१३ असोज,
बर्दिबास :
 पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दूहरु महापर्व बडादसैं पर्वको तयारीमा जुटेका छन् । बडादसैं पर्वको घटस्थापना नजिकिदै गर्दा महोत्तरीको बर्दिबास-१ स्थित दुर्गा मन्दिरमा नवरात्र पूजनोत्सवको तयारी थालिएको छ ।

श्री दुर्गा मन्दिर धार्मिक पर्यटकीय स्थल व्यवस्थापन समिति बर्दिबास-१ ले यसपालिको दुर्गा पूजनोत्सवको तयारी थालेको हो । नवरात्र उत्सव मनाउन गठित दुर्गा पूजा समिति-२०८१ ले आज आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर यसपालिको दुर्गा पूजनोत्सवको कार्यक्रमबारे जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा दुर्गा पूजा समिति-२०८१ क (का)संयोजक सुमित्रा भट्टराईले यसपालि यही आउने बिहीबार नवरात्र प्रारम्भका दिन उत्सवमय घटस्थापना कार्यक्रम सम्पन्न गरिने बताउनुभयो । घटस्थापनाका दिन बिहान सात (बजे ) कन्याकुमारी, सन्तमहन्थ, उद्यमीब्यापारी तथा आम नागरिक समाजलाई कलशयात्रामा सहभागिताका लागि दुर्गा पूजा समिति-२०८१ ले सार्वजनिक अपिल गरेको छ । मन्दिरमा वैदिक विधिबाट घटस्थापना गरिएसँगै सोही दिन जमरा राखेर नवरात्रको नियमित पूजापाठ सुरु गरिने समितिका संयोजक भट्टराईले बताउनुभयो ।

समितिले यसपालिको नवरात्रमा दैनिक बिहान वेलुकाको छ बजे भव्य आरती, दैनिक चण्डीपाठ र दुर्गापूजन, नवरात्र अवधिमा प्रत्येक दिन साँझ साढे सात बजेदेखि साढे नौबजेसम्म दुर्गा भजन कार्यक्रम आयोजना हुने जनाएको छ । नवरात्रका पछिल्ला तीन दिन (असोज २३, २४ र २५ गते) ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुबाट साङ्गितिक प्रस्तुतिका कार्यक्रम तय गरिएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।

नवरात्रको षष्ठीका अर्थात् यही असोज २३ गते बुधबार दिउँसो साढे दुई बजे बेल निमन्त्रणा कार्यक्रम आयोजना गरिएको छ । यसैगरी असो २४ गते बिहीबार दिउँसो साढे दुई बजे फुलपाती भित्रिने कार्यक्रम छ । नवरात्रभरि देवीपूजन उत्सवपछि विजया दशमीका दिन (असोज २६ गते शनिबार) श्रद्धालु भक्तलाई देवीप्रसादका रुपमा जमरा प्रदान र असोज २७ गते पुलपाती जलप्रवाह गरिने कार्यक्रम बनेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसपालिको दुर्गा पूजनोत्सवका लागि दुर्गा पूजा समिति-२०८१ मतहत विभिन्न नौ वटा उपसमितिले काम अघि बढाएका छन् । पत्रकार सम्मेलनमा बाबुकाजी चौंलागाँई , टङ्कप्रसाद पोखरेल र रोहित भट्टराईसहितका उपसमिति संयोजकले आआफ्ना तयारीबारे जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा श्री दुर्गा मन्दिर धार्मिक पर्यटकीय स्थल व्यवस्थापन समिति बर्दिबास-१ महोत्तरीका अध्यक्ष पर्शुराम गिरीले मन्दिरलाई मनोरम पर्यटकीयस्थलको रुपमा विकास गर्न थप प्रयत्न अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका संयोजक हिरालाल गौतमले दुर्गा पुजनोत्सवको तयारीले पछिल्लो युवा पुस्तालाई पारम्परिक पर्वका तयारीमा जोड्नसँगै संस्कृति परम्पराको परिचय बढाउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

बर्दिबासस्थित भोलावसन्तचोकबाट करिब ५०० मीटर उत्तर वनक्षेत्रको हराभरा परिवेशसँगै जोडिएर निर्मित यो दुर्गा मन्दिर यसक्षेत्रकै धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने बर्दिबासबासीले अपेक्षा सँगालेका छन् । यसका लागि आम नागरिक चासो र सहयोग अपरिहार्य भएको समितिको अपिल छ ।

२०८१ आश्विन १३, आईतवार १६:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय