बर्दिबास (महोत्तरी) २८ असार ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को बर्दिबास शाखा अहिले दक्ष जनशक्ति तयार गर्दैछ । विक्रम सम्वत् २०७७ मा स्थापना भएर २०७८ देखि ‘व्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ विषयको पठनपाठन र अभ्यास गराउँदै आएको प्रतिष्ठानले यसपालि मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा १५० जनालाई विभिन्न विधामा तीन महिने सीप तालिम दिएर दक्ष जनशक्ति तयार गरेको छ ।

प्रतिष्ठानले होटल व्यवस्थापन (म्यानेजमेन्ट) विषयमा अन्तर्राष्ट्रिय पाठ्यक्रम पात्रो (तालिका) अनुसार २०७८ असोजदेखि पठनपाठन र अभ्यास गराउन थालेको हो । अहिले दुई समूहका गरी ३९ जना प्रशिक्षार्थी होटल व्यवस्थापन विषयमा सैद्धान्तिक ज्ञान र सीप तिखार्दैछन् । पहिलो समूहका १७ जनाले अहिले चौथो सेमेस्टर पुरा गर्दैछन् । दोस्रो समूहका २२ जना दोस्रो सेमेस्टरको अभ्यासमा छन् । प्रतिष्ठानमा आठ सेमेस्टरमा पठनपाठन र अभ्यास हुने पाठ्यक्रम छ । प्रतिष्ठानले डिप्लोमा तहको पाठ्यक्रमअनुसारको कक्षाबाहेक यसपालिदेखि होटल व्यवस्थापनका विभिन्न विधामा तीन महिने तालिम पनि सञ्चालन गर्न थालेको हो । तीन महिने तालिम यसपालि मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयको सहकार्यमा सम्पन्न गरिएको प्रतिष्ठान बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिनुभयो ।

“हाम्रो प्रतिष्ठानको डिप्लोमा तहको पाठ्यक्रमअनुसारका नियमित प्रशिक्षार्थीको पठनपाठन र अभ्यास तालिका त नियमित छँदैछ, यसपालि हामीले होटल व्यवस्थापनका विभिन्न विधामा तीन महिने सीप विकास तालिम पनि सञ्चालन गर्‍यौ” मल्लिकले भन्नुभयो, “नयाँ वर्ष २०८१ को प्रारम्भसँगै सुरु गरिएको यो तालिम अहिले समापनको चरणमा छ ।” जम्मा १५० जना सहभागी यो तालिम सञ्चालनमा मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयको सहयोग रहेको मल्लिकले स्पष्ट पार्नुभयो ।

प्रतिष्ठानले अन्तर्राष्ट्रिय बजारमा श्रमशक्ति लाग्नसक्ने होटल व्यवस्थापनअन्तर्गतका फुड प्रिपेसन एण्ड कन्ट्रोल, फुड एण्ड बेभरेज सर्भिस र ट्राभल एजेन्सी ऐण्ड टिकेटिङ्गसहितका मुख्य विधाका छ प्रकारका सीपसम्बन्धी तीन महिने तालिम सञ्चालन गरेको हो । जसमा कुक, वेटर, वारिष्टा (कफी बनाउने), बेकरी बनाउने, हाउस किपिङ्ग र लोकल गाइडका तालिम हुन् । यी तालिमबाट सहभागीले खाना बनाउने तयारी र सावधानी, अतिथि सत्कारका तौरतरिका, शिष्टाचार, बोलिचाली र अन्य आहारव्यवहारबारे व्यावहारिक ज्ञान र सीप हासिल गरेका प्रतिष्ठानले जनाएको छ ।

तालिममा पाएको सीपले अब जुनसुकै ठाउँमा पुगेर आर्जन गर्न सकिने भइएको तालिमका प्रशिक्षार्थीले बताएका छन् । “म घरको अभाव र गरिबी टार्न कमाउने अभिप्रायले दुई पटक विदेश गएँ, तर त्यहाँ चाहिने सीपको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान नहुँदा राम्रो कामम नपाएर फर्कनुपर्‍यो” बाराको कलैया-७ का २५ वर्षीय मोहम्मद फैज अन्सारी भन्नुहुन्छ, “यसपालि नाथममा तीन महिने कुक तालिम लिएँ, अब विदेश गएर राम्रो कमाइ गर्नसक्छु भन्ने विश्वास जागेको छ ।” फैजजस्तै सर्लाहीको मलङ्गवाकी अनिता जयसवाल, सिरहाको मिर्चैयाका अमन राय र धनुषाको मिथिला-१० की सीता कर्माचार्यले पनि तीन महिने तालिम आपूmहरुका लागि जीवन निर्वाह र आर्जनका लागी महत्वपूणर् उपलब्धी बनेको प्रतिकृया दिनुभएको छ ।

तीन महिने तालिममा सहभागी प्रशिक्षार्थीले आपूmले सिकेका सीप र व्यावहारिक ज्ञानले अब बेरोजगार बस्नु नपर्ने विश्वास बनेको बताएका छन् । यसपालि १५० जनाले छ विधाको तालिम लिएका हुन् । तालिमका सहभागीले सिकेका सीपको प्रदर्शनी गरेर देखाउँदा राम्रो क्षेत्रमा कार्यक्रमका लागि सहयोग गरिएछ भन्ने लागेको मधेश प्रदेश सरकारको श्रम तथा रोजगार मन्त्रालयका सचिब सुरेन्द्र पौडेलले बताउनुभयो ।

यता प्रतिष्ठानमा डिप्लोमा तहको पठनपाठन र अभ्यास गरीरहेका ३९ प्रशिक्षार्थी आआफ्ना विधामा पोख्त हुँदै गएका छन् । अहिले होटल व्यवस्थापन डिप्लोमा तहको चौथो सेमेस्टेरमा रहेकी बर्दिबास-१ की आस्था भट्टराईले अब विश्वभरिका कुनै पनि देशका होटलमा पूणर्विश्वासका साथ काम गर्न सकिन्छ भन्ने विश्वास जागेको बताउनुभयो । “अब म नेपाल, भारत, युरोप र अमेरिकासहितका मुलुकमा पकाइने/बनाइने परिकारबारे पोख्त भएकी छु” आस्था भन्नुहुन्छ, “यो ज्ञान र सीपले मलाई आत्मविश्वासी बनाएको छ । भट्टराईजस्तै बर्दिबास-३ की सदीक्षा घिमिरे, बर्दिबास-२ की आरती भुजेल, बर्दिबास-१३ की दिव्यानी जोशी र सर्लाहीको बागमती-३ का सागर फुँयालसहित १७ जना प्रशिक्षार्थी अहिले होटल म्यानेजमेन्ट (व्यवस्थापन) विषयमा आफ्नो सीप तिखार्दैछन् ।

प्रशिक्षार्थीलाई काठमाण्डौ विश्वविद्यालयको पाठ्यक्रम र अभ्यास तालिकामा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइने प्रतिष्ठान बर्दिबास शाखाका प्रमुख मल्लिक बताउनुहुन्छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रवि भवन कलङ्की काठमाण्डौको शाखाका रुपमा सञ्चालित बर्दिबासस्थित प्रतिष्ठान शाखा बर्दिबासक्षेत्रलाई प्राविधिक शिक्षाको केन्द्र बनाइने सङ्कल्पमा सहयोगी बनेको बर्दिबास-१ का बासिन्दा शिक्षाविद् लिलाविक्रम थापा बताउनुहुन्छ ।

अन्तराष्ट्रिय क्यालेण्डर (तालिका , पात्रो) अनुसार अङ्ग्रेजी महिनाको अक्टुवरदेखि नयाँ कक्षा सुरु गरिने यो विषय चार वर्षभित्रका आठ सिमेष्टरमा पुरा हुन्छ । आठ सिमेष्टरमध्ये छ वटा प्रतिष्ठानकै सैद्धान्तिक र अभ्यासबाट र पछिल्ला दुई सिमेष्टर बिभिन्न मुलुकका प्रसिद्ध होटलमा अभ्यास गराएर कोर्स पुरा गराइने प्रतिष्ठानले जनाएको छ ।

होटल व्यवस्थापनको विषयका दक्ष जनशक्ति अहिले अन्तराष्ट्रिय क्षेत्रमा निकै माग हुने गरेको हुँदा यो कोर्स पुरा गर्ने संसारका कुनै पनि मुलुकमा काम गर्नसक्ने र आकर्षक पारिश्रमिक पाउनसक्ने जनशक्ति तयार हुने प्रतिष्ठान शाखाका ‘व्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ (बिएचएम) विभागका संयोजक तासी शेर्पा बताउनुहुन्छ ।

“हामी अन्तराष्ट्रिय क्षेत्रमा यस विषयका लागि पोख्त हुने दक्ष जनशक्ति तयार गर्दैछौं” शेर्पा भन्नुहुन्छ, “बर्दिबास शाखाका दुबै व्याच (समूह) का सबैजसो प्रशिक्षार्थी मेहनती र जिज्ञासु छन् , यिनले ठिक समयमा कोर्स पुरा गर्ने विश्वास जागेको छ ।” यिनले कोर्स पुरा गरेर यो जनशक्ति अन्तराष्ट्रिय बजारमा जमेपछि यस भेगमा होटल म्यानेजमेन्ट विषयप्रति थप आकर्षण बढ्ने शेर्पाको विश्वास छ ।

मधेश प्रदेशको करिब मध्यभेगमा अवस्थित बर्दिबासमा प्रतिष्ठानको शाखा सञ्चालन हुनुले यस भेगका वैदेशिक रोजगारीमा जान इच्छुक शिक्षित युवाका लागि महत्वपूणर् अवसर बनेको यहाँका शिक्षाविद्हरुको टिप्पणी छ । संसारका सबैजसो मुलुकमा तत्काल बिक्ने यो सीप र दक्षताबारे पछिल्लो पुस्तामा चासो बढेको बर्दिबास जनता बहुमुखि क्याम्पसका प्रमुख तेजबहादुर खड्का बताउनुहुन्छ । सीपमूलक व्यावसायिक शिक्षाको प्रबद्र्धन र खासमा बर्दिबास नगरलाई शैक्षिक केन्द्र बनाउन पनि यो शाखाले योगदान दिएको खड्काको भनाइ छ ।

मधेशमा वैदेशिक रोगारीमा जाने ठूलो सङ्ख्या भएपनि काममा दक्षता नहुँदा थोरै पारिश्रमिकमा कठोर मेहनत गर्नु पर्ने वर्तमान अवस्था अन्त्य गर्न प्रतिष्ठान बर्दिबास शाखाले सहयोग पुर्‍याउने यस भेगका शिक्षाविद् एकमुखले बताउँछन् ।

२०८१ असार २८, शुक्रबार १०:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय