बर्दिबास (महोत्तरी) ३० साउन ।
महोत्तरीको बर्दिबासमा सडक मानव र आश्रयविहीनका लागि निर्माण गरिने हाम्रो मायाघरका लागि शिवपुराण महायज्ञबाट दुई करोड सङ्कलन भएको छ ।
साउन २१ गतेदेखि हिजो मङ्गलबारसम्म बर्दिबासमा सञ्चालित महायज्ञबाट दुई करोड हाम्रो मायाघरका लागि सङ्कलन भएको शिवपुराण महायज्ञ आयोजक समितिले जनाएको हो । महायज्ञमा सरिक भएका श्रद्धालु दाताबाट यो रकम प्राप्त भएको समितिका संयोजक हिरालाल गौतमले बताउनुभयो ।
“हामीले हाम्रो मायाघर निर्माणको सहयोगार्थ नै महायज्ञ आयोजना गरेका थियौं, श्रद्धालुबाट मन खोलेर रकम प्राप्त भएको छ” संयोजक गौतमले भन्नुभयो । प्राप्त नगद दुई करोडबाहेक महायज्ञस्थलमै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले हाम्रो मायाघर निर्माणमा एक करोड उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको गौतमको भनाइ छ ।
बर्दिबासमा हाम्रो मायाघर निर्माणका लागि आज बुधबार दिउँसो नै पुराणवाचिका राधिका दासीले भवन शिलान्यास गर्नुहुने कार्यक्रम छ । पुराणवाचिका दासी नै हाम्रो मायाघरको कल्पनाकार र अहिले संरक्षकको भूमिकामा हुनुहुन्छ । दासी नै सम्पन्न महायज्ञमा कथावाचिका रहनुभएको थियो ।
बर्दिबास-२ मा हाम्रो मायाघर निर्माणका लागि दाताहरुबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भइ सोको पक्की पर्खालको घेराबेरा यसअघि नै भइसकेको छ । भवन निर्माणका लागि १० करोड ६९ लाख ४५ हजार ४७७ को लागत लाग्ने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।
प्रस्तावअनुसार निर्माण हुने बालबालिका र अपाङ्गता मैत्री तथा भूकम्प प्रतिरोधी अत्याधुनिक हाम्रो माया घरका दुई वटा भवन बन्ने विस्तृत परियोजना प्रस्ताव छ । खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुई तले र अर्को चारतलेमा गरी १२ कोठा हुनेछन् । जसमा सभा भवन, कृडाकक्ष र अध्ययनकक्ष छन् । जम्मा २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने हाम्रो मायाघर बर्दिबास समितिले जनाएको छ ।
हाम्रोे माया घर निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने समितिले जनाएको छ । आफ्नै भवन तयार भएर सञ्चालन हुन अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व भने समितिले लिइरहने र त्यस समयसम्मका लागि इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले स्पष्ट पार्नुभयो ।