२६ असोज,
महोत्तरी: मधेशको मिथिलाक्षेत्रमा आज रावणवध उत्सव मनाइँदैछ । अघि त्रेता युगमा श्रीरामले आज (असोज शुक्ल दशमी) कै दिन राक्षस नायक रावणलाई युद्धमा वध गरेका विश्वासमा मैथिल (मिथिलाका बासिन्दा) आज रावणवध उत्सव मनाउँदैछन् ।
बडादसैं (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावत्र्ती मुख्य नाका मटिहानीमा भने विजया दशमीका दिन रामायण गाथा गाइन्छ । नवरात्रभरि पनि यहाँ आयोजित धार्मिक अनुष्ठानमा देवी महिमा गायनसँगै नियमित रामायण पाठ गर्ने परम्परा छ । दशमीका दिन बिहान शारदीय नवरात्रको देवी पूजन विसर्जन गरेपछि मैथिल रामायण उत्सवको तयारीमा जुट्छन् । बर्सेनि ‘रावण वध’ मेला नै आयोजन गरेर दशमीका दिन रावणरुपी दुष्ट पवृतिको अन्त्य भएको खुशियालीमा उत्सव मनाउने मटिहानीको सयौं वर्ष पुरानो परम्परा हो ।
नवरात्रभरि (असोज शु्क्लपक्ष लागेदेखि नै) राम-रावणको घमासान युद्ध भएको र दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले रावणलाई ढाल्नु भएको विश्वासमा मटिहानीमा रावणवध मेलाको आयोजन हुँदै आएको छ । दशमीका दिन त्यहाँ निर्मित अजङ्गको रावण प्रतिमालाई दशमीका दिन सूर्यास्त हुन केहीअघि श्रीरामको भूमिकाका कलाकारले तीर (धनुषवाण) हानेर लडाएपछि विजय उत्सव मनाइदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । यसै परम्पराअनुसार आज सन्ध्याअघि प्रतिकात्मक ‘रावणवध’ सम्पन्न गरिएको हो ।
रावणवध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् । यहाँ वर्षाकाल बितेपछि शरद ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लङ्का पुग्नु भएको र रावणसँग युद्ध गरेर सत्य स्थापित गर्नु भएको विश्वासमा मेला परम्परा चल्दै आएको छ । रावणवध मेलाका अवसरमा अशोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ ।
रावणवध भएपछि साधुसन्तलाई भोजन गराइ दक्षिणा दिने र श्रीराम किर्तन गर्दै उत्सव मनाउने यहाँको चलन छ । श्रीरामले रावणको संहार गर्नु भएको र देवीले महिषासुरसहितका दैंत्यको मर्दन गर्नुभएको चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वानहरुको मत छ । देवीको लडाँइ सत्य युगमा र श्रीरामको त्रेता युगमा भएपनि दुबै लडाँइ असोज शुक्लपक्षमै भएकाले विजया दशमीमा रावणवध मेला आयोजन हुने गरेको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त वेदवेदान्त तथा मिथिला माहात्म्यका ज्ञाता रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।
रावणले हरण गरेकी सीतालाई आफ्नी चेली (दिदीबहिनी) मान्ने मैथिल परम्पराले पनि उनको मुक्ति रावणवधबाट सम्भव भएको हुँदा यो मैथिलका लागि खास उत्सव बनेको जलेश्वर-५ पतैलीका बासिन्दा मिथिला माहात्म्यका नेपाली अनुवादक उपप्राध्यापक ध्रुव रायको भनाइ छ ।