहेका छन् ।

२०८१ असार ११, मंगलवार ११:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय