मटिहानी (महोत्तरी), २० पुस ।
मधेशका अति विपन्न र अवसरबाट वञ्चित मुसहर र डोम जाति समुदायको बस्ती नेपाली सेनाले जाडोमा न्यानो पुर्याएको छ । मुटु कमाउने जाडोबीच लुगाा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ को दलित बस्तीका मुसहर र डोम जाति समुदायका परिवारले नेपाली सेनाको न्यानो ओढ्ने पाएका छन् । दुबै बस्तीका १२३ दलित परिवारलाई सेनाको परिकौली (महोत्तरी)स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) आज शनिबार वितरण गरेको हो ।
मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा सेनाका गणपति विनोद विकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहितले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गर्नुभएको हो ।
जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अति विपन्न परिवारलाई कम्बल प्रदान , चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया ख्वाउने सेवा दिदै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानि पाठकको भनाइ छ ।
सेनाले जाडोमा सहयोगका लागि अति विपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय मानवीय सहयोग गरेको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरु , नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
महोत्तरीका सुदुर दक्षिण र मध्यभेगमा पुस तेस्रो साता सुरु भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले गरिब बस्ती अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा नाङ्गो आङ्का गरिबलाई ओढ्ने दिएर सेनाले ठूलो राहत पुर्याएको मटिहानी–७ का बासिन्दा प्रेस स्वतन्त्रता सेनानि ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको प्रतिकृया छ ।