महोत्तरी : आँपका रुखमा लटरम्म फल छन् । बगैंचाभित्रको जग्गामा लहलह तरकारीका लहरा । परवल, लौका, फर्सी , करेला , घिरौंला र झिमनीका बेला (लहरा) मा बग्रेल्ती पूmल र चिचिला । नदीउकास गेग्य्रान ठाउँ किसानको मेहनतले हराभरा छ । ‘बगर बगैंचाः बगैंचामा खेती’ को अभ्यासले जग्गामात्र हराभरा हैन किसानको जीवन पनि फेरिएको छ ।

महोत्तरीको भङ्गाहा-६ पर्सा र सग्रामपुर बस्तीकी वृन्दादेवी हुजदार थारुको दैनिकी बगर पुगेपछि सुरु हुन्छ । झरेका पातपतिङर रुख बिरुवाका फेदमा ओछ्याउने, हरिया झार उखेल्ने, आँपका रुखमा पानी छर्कने, तरकारी टिप्ने, तरकारी लिन आएका ब्यापारीलाई आफ्नो उत्पादन तौलेर दिने र हिसाब मिलान गर्ने उहाँका दैनिक काम हुन् ।

“सधैं काम छ, फुर्सत छैन र पो दुई पैसा दिनहुँ हात पर्छ” उहाँ भन्नुहुन्छ, “दिनहुँ पालो लगाएर तरकारी टिपिन्छ, परवल, लौका, फर्सी, करेला, झिमनी , भिण्डी , काँक्रा र खोर्सानी , भ्याइनभ्याइ हुन्छ ।” वृन्दामात्र नभएर पर्सा र सग्रामपुरका १०८ परिवारको घरगुजारा, नानीहरुको पठनपाठन , स्वास्थोपचार र चाडपर्व यही बगरले दिएको छ । एकसमय घरगुजाराकै लागि मालिकको खेतबारीमा काम गर्न जाने आपूmहरु अब आफ्नै कामले फुर्सत नभएको बगर खेतीका किसान बताउँछन् ।

विक्रम सम्वत् २०३० सालको रातुको पश्चिमी भँगालोको बाढीले जग्गा सबै काटेर बलौटो थुपारेपछि पर्साका आदिवासी थारु लालपुर्जामा जग्गा भएपनि सुकुम्वासी भएका थिए । “लालपूर्जा (जग्गाधनी प्रमाणपूर्जा) हुँदाहुँदै हामी नाङ्गा भयौ, बाढीले अर्काको खेतबारीमा मजदुरी गरेर जीवन धान्नु पर्ने बनायो” विगत भोगाइ कोट्याउँदै पर्सा बस्तीका ६५ वर्षीय रामनायण सिंह थारु भन्नुहुन्छ, “धन्न सामुदायिक विकास तथा पैरवी मञ्चले हाम्रो आँखा खोली दियो र बगर सम्याएर खेतीपाती गर्न थाल्यौं ।” पूर्वपश्चिम राजमार्गको रातु पुलमुनि खोलाका तीन भँगाला बनेर पश्चिमी भँगालाले आपूmहरुलाई सुकुम्बासी बनाएको सिंह सम्झनुहुन्छ ।

विक्रम सम्वत् २०६४ सालयता रातु पुलमुनि जनताको तटबन्ध कार्यक्रमले नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि नदीउकास भएको त्यहाँको बगरमा पैरवी मञ्चले बगर खेती गर्न किसानलाई उत्साहित बनाएपछि २०७१ देखि यहाँका आदिवासी थारु अब्बल किसानमा दरिएका छन् ।

नदीले छाडेको जग्गा पुरानो लालपूर्जाको आधारमा पैरवी मञ्च र भङ्गाहा नगरपालिकाको कार्यालयले नापजाँच गर्ने प्राविधिकबाट छुट्याइ दिएपछि किसान आआफ्नो सीमाभित्र खेती गर्न लागेका हुन् ।

पहिलेको बगर अब हराभरा बनेको छ । पहिलोचोटी यहाँ आइपुग्नेहरुलाई त यहाँ बगर थियो भन्दा पत्यार नलाग्ने बनेको छ । नदीउकास जग्गामा अहिले मालदह, बम्बै, दशहरी, कलकतीया र जर्दा जातका १८ हजार आँपका रुख हुर्केका छन् । यी रुख फल्न थालेका पनि चार/पाँच वर्ष भएको छ ।

बगैंचामा आँपबाहेक कटहर (रुखकटहर) , लिची, कागती र सपाटो फलका रुख छन् । रातु भँगालाको पहिलेको बगर अहिले किसानको पौरखले हाँसेको छ । बगरैभरि बगैंचा, बगैंचाभित्र तरकारी खेती । कतै घिरौंला त कतै फर्सीका हरिया कैंडा (गट्टा) । त्यहीं नै माचमा लौका भुण्डिएका छन् , कतै भिण्डी (रामतोरई, रामझिङनी) बोटभरि हुर्कदै । पुरानो रातु बगर (हालको नदीउकास जग्गा) अहिले किसानको मेहनतले लहलहाएको छ ।

सग्रामपुर र पर्साका किसानले पहिलेको बालुबुर्ज २५६ बिघा बलौटे जग्गा खनीखोस्री गरेर नङ्रा खियाउन लागेका झण्डै एक दशक हुन लागेको छ । प्रारम्भका एक दुई वर्ष त बगरका ढुङ्गा छेउ लाउँदै बितेको किसान बताउँछन् । तेस्रो वर्षदेखि बल्ल बगर हरियो देखिन लागेको बगर खेतीमा रमाएकी पर्सा बस्तीकी रामज्योति हुजदार बताउनुहुन्छ ।

“पहिलो वर्ष त बगरका ढुङ्गा र खस्रो बालु केलाउँदै र छेउ लगाउनमै गयो” बगर खेतीगर्दै आउनु भएकी पर्सा बस्तीकी रामज्योति बगैंचास्थलमै पुगेका सञ्चारकर्मीसँग भन्नुहुन्छ, “त्यसयताका वर्ष उत्पादन र आर्जनमा ठिकठाक नै चल्दैछन् ।” समयसमयमा रोगव्याधले उत्पादन बजार पुर्‍याउन दुःख दिएपनि ती दुःखका दिन पनि कटेका उहाँ भावुक हुँदै बताउनुहुन्छ । खासमा दुई वर्षअघिको कोरोनाकालमा पाएको सास्ती यहाँका किसानका लागि पीडादायी सम्झना बनेका छन् ।

बगरमै भङ्गाहा-७ का भूमिहिन दलितले पनि पछिल्ला सात वर्षयता तरकारी बाली लगाएर आर्जन गर्दै आएका छन् । विगतको यो बगर अहिले किसानको मिहिनेत र लगनले ‘सुन’ फल्न लागेको हेर्न जानेको प्रतिकृया हुने गरेको छ ।

विगतमा रातु नदीको बाढीले उर्बर जग्गा काटेर बगर बनाएपछि सुकुम्वासी बनेका किसान पछिल्ला नौ वर्षयता पैरवीमञ्चको साथले ‘सुन’ फलाउने भएकाहुन् । पैरवी मञ्चले बीउविजन, ज्यावल, फलपूmलका बिरुवा, सिँचाइका लागि बोरिङ्गको व्यवस्था गरीदिनसँगै सबैलाई विभिन्न कृषक समूहमा आबद्ध गराएको छ । बगर खेतीका किसान अहिले आफ्नो घरखर्च धान्नेमात्र हैन, छरछिमेकलाई पर्दा गर्जो टार्न सहयोग गर्नसक्ने भएका छन् । आआफ्ना समूहमा किसानले मासिक बचत गर्दै आएका छन् ।

को यसपाली वैशाखीसिजनमाउत्पादन राम्ररी बेच्ननपाएपनि सधैं यस्तो प्रतिकूल समय नहुने आसले किसान खडै देखिएका छन् । आफ्नो १२ कठ्ठा बगर खेतमा ५६ वटा आँपका रुख लगाउनु भएका किसान शङ्कर हुजदारले बर्सेनिजसो फलपूmल, तरकारी र मसाला (बेसार, अदुवा, खोर्सानी) खेतीबाट घरगर्जो टारेर दुई लाख भन्दामाथि सञ्चित हुने गरेको बताउनुभयो ।

यसैगरी पैरवी मञ्चले जिल्लाकै गौशाला-८ को बेलगाछीका मुसहर जाति समुदायका दलितलाई बगर खेतीमा प्रोत्साहित गरेको छ । बेलगाछी नजिकको सनी खोला किनारको बगर नगरपालिका कार्यालयको समन्वयमा ५० घरमाथिका मुसहरलाई खेतीपातीका लागि वितरण गरिएपछि २०७८ सालयता बस्तीका मुसहर पैरवी मञ्चले विभिन्न दातृ निकायसँग समन्वय गरी महोत्तरीका मात्र नभई धनुषाको मिथिला नगरपालिकाको औरही नदी किनारको बगर र कमला नदी तटको सिरहाको कर्जन्हा नगरपालिका-६ बन्दीपुरको ११६ बिघा बगरमा खेती गर्न साना किसानलाई सघाएको छ ।

बन्दीपुरमा ११६ बिघा नदीउकास बगरलाई अहिले २४३ परिवार गरिब किसानले हराभरा बनाएका छन् । किसानलाई परिवार सङ्ख्याको आधारमा कर्जन्हा नगरपालिकाका जनप्रतिनिधिले बगरमा सीमा छुट्याएर बाँडी दिएपछि दिनरात नभनी त्यहाँका किसानले आफ्ना दुःख र अभावका दिन फेरेका छन् । कमलाको नदीउकास बगर अहिले दुई वर्षभित्रै हराभरा बनेको छ ।

पहिलोपटक पैरवी मञ्चले काँस घारी फाँड्न जोतखनका लागि ट्रेक्टर उपलब्ध गराएको थियो । बगरमा अहिले आँप, लिची, कटहर र कागतीका समेत् ११ हजार बिरुवा हुर्केका छन् । बगैंचाभित्रको जग्गामा अहिले लहलह परवल छ । परवल किन्न ब्यापारी खेतमै आउने गरेका किसान जगतीदेवी मुखियाले बताउनुभयो । यहाँ मुसहर, खत्वे र मलाह जाति समुदायका गरिब किसानले ‘बगरमा बगैंचाः बगैंचामा खेती’ कार्यक्रमबाट राम्रो आर्जन गरीरहेका छन् ।

“अब हामीले बनी (मजदुरी) गर्न कहींं जान पर्दैन, यही बगर खोस्रदा हामीले सबै कुरा पाएका छौं” पाँच कठ्ठा जग्गा पाएका पल्टा मुखियाले भन्नुभयो, “हाम्रो सबै गुजारा यो बगरले चलाएको छ ।”

बन्दीपुरको बगर बगैंचा खेतीका लागि कर्जन्हा नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को साथ पाइएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ ।

“यहाँ पाँच प्लट छन् , प्रत्येक प्लटमा एउटा पक्की घर टहरा बनेका छन्”अध्यक्ष यादव भन्नुहुन्छ, “यी टहरा किसानका थकाइ मार्ने र तरकारी टिपेर थुप्य्राउने ठाउँ हुन् ।” किसानको मेहनतले पहिलेको बगर अब उर्वर जग्गा बनेको यादव बताउनुहुन्छ ।

सिँचाइका लागि बोरिङ्ग र बिजुलीको प्रबन्धले खेती सहज बनेको किसानले बताएका छन् । समयसमयमा बीउविजन , मलखाद र कृषि प्राविधिकको सरसल्लाह पैरवी मञ्चले जुटाइ दिएको मुसहर समुदायकी किसान सुर्जी सदाले बताउनुभयो ।

सबै ठाउँका बगर खेतीका किसान आफ्नो र आम उपभोक्ताको स्वास्थ्यप्रति सचेत छन् । खेतीमा घरमै बनेको कम्पोष्ट मल र किरा नियन्त्रणका घरेलु औषधी प्रयोग गरिन्छ । बगर खेतीका किसानले रसायनिक मल र विषादीरहित प्राङ्गारिक खेती (आर्गेनिक) गर्ने हुँदा उपभोक्ताका लागि यी ठाउँका उत्पादन पहिलो रोजाइमा पर्ने गरेका छन् । सामान्यतया आफ्ना उत्पादन जग्गामै बिक्ने गरेको किसानको भनाइ छ ।

“तरकारी चाहिने सोझै यहीं आइपुग्छन् , हामीलाई यही तौलेर दिन भ्याइनभ्याइ हुन्छ” कमलाको नदीउकास बगर खेतीका किसान परीक्षण सदा भन्नुहुन्छ, “घरमा खान र व्यवसाय गर्ने ब्यापारी सबै खेतमै आइपुगेपछि हम्मेसी बजार नै जान पर्दैन ।”

बगर खेतीबाट नियमित आम्दानी हुन थालेपछि महोत्तरी, धनुषा र सिरहाका किसानका छोराछोरी नियमित विद्यालय जाने, थोरैपनि स्वास्थ्य समस्या हुँदा तत्काल स्वास्थ्य चौकी जाने, नियमित आफ्नो किसान समूहको बैठकमा सहभागी हुने र बचत गर्ने भएका छन् । यिनीहरुको जीवनमा आएको परिवर्तनले निरन्तर सघाउन उत्प्रेरित गर्ने गरेको कर्जन्हा नगरपालिकाका प्रमुख भोला पोखरेल बताउनुहुन्छ ।

बगर बगैंचा र तरकारी खेतीमा लागेका किसानमा आएको परिवर्तन अन्य ठाउँका लागि शिक्षा भएको पैरवी मञ्चका अध्यक्ष यादबको थप भनाइ छ । बगरमा किसानले गरेका मिंहिनेतले बिपद् व्यवस्थापन (नदीकटान रोक्न गरिएको प्रयत्न) , महिला सशक्तिकरण (आर्जनमा महिलाको सहभागिता र स्वामित्व), जैविक विविधता, वातावरणीय अनुकूलन, जलवायु परिवर्तन अनुकूलन र जलाधार क्षेत्रको संरक्षण सम्बद्र्धनमा महत्वपूणर् योगदान पुगेको यादब बताउनुहुन्छ ।

२०८१ असार ११, मंगलवार ११:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय