बर्दिबास (महोत्तरी) ३० साउन ।

सडक मानव तथा अभिभावकविहीन अनाथ बालबालिकाका लागि महोत्तरीको बर्दिबास-२ बुद्धचोकमा आश्रयस्थल निर्माण प्रारम्भ भएको छ ।

‘हाम्रो मायाघर’ संस्थाको अग्रसरतामा बन्ने आश्रयस्थलको आज बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गर्नुभएसँगै निर्माण कार्य सुरु भएको हो । निर्माण थालिएको आश्रयस्थललाई ‘हाम्रो मायाघर’ नाउँ दिइएको छ ।

आश्रयस्थल निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले यही साउन २१ गतेदेखि २९ गतेसम्म आयोजित शिवपुराण महायज्ञबाट दुई करोड ४० हजार १८६ रुपैयाँ प्राप्त भएपछि निर्माण कार्य थालिएको हो । हाम्रो मायाघर निर्माणका लागि महायज्ञबाट प्राप्त रकमबाट काम थालिएसँगै सहयोग थपिने क्रम जारी रहेको हाम्रो मायाघर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले बताउनुभयो । हाम्रो मायाघर निर्माणका लागि सहयोगार्थ आयोजित महायज्ञमा प्रसिद्ध पुराणवाचिका राधिका दासी नेतृत्वको पण्डित टोलीले कर्मकाण्ड, पाठ पारायण र कथावाचन गरेको थियो ।

अब निर्माण कार्य गतिमा अघि बढ्ने हाम्रो मायाघर बर्दिबास समितिको दृढता छ । “हाम्रो मायाघर निर्माणमा लाग्ने ७१ हजार इँटा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीबाट प्राप्त हुने भएको छ, अन्य सहयोग पनि जुट्दैछन्” गौतमले भन्नुभयो, “सहयोगका प्रतिबद्धता थपिदै गएपछि निर्माण कार्य थालेका हौं, अब यो गतिमा अघि बढ्छ ।”

बर्दिबास-२ मा दाताहरुबाट प्राप्त पाँच कठ्ठा १० धुर जग्गामा यसअघि नै पक्की पर्खालको घेराबेरा लागेको छ । निर्माण थालिएको हाम्रो मायाघरमा १० करोड ६९ लाख ४५ हजार ४७७ लागत लाग्ने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ । बर्दिबास-२ मा हाम्रो मायाघर निर्माणका लागि दाताहरुबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भइ सोको पक्की पर्खालको घेराबेरा यसअघि नै भइसकेको छ ।

भवन निर्माणका लागि १० करोड ६९ लाख ४५ हजार ४७७ को लागत लाग्ने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ । प्रस्तावअनुसार बालबालिका र अपाङ्गता मैत्री तथा भूकम्प प्रतिरोधी अत्याधुनिक हाम्रो मायाघरका दुई वटा भवन बन्नेछन् । खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुई तले र अर्को चारतलेमा गरी १२ कोठा हुनेछन् । जसमा आबास, भोजनालय, सभा भवन, कृडाकक्ष र अध्ययनकक्ष छन् । जम्मा २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने हाम्रो मायाघर बर्दिबास समितिले जनाएको छ ।

शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले हाम्रो मायाघर निर्माणमा प्रदेश सरकारको साथसहयोग रहने प्रतिबद्धता जनाउनुभयो । “सडक मानव र अभिभावकविहीन अनाथ बालबालिकाको व्यवस्थापनका लागि थालिएको पूण्य कार्यमा प्देश सरकार तपाईँहरुको साथ छ” मुख्यमन्त्री सिंहले भन्नुभयो । यसअघि प्रदेश सरकारकै भौतिक पूर्वाधार मन्त्री सरोज यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मिञाँले हाम्रो मायाघर निर्माणमा सहयोगको प्रतिबद्धता जनाइसक्नु भएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

शिलान्यास समारोहमा मधेश प्रदेशसभा सदस्य शारदा थापा तथा बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्रीले हाम्रो मायाघर निर्माण कार्य अब निर्विघ्न अघि बढ्ने बताउनुभयो । यसमा जेजस्तो भूमिका आइपर्छ त्यसका लागि आपूmहरु तत्पर रहेको दुबै जनाको प्रतिबद्धता व्यक्त भएको छ ।

भवन पाँच वर्षभित्रै सञ्चालनमा आइसक्ने हाम्रो मायाघर बर्दिबास समितिले जनाएको छ । भवन तयार भएर सञ्चालन हुन अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व भने समितिले लिइरहने र त्यस समयसम्मका लागि इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले स्पष्ट पार्नुभयो ।

शिलान्यास समारोह शिवपुराण महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०८१ श्रावण ३०, बुधबार २२:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय