महोत्तरी, २४ माघ  ।  नगरक्षेत्रका बस्तीबस्तीमा कार्यालयको सेवा पाएपछि महोत्तरीको मटिहानी नगरपालिकाबासीलाई घरघरै सिंहदर्वार आएजस्तै भएको छ । नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट पाउनुपर्ने सेवा आफ्नै बस्तीबस्तीमा पाएपछि नगरबासीलाई सिंहदर्वार घरै आएजस्तो भएको हो ।

“हामीले सिंहदर्वारमा सरकार बस्छ भन्ने सुनेका छौं, तर हाम्रो बस्तीमा त घरघरै सरकार आएको छ” नगरपालिकाले बस्तीबस्तीमै एकीकृत घुम्ती सेवा पुर्‍याएपछि घरमै कार्यालयको सेवा पाएर खुसी हुनुभएका मटिहानी–२ धिरापुरका सेवाग्राही मोहम्मद सदिक शेष भन्नुहुन्छ, “नगरपालिका कार्यालयको शाखाशाखा चाहारेर कति दिन लाग्ने काम यहाँ आफ्नै घरमा सबै सेवा पायौं ।” नगरपालिकाले थालेको यो एकीकृत घुम्ती सेवाले पैसा , समय र दौडधुपको परेसानीबाट बचिएको शेषको थप प्रतिकृया छ ।

“हामी आफैं कार्यालय जाँदा कुरो बुझ्न र बुझाउन नै समय लाग्छ, यो घुम्ती सेवामा त ‘ल तपाईँ यो यो सेवा लिनोस्’ कर्मचारी आफैं भन्छन्” मटिहानी–२ कै अर्का सेवाग्राही अमृत भट्ट भन्नुहुन्छ, “यो घुम्ती सेवाले हामी सर्वसाधारणलाई निकै राहत भएको छ ।”

आफ्नै बस्तीमा अत्यावश्यक सेवा पाएपछि अहिले मटिहानीबासी दङ्ग छन् । नगर कार्यपालिकाको कार्यालयले मटिहानी–१ धिरापुरबाट बुधबार सुरु गरेको एकीकृत घुम्ती सेवा शिबिरमा सर्वसाधारणको उत्साहवर्धक सहभागिता छ । मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवामा वडास्तरीय छनौट भएका योजनासम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि आवेदन सङ्कलन र निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण थालेको छ । यसैगरी घुम्ती सेवामा कृषिसम्बन्धी परामर्श, माटो परीक्षण, कृषि विद्युत मीटर सिफारिस र तरकारीको बीउ सर्वसाधारणले पाएका छन् ।

यस्तै घुम्ती सेवामा घरपालुवा पशुबस्तुको स्वास्थ्य जाँच, गोबर परीक्षण र औषधी वितरण , पशुपक्षी पालनसम्बन्धी परामर्श, राजश्व असुली, स्वास्थ्य बिमा र वडाबाट दिइने व्यक्तिगत घटना दर्तासम्बन्धी सबै काम दिइदै छ । यी सबै काम बस्तीमै आएर दिदा आफूहरुको कैयौं दिनको दौडधुप र आवाजाहीमा हुने खर्च बचेको मटिहानी—१ का रामपदारथ साह बताउनुहुन्छ ।

“तरकारीका बीउदेखि गाईबस्तुको स्वास्थ्य जाँचको सेवा घरमै  पाएका छौं” साह भन्नुहुन्छ, “यो घुम्ती सेवाले निकै सजिलो बनाइदियो ।” साहजस्तै मटिहानी–१ धिरापुरकै मोहम्मद अव्वास अन्सारी पनि घुम्ती सेवाले सरकार घरघरै आएको महसुस गराएको बताउनुहुन्छ ।

नगरका नौवटै वडामा पालैपालो पुग्ने यो सेवा आज दोस्रो दिन मटिहानी–२ धिरापुर पुगेको हो ।   “नगरका सबै बस्तीका बासिन्दाले अधिकाधिक सेवा सहजै पाउन् भनेर घुम्ती सेवा सञ्चालन गरिएको हो” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “नगरका सबै वडा बस्तीमा एकीकृत घुम्ती सेवा पुर्‍याइन्छ ।” घुम्ती सेवामा दिइने कतिपय सेवाले त धेरैजसोलाई वर्षभरिका अधिकांश काम हुने मण्डलको भनाइ छ । यसैकारण मटिहानी नगरपालिकाले बर्सेनि एकपटक घुम्ती सेवा सञ्चालन गर्दै आएको छ ।

मटिहानी नगरपालिकाले यसको अभ्यास तीन वर्ष पहिलेदेखि नै थालेको हो । कम्तीमा वर्षको एकपटक दिइने यो सेवाले सर्वसाधारणमा सरकार हामीसँगै छ भन्ने अनुभूति सर्वसाधारणले लिएका देखिएको शिबिरमा पुग्नु भएका जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको ठम्याइ छ । “मटिहानी नगरपालिकाले यो असल अभ्यास थालेको छ” कवारी भन्नुहुन्छ, “सम्भव भएसम्म जिल्लाका अन्य नगर र गाउँपालिकाले पनि यसको अनुसरण गर्नसके राम्रो सन्देश प्रवाह हुनेछ ।”

घुम्ती सेवाबाट प्रवाह हुने सेवाले सर्वसाधारणले साँच्चै सिंहदर्वार घरमै आइपुगेको अनुभूति सँगाल्दै छन् । यसले जनताको गुनासो सम्बोधनमा सकारात्मक सहयोग पुर्‍याएको मटिहानी–८ का सामाजिक अगुवा युवा २५ वर्षीय मोहम्मद इसराफिल राइनको प्रतिकृया छ ।

२०८१ माघ २४, बिहीबार २१:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय