महोत्तरी, ३२ साउन ।

मधेशको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो ।

अहिले मिथिलाक्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् । साउन शुक्ल त्रितीयादेखि पूणर्िमासम्म चल्ने झुलाउत्सवमा सीता र राम एबं राधा र कृष्णका प्रतिमा झकिझकाउ झुला (डोली वा झोलुङ्गा, कोक्रोे) मा राखेर झुलाइन्छ ।

झुला पर्वमा गाइने झुला, मलार र कजरी लयका गीत भक्तिरसले भरिएका हुन्छन् । कुनैमा राधाकृष्णको र कुनैमा रामसीताका प्रसङ्ग हुन्छन् । सबै गीतमा झुलाकै वणर्न हुन्छ ।

‘झुला झुले जनकदुलारी,

झुले सुकुमारी ना….!’ यी पङ्तिमा सीताजी झुला झुलेको वणर्न छ ।

यसैगरी यस पर्वमा कैयन गीत र भजन गाइन्छन् ।

‘झुला झुले अवधविहारी लाल,

सँगमे सुकुमारी झुले ना…!’ (श्रीराम झुला झुल्दैछन् , साथमा जानकी पनि झुल्दैछन् ) ।

रामसीता, राधाकृष्णका प्रसङ्ग जोडिएका हुँदा यो पर्व भगवान विष्णु र देवी लक्ष्मीसँग सम्बन्धित रहेको मैथिली लोकसंस्कृतिका ज्ञाता बताउँछन् । राम कृष्ण दुबै विष्णुका र सीता, राधा लक्ष्मी स्वरुपा (अवतार) मानिने हिन्दू जनविश्वास छ । यसैले झुला पर्व विष्णुलक्ष्मी आराधना र सेवासँग सम्बन्धित रहेको मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर-५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

झुला पर्वमा गाइने गीतमा अवध (अयोध्या), जनकपुरधाम र वृन्दावनका प्रसङ्ग पाइन्छन् । कृष्ण र वृन्दावन वणर्नका यी पङ्ति पर्वविशेषमा खुबै सुनिन्छन् ।

‘झुला लागल वृन्दावन ना…,

आयल सावन सयविसु सुहावन

झुला लागल वृन्दावन ना…!

झुला झुले कृष्णमुरारी,

झुला लागे कदमके डाली,

झुले कृष्णमुरारी ना….!’

(वृन्दावनमा झुला लागेको छ । अत्यन्त रमणीय (सुशोभित) साउन महिनामा वृन्दावनमा झुला लागेको हो । झुलामा कृष्णमुरारी झुल्दैछन् । कदम (कदम्ब, राम्रो पूmलको वृक्ष) का हाँगामा झुला (पिङ्) लागेको छ । जसमा कृष्णमुरारी झुल्दैछन् ) ।

रामसीताको होस् वा राधाकृष्णको होस्, झुला पर्वको वणर्नमा उपवन (वन, बगैंचा) का आँप, कदम्ब वा यस्तै सुवासयुक्त वृक्षका हाँगामा झुला (पिङ्) भुण्ड्याइएको र त्यसमा आफ्ना प्रियतमासाथ राम , कृष्ण झुलेका गीतमा भाव समेटिएका छन् । साउनको बर्खाले जताततै हरियाली हुने बेला धान रोपाइँ सकेर बगैचाका आँप, कदम्बलगायतका वृक्षका हाँगामा लच्कदै पिङ् खेलिने मिथिला संस्कृतिसँग जोडिएको पक्ष रहेको प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । झुला गीतमा साउनको वणर्न भने बाक्लै पाइन्छ ।

‘सावनमे उपवन खिले,

झुला झुले नन्दकिशोर !

आमक डाइरमे लागल

हिरोला झहरय नभ घनघोर !!

(साउनमा वनभरि पूmल खिल्छन् , उपवन हराभरा हुन्छ । यसैबेला श्रीकृष्ण झुला झुल्छन् । आँपको हाँगामा मच्चिदा त्यहीबेला आकाशबाट जल वर्षा हुन्छ) आँपको हाँगा समातेर मच्चिदा पातमा जम्मा भएका बर्सात्को पानी झरेको प्रसङ्ग यहाँ कोट्याइएको छ ।)

साउनको पनि पछिल्लो शुक्लपक्ष मिथिलामा मुख्यबाली धान रोपेर सकिएपछिको समय हुन्छ । यतिखेर किसान मन्दमन्द पानी परीरहोस् भन्ने कामना गर्छन् । यसैबेला धानको रोपो हरियो फेरिएर लहलहाएको दृश्यले किसान आफ्नो मेहनतप्रति मख्ख पर्छन् । प्रकृतिले जताततै सुन्दरता बिखेरेको यो बेला रमाउन नै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना इष्टदेवदेवी राम, कृष्ण एबं सीता , राधासँग खेलेको अनुभूति सँगाल्न झुला पर्वमा रमाउने गरेका जलेश्वरकै बखरीटोलका बासिन्दा तथा मिथिला लोकसंस्कृतिका ज्ञाता पूर्वप्रशासक ८५ वर्षीय महेश्वर राय बताउनुहुन्छ ।

मिथिलाको यो लोकसंस्कृतिसँग जोडिएको खास पर्व बनेको छ । घरघरमै यो पर्व मनाइन्न । आफ्ना बस्ती नजिकका मठमन्दिरमा सामुहिक रुपमा भगवानलाई झुला झुलाउँदै मैथिल यो अवधिभरि गीत, भजनकीर्तन र नृत्यमा रमाउँछन् ।

पर्वमा नेपाल र भारतका मठमन्दिरमा सराबरी ओहोरदोहोर देखिन्छ । नेपालका भारतीय सीमाक्षेत्रका मठमा भारतीय र भारतकै सीमाक्षेत्र नजिकका बस्तीस्थित मठमन्दिरमा नेपाली भरिभराउ हुन्छन् । सीमाक्षेत्रका दुबैतर्फका भाषा, संस्कृति र समान रहनसहनसँगै बिहाबारीको बाक्लोसम्बन्धले अन्य मुलुकमा छु भन्ने कसैको सोचमै देखिदैन । अहिले पर्वका बेला मुलुककै मठहरुको नायक मानिने मटिहानीस्थित लक्ष्मीनारायण मठमा भारतका कैयौं मठमन्दिरका देवीदेवताका प्रतिमा झुला झुलाउनै ल्याइएका छन् ।

झुलाउत्सवका लागि छुट्टै घर निर्मित छ । जसलाई झुलाघर भनिन्छ । अहिले प्रत्येक साँझ सीता र राम, लक्ष्मी र नारायण एबं राधा र कृष्णका प्रतिमा मन्दिरबाट झुलाघरमा ल्याइ विशेष रुपले सजाइएका कोक्रामा राखेर श्रद्धालुले भक्तिगीत गाउँदै हल्लाउने (झुलाउने) गर्छन् । साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने यो उत्सवका लागि वरपरका कैयन मठमन्दिरका प्रतिमा अहिले मटिहानी ल्याइएका छन् । प्रत्येक साँझ आयोजन हुने यो उत्सवमा सर्वसाधारण सरिक हुँदै आएका छन् ।

“हाम्रा परम्पराका अधिकांश पर्व आफ्नै घरमा मिठोमसिनो खाएर मनाइने छन् , तर झुला मठमन्दिरमै जम्मा भएर मनाइन्छ , यो हाम्रो विशेष पर्व हो” मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “हामीले पर्वका लागि बर्सेनि झुलाघर रङ्गरोगन, सरसजावट र अभ्यागत (पाहुना, अतिथि) बसोबासको प्रबन्ध गर्दै आएका छौं ।” पर्व अवधिभरि झुलाघरमा भगवान र भगवतीलाई झुलाइएपछि दैनिक आरती र भोग लगाइएको विशेष प्रसाद सबैलाई बाँड्ने गरिएको छ ।

यो पर्वमा देव देवी प्रतिमालाई विशेष डोली आकारको सिंहासनमा राखेर झुलाउने मुख्य विधि हो । खासमा बालरुप कृष्ण र रामको सम्झनामा यो पर्व परम्परा चलेको मिथिला लोकसंस्कृति तथा परम्पराका जानकार बताउँछन् । माता कौशल्या र यशोदाले राम र कृष्णलाई बालख छँदा झोलुङ्गोमा राखेर हल्लाउनु भएको प्रतीकका रुपमा यो पर्व परम्परा चलेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । भगवानका बालरुप आनन्ददायक मानिने हुँदा श्रद्धालुले यो चलन बसालेका झाको भनाइ छ ।

झुलामा प्रतिमा राखेर झुलाइने क्रममा गीत, कथा र लीलासन्दर्भका गाथा सुनाइन्छन् । प्रतिमा झुलाउने क्रममा भक्तिमा डुबेका श्रद्धालु कीर्तन गाउँदै नाच्छन् । पर्वभरि झुलाघरमा उत्सवमा सहभागी हुनेको भीड लाग्छ । यो पर्व मटिहानीका अतिरिक्त जनकपुरस्थित मठमन्दिरमा आयोजन हुँदै आएका छन् । झुला उत्सवमा मिथिलाको लोकलयमा झुला , मलार र कजरी गीत गाइने चलन छ ।

मिथिलामा झुला उत्सव जानकी मन्दिरका आदिसन्त सुरकिशोर दासले सुरु गराएका मानिन्छ । यो विक्रम सम्वत् १७८७ तिर सुरु भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । सन्त सुरकिशोर दास र वैदेही (जानकी, सीता) बीच सिधा सम्पर्क हुन्थ्यो भन्ने जनविश्वास छ । सन्त सुरकिशोरलाई वैदेहीले साउन शुक्लपक्षमा यो पर्व मनाउन भनेपछि जनकपुरमा झुला सुरु भएको बताइन्छ । यकिनमा यो चलन रामजन्मभूमि अयोध्या र कृष्णको बाललीला स्थान मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको डा. विमलको भनाइ छ ।

मिथिलामा धानको रोपाइँ सकिनासाथ सर्वसाधारण झुला उत्सवमा रमाउने गर्छन् । यसैबेला मैथिल किशोरकिशोरी र युवायुवती बगैंचाबगैंचा डुल्दै आँप र कदम्ब (कदम) का हाँगामा मच्चिएर झुलाको आनन्द लिन्छन् । यसरी बगैंचामा वृक्षका हाँगामा मच्चिएर झुल्दै युवायुवती आआफ्ना प्रेमीप्रेमिकाको सम्झना गर्छन् ।

‘छल मनोरथ आओत मास सावन यो,

हमर बालम किछु नई जानथी तेजी गेला विदेश यो !

साओन हे सखी सर्व सोहाओन फुलय बेलीचमेली यो,

ताही सौरभ भ्रम लुबधल करय मधुर रस केली यो !!

(मनमा थियो, साउन महिना आउनेछ । तर छलछाम केही नजान्ने मेरा प्रेमी अहिले मलाई छाडेर विदेश गएका छन् । साउनको बेला हे सखी बेलीचमेली पूmल फुलेर सुशोभित देखिन्छ । यी पूmलको सुगन्ध युक्त बास्नाले भमरा लोभिएर पूmलको मिठासयुक्त रसमा लठ्ठिदा छन् )साउन शुक्लपक्षमा विदेशिएका प्रेमीको सम्झना गर्दै मैथिल युवतीले यसरी बिरह पोख्छन् ।

मिथिलाको १३ दिने झुला उत्सव साउन पूणर्िमाको मध्यरातमा भगवानलाई झुलाइने कोक्राको डोरी छिनाएर समापन गरिने चलन छ ।

मिथिला लोकसंस्कृतिको केन्द्र रहँदै आएको जनकपुरधाममा सीताजीको विवाहमा राजा जनकले दिएका दाइजोका सामानको थुप्रो लागेर पाहाडजस्तै बनेको जनश्रुति छ । जसलाई अहिले मणिपर्वत भनिन्छ । साउन शुक्लपक्षको त्रितीयाका दिन यसै मणिपर्वतको पूजा गरेर झुला उत्सव सुरु गर्ने मैथिल परम्परा छ । भगवत सेवा र सामिप्यता यस पर्वका खास आकर्षण रहेका मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।

२०८१ भाद्र १, शनिबार १३:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय