बर्दिबास (महोत्तरी) २१ साउन ।
‘हाम्रो माया घर’ निर्माण सहयोगार्थ आज सोमबार महोत्तरीको बर्दिबासमा शिवपुराण महायज्ञ प्रारम्भ भएको छ । महायज्ञ सञ्चालनार्थ निर्मित मण्डपमा आज ब्राह्मणहरुको स्वस्तिवाचनबीच पुराणवाचिका राधिका दासले दीप प्रज्वलित गर्दै महायज्ञ प्रारम्भको घोषणा गर्नुभएको हो ।
महायज्ञ मानव सेवाको पवित्र उद्देश्यसाथ प्रारम्भ भएको हुँदा यसको सफल समापनसँगै ‘हाम्रो मायाघर’ निर्माणमा टेवा पुग्ने दासले उल्लेख गर्नुभयो । उद्घाटन सत्रमा महोत्तरी-१ बाट प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले ‘हाम्रो माया घर’ निर्माणमा आपूmले मन, वचन र कर्मबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उद्घाटनसत्रमा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा , बर्दिबासलगायत छरछिमेकका स्थानीयतहका जनप्रतिनिधिहरु, मधेशका विभिन्न धार्मिक मठका सन्त महन्थ र सर्वसाधारणको सहभागिता छ । आज सुरु महायज्ञ यही साउन २९ गते मङ्गलबार समापन हुने कार्यक्रम छ ।
उद्घाटनसत्रमा वेदपाठी ब्राह्मणहरुले सामुहिक वेदपाठ गर्दै महायज्ञ निर्विघ्न समापन हुने कामना गरेका थिए । त्यसअघि आजै बिहान दशौं हजार सर्वसाधारणको सहभागितामा एक हजार आठ कन्याले रातु नदीबाट नयाँ घडामा ल्याएका मन्त्रोच्चारणसहित पवित्र बनाइएको जलले महायज्ञस्थल सिञ्चित गरिएको थियो ।
‘हाम्रो माया घर’ बर्दिबासमा १० करोड ६९ लाख ४५ हजार ४७७ को लागतमा निर्माण हुन लागेको हो । बर्दिबास-२ दाताहरुबाट प्राप्त पाँच कठ्ठा १० धुर जग्गामा ‘हाम्रो माया घर’ निर्माण गरिने भएको छ । प्राप्त जग्गामा चारैतिरबाट पक्की पर्खालको घेराबेरा भइसकेको छ भने यहाँ बन्ने दुई वटा भवनको विस्तृत परियोजना प्रस्ताव पनि तयार भएको हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । बालबालिका र अपाङ्गता मैत्री तथा भूकम्प प्रतिरोधी अत्याधुनिक हाम्रो माया घरका दुई वटा भवन बन्ने विस्तृत परियोजना प्रस्ताव छ । खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुई तले र अर्को चारतलेमा गरी १२ कोठा हुनेछन् । जसमा सभा भवन, कृडाकक्ष र अध्ययनकक्ष छन् । जम्मा २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने समितिले जनाएको छ ।
महायज्ञ तयारी र समुचित व्यवस्थापनका लागि हिरालाल गौतमको मुख्य संयोजकत्वमा १९ वटा उपसमिति कार्यरत छन् । शिवपुराण महायज्ञमा दैनिक सात हजार स्रोता सहभागी हुने व्यवस्थापन समितिको अनुमान छ । महायज्ञ र भवन निर्माणका लागि विभिन्न दाताबाट सहयोग प्राप्त हुने क्रम चलेको हुँदा अब चाँडै भवन बन्न सुरु हुने महायज्ञ व्यवस्थापन समितिका सचिब तथा प्रवक्ता चेतकुमार थापाले बताउनुभयो । ‘हाम्रो माया घर’निर्माणका लागि मधेश प्रदेश सरकार र यस भेगका स्थानीयतहले सहयोगको चासो बढाएका छन् । महायज्ञमा बढेको सहभागिता र दाताहरुबाट भइरहेको सहयोगले हाम्रो मायाघर चाँडै निर्माण थालिने समितिले जनाएको छ । महायज्ञबाट हाम्रो मायाघर निर्माणार्थ दुई करोड सहयोगको प्रतिबद्धता प्राप्त भएको प्रवक्ता थापाले बताउनुभयो । महायज्ञ सञ्चालनमा २५ लाख खर्चको अनुमान गरिएको समितिले जनाएको छ ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहनु भएको हाम्रोे माया घर निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने समितिले जनाएको छ । आफ्नै भवन तयार भएर सञ्चालन हुन अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व भने समितिले लिइरहने र त्यस समयसम्मका लागि इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले स्पष्ट पार्नुभयो ।