मटिहानी (महोत्तरी) , ३१ साउन ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर सहिद केशव कोइरालाको ५० औं स्मृति दिवस आज मनाइएको छ । महोत्तरीको मटिहानी-८ राम माध्यमिक विद्यालय परिसरस्थित सहिद केशव कोइराला स्मारकस्थलमा निर्मित सहिद प्रतिमामा माल्यार्पण र श्रद्धासुमन व्यक्त गर्दै उहाँको ५० औं स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले सहिदप्रति सम्मान व्यक्त गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहिद कोइरालाको सहादतले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लाग्न आम मटिहानीबासीलाई प्रेरित गरेको बताउनुभयो । मण्डलले सहिदको योगदान र सहादतलाई पछिसम्म सम्झना राख्न सहिद केशव कोइरालाका नाउँमा उद्यान, स्मारक र सभाहल निर्माण गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक सङ्संस्थाका प्रतिनिधिले सहिद केशव कोइरालाको सङ्घर्षपूणर् जीवनबारे प्रकाश पार्नुभयो । नेपाली काँग्रेसका बैजनाथ मण्डल, नेकपा (एमाले) का जुगेश्वर खत्बे, नेकपा माओवादीकेन्द्रका उमाशङ्कर साह र लोसपाका श्यामकुमार मण्डल र जवाहर साह कसेराजसहितले सहिद केशव कोइरालाको सहादतले मटिहानीको परिचयमा प्रजातान्त्रिक आन्दोलन जोडिएको स्मरण गर्नुभयो । सो अवसरमा राम माविका प्रधानाध्यापक श्रीष मिश्रले ओखलढुङ्गाको भएर पनि सहिद केशवले उर्जावान उमेर मटिहानीमा बिताउँदै यस भेगमा पञ्चायतविरुद्ध जनमत निर्माणमा योगदान दिनुभएको बताउनुभयो ।

कार्यक्रम सहिद केशव कोइराला स्मृति प्रतिष्ठान मटिहानी, महोत्तरीका अध्यक्ष उपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

विक्रम सम्वत् २०१७ सालमा संसदीय प्रजातान्त्रिक व्यवस्था खोसिएर पञ्चायती व्यवस्था लादिएपछि कोइराला विद्यार्थी जीवनमै नेपाली काँग्रेसमा आबद्ध भएर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा होमिनु भएको थियो । मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) मा अध्ययनरत रहेकै बेला काँग्रेसको सशस्त्र आन्दोलनमा लाग्नु भएका कोइरालालाई महोत्तरीबासीले आदरका साथ सम्झने मटिहानीकै बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी बिन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ । कोइरालाले २०३१ साल साउन ३१ गते मटिहानी प्रहरी चौकी कब्जा गर्ने क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गर्नुुभएको हो ।

मटिहानी प्रहरी चौकीमा बिष्फोटको योजना बनाउने तत्कालीन नेपाली काँग्रेसका नेताहरु गणेश नेपाली, बलराम शर्मा, महेश कोइराला, श्रीधर झा र केशव कोइरालामध्ये २०३१ साल साउन ३१ गते राती चौकीमा बिष्फोटको जिम्मेवारी साथीहरुबीच लिनुभएका कोइरालाले बिष्फोट गराएलगत्तै प्रहरीले गरेको फायरिङ्गमा उहाँको निधन भएको मटिहानीबासी सम्झन्छन् ।

विक्रम सम्वत् २००७ सालमा पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेर महोत्तरीलाई प्रजातान्त्रिक आन्दोलनको कर्मक्षेत्र बनाउनुभएका सहिद कोइरालाको सहादतलाई चिरस्थायी बनाउन मटिहानी-जलेश्वर सडकको नामकरण सहिद केशव कोइराला मार्ग गरिनु पर्ने र उहाँको सहादतस्थल अहिलेको श्रीराम माध्यमिक विद्यालय परिसरमा मित्रराष्ट्र भारतको सहयोगले बनेको विद्यालय भवनको नाउँ पनि सहिद केशव विद्या सदन राखिन पर्ने सहिद केशव कोइराला स्मृति प्रतिष्ठान मटिहानी (महोत्तरी)का अध्यक्ष चौधरीको माग छ ।

सहादतस्थलमा मटिहानी नगरपालिकाले स्मारकस्थल र सहिद केशव कोइरालाकै नाउँमा सभाभवन निर्माण गरेको छ । स्मारकस्थलमा सहिद प्रतिमा उहाँकी धर्मपत्नी गुणकुमारी र छोरी समिता कोइरालाले स्थापित गर्नुभएको हो । सहिद केशव कोइरालाको प्रतिमा गत चैत ३ (तीन) गते राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गर्नुभएको हो ।

कोइराला कलकलाउँदो २४ वर्षे उमेरमा काखकी छोरी र पत्नीलाई छाडेर प्रजातान्त्रिक आन्दोलनमा लाग्नु भएको थियो । सहादतको निकै वर्षपछिमात्र २०७४ सालमा केपी ओली नेतृत्वको सरकारले कोइरालालाई सहिद घोषणा गरेको हो । शहीद कोइरालाका परिवारमा धर्मपत्नी गुणकुमारी, छोरी समिता र छोरीतर्फका दुई नाति रहेका छन् । समिताका पति उज्ज्वल बराल नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्छ ।

२०८१ श्रावण ३१, बिहीबार १६:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय