महोत्तरी :  असार मानु खाएर मुरी उब्जाउन काममा दलिने महिना भनिन्छ । असार मध्यसम्म धान रोपाइँ गर्न नसकेका महोत्तरीका किसानलाई बल्ल असार लागेको छ । मध्य असारसम्म निकै पछि परेको महोत्तरीको धान रोपाइँले अब गति लिएसँगै किसानकोे व्यस्तता बढेको हो ।

असार दोस्रो साता सकिनसँगै निरन्तर भएको वर्षाले खेतमा पर्याप्त पानी भएपछि त्यसयता रोपाइँले गति लिएको छ । असार तेस्रो साताभित्र जिल्लामा धान रोपाइँ ३० प्रतिशत नाघेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।

मध्य असारसम्म खेतमा पर्याप्त पानी नभएको र बीउ पनि तयार नहुँदा रोपाइँ निकै पछि परेको थियो । सामान्यतया मध्य असारसम्म बीउको रोप आधाआधी सकिन पर्ने धान खेतीको यहाँ स्थापित तालिका छ । तर यसपालि मध्य असारसम्म १० प्रतिशत पनि रोपाइँ नहुँदा किसान आत्तिएका थिए । असार दोस्रो साताको अन्त्यसँगै लगातार वर्षा भइरहेपछि रोपाइँले राम्रो गति लिएको कार्यालयका बाली विकास अधिकृत राजकिशोर यादव बताउनुहुन्छ । असार तेस्रो साता बित्दा जिल्लामा रोपाइँ ३० प्रतिशत नाघेको उहाँले जानकारी दिनुभयो ।

“मध्य असारअघि पानी अपूग थियो र बीउ पनि राम्ररी तयार थिएन, तर त्यसयता सघन वर्षा हुनसँगै बीउ पनि तयार हुँदै गएपछि रोपाइँले गति लिएको छ” यादव भन्नुहुन्छ, “अब केही दिन रोपाइँलाई पानी र बीउको अभाव हुँदैन, पछिल्लो साताको गतिमा रोपाइँ भइरहे असार मसान्तसम्म झण्डै ८० प्रतिशत धान रोपिने छ ।” अब यसपालि अपेक्षित धान रोपिने आस जागेको यादव बताउनुहुन्छ ।

अहिले धान रोपाइँमा व्यस्त हुन पाउँदा किसान पनि खुशी देखिन्छन् । असार तेस्रो साता दिनदिनैजस्तो परेको पानीले खेतको माटो राम्ररी गालेको हुँदा अहिलेसम्मकै पानीमा १५ दिन रोपाइँ चल्ने किसान बताउँछन् । यसपालि पानी समयमा नपर्दा धेरैजसो किसानले असार सङ्क्रान्तिताकाको वर्षापछि बीउ राखेका हुन् । त्यो बीउ असार-१५ सम्म तयार नहुँदा यहाँ रोपाइँ पछि परेको थियो । ब्याडमा राम्ररी सप्रेको बीउ १५ दिन नाघेपछि किसानले रोप्न थालेका हुन् । अब अहिलेसम्मको रोप गाँजिदा साउन १५ सम्म खरुअन (कलम, बीउ रोप गाँजिएपछि फेरि उखेलेर रोपिने धान) तयार हुने किसानले आस सँगालेका छन् । असारभरिको बीउ रोप र साउन तेस्रो साताको खरुअन रोपले यसपालि धान रोपाइँ साउन तेस्रो साताभित्र सकिने आस जागेको भङ्गाहा-४ का किसान सत्यनारायण यादव बताउनुहुन्छ ।

“अब पानीको कमी छैन, बीउ पनि तयार छ” यादव भन्नुहुन्छ , बीउ रोप असारभित्र र खरुअन साउन तेस्रो साताभित्र सकिएला ।” पानी र बीउको अनुकूलता भएपनि जनशक्ति नहुँदा रोपाइँ सक्न निकै सास्ती खान पर्ने यादव बताउनुहुन्छ । यहाँको कृषि जनशक्ति कामका लागि भारतको पञ्जाव, हरियाणा गएका हुँदा यहाँ जन (कृषि मजदुर) को अभाव रहेको यादवले बताउनुभयो ।

जिल्लाको उत्तरीक्षेत्रमा दोरस (बालु मिसिएको) माटो हुँदा यता निकै पानी जम्दैन । यताको खेती चाँडै सकिन्छ । तर दक्षिणी क्षेत्रमा भने चिम्ट्याइलो माटो हुँदा वर्षाको पानी निकै दिन जम्ने गर्छ । त्यसैले दक्षिणी क्षेत्रको रोपाइँमा समय लाग्ने गरेको किसान बताउँछन् ।

“खेत पानीले डम्म भरिएका छन्, यो अलिअलि नसुके त खनजोत गर्न सकिन्न, त्यसैले रोपाइँ गर्न अलि दिन पर्खन पर्छ” महोत्तरी गाउँपालिकाको हरिगोरिगम्माका किसान भोला महतो भन्नुहुन्छ, “बिस्तारै कोलाकोला (गर्‍हा) को पानी एकएक गरेर काट्दै खनजोत गरेर रोपाइँ गर्दैछौ, त्यसैले रोपाइँ सक्न अलि बढी समय लाग्छ ।”

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त रहेको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्याङ्क छ । जिल्लामा कूलो लाग्ने जग्गा १० प्रतिशतमात्र हुँदा यहाँका अधिकांश किसान खेतीका लागि आकासे पानीकै भरमा छन् । त्यसैले अनुकूल वर्षा नहुँदा यहाँको खेतीपाती पछि पर्ने गरेको बाली विकास अधिकृत यादव स्वीकार गर्नुहुन्छ ।

जिल्लामा धान मुख्य बाली मानिन्छ । सामान्यतया यहाँ जेठ २२ (जेठ तेस्रो साता) भित्र ब्याड राखीसक्ने , असार तेस्रो साताभित्र शाही (बीउ) रोप सक्ने र साउन तेस्रो साताभित्र खरुअन (कलम, पहिलेको बीउ रोपो गाँजिएपछि त्यो उखेलेर रोपिने) धानबाली लगाउने तालिका रहँदै आएको छ । तर यसपालि पानीबेगर समयमा ब्याड नै राख्न नपाएपछि यो तालिका पूरै खजमजिएको किसान बताउँछन् । शाही रोप असार तेस्रो सातामा कमसेकम ५० प्रतिशत भइसक्नु पर्ने धान खेतीको तालिका मानिन्छ । तर यसपालि धेरैजसोले बीउ नै लाग्दो असारकोे पानीमा धुले ब्याड राखेका हुँदा रोपाइँ पछि परेको हो । अब भने राम्ररी पानी परिरहेको र बीउ पनि जाग्दै गएको हुँदा केही ढिलोचाँडो रोपाइँ सकिने किसानले आस सँगालेका छन् ।

२०८१ असार २४, सोमबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय