महोत्तरी, २१ साउन ।

आज साउन महिनाको तेस्रो सोमबार ! साउने बोलबम मेलाको अवसरले मधेशका मिथिलाक्षेत्रका शिवालय भक्तजनले भरिभराउ छन् । साउन महिना शिवभक्तिको महिना मानिन्छ । त्यसमा पनि सोमबारको झनै महिमा छ । आज महोत्तरीको चुरेकाछको प्रसिद्ध शिवालय टुटेश्वरधाममा बिहानैदेखि दर्शनार्थी भक्तालुको लाम छ । जता फर्केर हेर्दा पनि राता, पहेंला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिंडेका भक्तजनको चहलपहलले टुटेश्वरधाम गुलजार (रमणीय) देखिदो छ ।

पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने टुटेश्वरचोकबाट आठ किलोमीटर सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिबास नगरपालिका-५ को टुटेश्वरनाथ मन्दिर क्षेत्रमा राता वस्त्रधारी यात्रुको सघन आवतजावतले परिवेश नै राताम्य बनाएको छ । चुरे शृङ्खलाको पाहाडी थुम्कोमा अवस्थित हुँदा अचेल यसलाई मधेशको कैलाश पनि भन्ने गरिएको छ । यस्तै नेपालको ‘बाबाधाम’ पनि भनिने टुटेश्वरधाममा यसपालि साउन लागेयता सबैभन्दा बढी भक्तालु आज देखिएका टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष हितबहादुर पौडेल बताउनुहुन्छ ।

“साउन लागेयता दिनदिनै भक्तहरु आउँदैछन् , तर आज सबैभन्दा बढी छन्” आज मध्यान्हपूर्व ४० हजार बढीले शिव दर्शन गरीसकेका छन् , साँझसम्म यो सङ्ख्या एक लाखको हाराहारीमा पुग्ने देखिन्छ” पौडेलले भन्नुभयो । टुटेश्वरनाथमा मधेशका विभिन्न जिल्ला र छिमेकी भारतका सीतामढी, शिवहर, पूर्वीचम्पारण, पश्चिमीचम्पारण, बेतिया, मधुवनी, झञ्झारपुर र मुजफ्फरपुरसम्मका दर्शनार्थी हाइरहेका पौडेलको भनाइ छ ।

माण्डवीगङ्गा (मडाहा) नदी किनारमै चुरे पाहाडी शृङ्खलाको एउटा थुम्कोमा अवस्थित टुटेश्वर मन्दिर वरीपरी आज हजारौं भक्तजन पुगेका छन् । अहिले मध्यान्हपछि पनि राजमार्गको टुटेश्वरचोकदेखि मन्दिरसम्मै पूरै सडक ढाकेर बोलबमको नारा लगाउँदै हिंडेका भक्तजनको अटुट पङ्ति देखिदो छ ।

यसपालि साउन सात (७) गते पहिलो सोमबार परेको थियो । त्यसैगरी साउन १४ गते दोस्रो र आज तेस्रो सोमबार हो । अब यसै साउनको २८ गते पर्नेसहित यसपालि साउनमा चार सोमबार परेका छन् । सौरमास र चन्द्रमास गणनामा परेका यी चारका अतिरिक्त चन्द्रमासअनुसार भदौ ३ गतेको समेत पाँच सोमबार हुनेछन् । सोमबारका दिन साउने मेलाको थप चहलपहल हुने भएपनि शिवभक्ति र आराधनाका लागि साउन महिनाका जुनसुकै दिन महिमायुक्त रहेका शिव आराधना समूह भङ्गाहा-४ महोत्तरीका कुशेश्वर यादव बताउनुहुन्छ ।

भक्तजनले शिवलिङ्गमा चढाउन उतरायणी कमला, वागमती र जिल्लाकै गौशाला-८ स्थित माण्डवीगङ्गा (मडहा) वरुणवती (बेलगाछी) र स्वणर्मती (सोनी) नदीको त्रिवेणी सङ्गमबाट जल भरेर ल्याएका छन् । आज यी ठाउँबाट जल भरेर कतै नरुकी शिवलिङ्गमा चढाउन आउने ‘डाकबम’ पनि तीन हजार नाघेका टुटेश्वरनाथ साउने मेला व्यवस्थापन समितिले जनाएको छ । यसअघि पस्रेर (लम्पसार पर्दै) यात्रा गर्ने ३० जना दण्डीबमले हिजो आइतबार नै शिव दर्शन गरीसकेका छन् ।

घना वनक्षेत्रभित्र आठ किलोमीटर दुरी पैदल यात्रा गर्दा खास ठाउँ जाँदैछु भन्ने अनुभूति हुने र मन्दिर परिसर नदी किनारको पाहाडकोे थुम्कोमा रमणीय देखिनुले यो धार्मिकस्थलको आकर्षण बढेको भारतीय दर्शनार्थी बताउँछन् । टुटेश्वरनाथ अनादिकालको शिवलिङ्ग मानिन्छ । विक्रम सम्वत् २००२ सालमा वन फडानी गरेर बस्ती बसाउने क्रममा यहाँ फेला परेका शिवलिङ्ग, बसाहा र अन्य धातुका सामानको अध्ययनले यो महाभारतकालीन हुनसक्ने संस्कृतिविदले लख काटेका छन् । टुटेश्वरनाथसँग जोडेर अहिले रामायणकालीन र महाभारतकालीन जनश्रुति सुनिन्छन् । मिथिला माहात्म्यमा वणर्ित माण्डवीगङ्गा, वरुणवती र स्वणर्मती नदीका माझमा टुटेश्वर मन्दिर अवस्थित छ । अघि द्वापर युगमा अर्जुनले यसै ठाउँमा शिवको तपस्या गरेर पाशुुपतास्त्र प्राप्त गरी दिव्यास्त्रका लागि स्वर्ग गएका कथा टुटेश्वर बस्तीका ७० वर्षीय मोतीलाल गौतम बताउनुहुन्छ । यो प्रसङ्ग मैथिली संस्कृतिका अध्येता पर्यटन व्यवसायी गुञ्जबहादुर कार्कीले पनि बताउने गर्नुहुन्छ ।

अहिले साउने सोमबारी पर्वले एकअर्को प्रदेशको पर्यटन प्रबद्र्धनमा पनि सहयोग पुगेको छ । अहिले वागमती प्रदेशको सिन्धुली जिल्लाको दुधौली नगरपालिका-२ हतपतेको लङ्गुरस्थानस्थित दुधेश्वरनाथ पुग्नेमा मधेशका भक्तको सङ्ख्या उल्लेख्य छ । त्यसैगरी कोशी र वागमती प्रदेशका भक्तजन महोत्तरीका शिवालयमा बाक्लै भेटिएका छन् । टुटेश्वरका अतिरिक्त आज जलेश्वरस्थित जलेश्वरनाथ, मगरथानास्थित मङ्गलनाथ र भङ्गाहा-५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिरमा पनि हजारौं भक्तजनले शिव दर्शन र पूजाआराधना गरेका छन् ।

हिन्दू परम्परामा साउनको सोमबारका दिन शिवलिङ्गमा जलपूmल चढाएर व्रत उपवास बसे पुण्य प्राप्त हुने जनविश्वास छ । शिवालयमा हुने भक्तको जमघटलाई पर्यटन प्रवद्र्धनमा जोड्न भने काम नभएको जिल्लाका बुद्धिजीवीले टिप्पणी गरेका छन् । यद्यपि यसपालि चालु आर्थिक वर्ष २०८१/०८२ मा केन्द्र र मधेश प्रदेश सरकारले टुटेश्वरनाथको विकासका लागि वजेटमा एक करोड बढी रकम विनियोजन गरेका छन् ।

२०८१ श्रावण २१, सोमबार १९:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय