
मधेश प्रदेशमा पहिलो पटक सरकारी स्तरबाट एमबिबिएसको पढाई सुरुवात गराउन सफल भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । लामो संघर्ष र अथक मेहनतले जनकपुर अञ्चल अस्पतालबाट प्रादेशिक हुँदै हाल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको मधेशको स्वास्थ्य तथा शिक्षाको हबको रुपमा स्थापित प्रतिष्ठानले आफ्नो चौथो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको आसनबाट मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले स्वास्थ्य सेवामा नागरिकको पहुँचवृद्धि तथा आधारभूतसंगै विशिष्टीकृत स्वास्थ्य सेवामा सहज उपलब्धता र गुणस्तर कायम गर्ने सरकार तत्पर रहेको बताए । उनले देशकै सन्दर्भमा राम्रो गर्न निक्कै कठिन र चुनौतीपूर्ण भएपनि सरकारी स्वास्थ्य संस्थाको पूर्वाधार विकास तथा विस्तार, दक्ष तथा सीपयुक्त जनशक्ति व्यवस्थापन, आधुनिक स्वास्थ्य उपकरणको पर्याप्त उपलब्धता आदि क्षेत्रमा तिव्रताका साथ मधेश सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘मधेशको स्वास्थ्य सेवा व्यवस्थित, प्रभावकारी र परिणामुखी हुन नसकेको स्थितिमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुलभ तरिकाले भरपर्दो एवम् विश्वसनीय स्वास्थ्यसेवा प्राप्त गर्ने नागरिकको आवश्यकता तथा संविधान प्रदत्त अपेक्षा समग्रतामा पुरा गरिरहेकोमा धन्यावाद ज्ञापन गर्दछु । मधेश सरकार अत्यन्त गम्भीर तथा संवेदनशील भएर स्वास्थ्य क्षेत्र र चिकित्सा सेवाको प्रभाव एवम् परिणामलाई उच्च, सकारात्मक र उपलब्धिमूलक बनाउन कानुनी तथा नीतिगत व्यवस्था, त्यसअनुरुप योजना तथा कार्यक्रम कार्यान्वयनका लागि दत्तचित भएर लागेको छ ।’
मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवा मापन गर्ने सूचकको दृष्टिले पछिल्ला दिनमा देखिएका सुधार पनि सरकारी प्रयासकै एउटा उदाहरण रहेको बताए । उनले मधेशमा चिकित्सा सेवामा नागरिकको पहुँच तथा सेवाको गुणस्तर सुनिश्चित गर्न सरकार उत्तरदायी एवम् जवाफदेही भएर अग्रसर भएको बताए । मुख्यमन्त्री सिंहले भने, ‘चिकित्साक्षेत्रमा दक्ष जनशक्ति उत्पादन जरुरीको बेलामा प्रतिष्ठानका शैक्षिक कार्यक्रमबाट प्रदेशका लागि व्यावसायिक तथा नैतिक आदर्शबाट प्रेरित चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको व्यवस्थापन हुनेछ । ’
उनले भने, ‘यसले प्रतिष्ठान चिकित्साविज्ञानको क्षेत्रमा एउटा सबल, सक्षम र प्रतिस्पर्धी अध्ययन केन्द्र तथा स्वास्थ्यसेवा प्रदायक संस्था बन्दै गएको र आउँदा दिनमा प्रदेशकै चिकित्सा क्षेत्रको बलियो खाम्बो बन्ने निश्चित छ । म यस अतुल्य उपलब्धिका लागि प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार लगायत पदाधिकारी, प्राध्यापक चिकित्सक र कर्मचारीहरुलाई बधाई दिन चाहन्छु ।’
प्रतिष्ठानबाट चिकित्सासेवामा सुधार एवम् विस्तार भई विशिष्टीकृत सेवा प्राप्तिका लागि अन्य प्रदेशसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य हुने स्थिति बन्ने मुख्यमन्त्रीको भनाई थियो । उनले स्वास्थ्य सेवा इन्झटिलो, खर्चिलो प्रकिया पार गर्नुपर्ने प्रदेशवासीको दिक्दारी कम हुने बताउँदै प्रतिष्ठानका अध्येता एवम् अन्वेषक जनशक्तिबाट हुने जटिल रोगको उपचार तथा अध्ययनले देशकै चिकित्सा प्रणालीलाई दिशानिर्देश गर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गुणस्तरीय स्वास्थ्य सेवामा जनताको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने संवैधानिक दायित्व निर्वाहनका लागि मधेश सरकार सदैव तत्पर रहेको बताए । उनले साझा अधिकार भित्र पर्ने स्वास्थ्य क्षेत्रको स्थितिमा गुणात्मक तथा परिणात्मक फड्को मार्न सरकार प्रवद्र्धनात्मक, प्रतीकारात्मक, उपचारात्मक तथा पुनस्थापकीय स्वास्थ्य सेवाको स्तरोन्नतिमा विशेष जोड दिँदैआएको बताए ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई आवश्यक कानुन तथा नीति निर्माणसँगै व्यवस्थापकीय कार्यका माध्यमले प्रदेश सरकार पछिल्ला दिनमा दुरवस्थामा रहेको मधेश प्रदेशको स्वास्थ्य अवस्थामा आशातीत सुधार ल्याउँदैछ । यद्यपि यो अवस्था भने अपेक्षित र पूर्ण सन्तोषजनक छैन । अर्थात् स्वास्थ्य क्षेत्रको सुधार प्रयासलाई द्रुत गतिमा अघि बढाउनुपर्ने चुनौती हामीसामु छँदैछ ।’
स्वास्थ्य क्षेत्रमा पद्धति तथा प्रणाली स्थापना तथा तिनको प्रभावकारी परिचालन गर्नका लागि आफुले सकभर सुधार्ने प्रयास गरिरहेको बताए । स्वास्थ्य मन्त्री सिंहले भने, ‘साधन श्रोत एवम् मानव संशाधन व्यवस्थापनमा देखाएको अग्रसरताले नै आधारभूत र विशिष्टीकृत स्वास्थ्य सेवाको पाटोमा हामी सशक्त बन्ने क्रममा छौं । स्वास्थ्य सम्बन्धी सूचकहरुलाई मजबुत बनाई मानव विकास सूचकांकमा सिङ्गो प्रदेशको स्थिति सुदृढ बनाउन तत्पर छौं ।’
‘स्वस्थ जनशक्तिबाट मात्र उत्कृष्ट मानवीय मूल्यका आधारमा जीवन सम्भव छ भन्ने बोधले हामी सबैखाले रुग्नता विरुद्ध पुनः स्थापकीय स्वास्थ्यसेवमा जोड दिएका छौं ।’, स्वास्थ्यमन्त्री सिंहले भने, ‘आर्थिक व्यवस्थापन, उपकरण सहितको भौतिक पूर्वाधार र उच्च सेवाभाव तथा मनोबल सहितको दक्ष जनशक्तिको परिचालनबाट स्वास्थ्य सेवाको सुधार गर्नुपर्ने विषय अपरिहार्य छ ।’
स्वास्थ्यमन्त्री सिंहले चार वर्षको समय नपुग्दै प्रतिष्ठान एउटा विश्वसनीय प्राज्ञिक संस्था बनेकोमा सम्पूर्ण प्रतिष्ठानकर्मीहरुलाई बधाई तथा शुभकामना दिदै दक्ष चिकित्सक तथा स्वास्थ्य सेवामा संलग्न रहने जनशक्ति उत्पादन गर्ने उपादेयताका दृष्टिले मात्र प्रतिष्ठानको गौरव नखोजी यसलाई प्रदेशका गरिब र असहाय बिरामीका लागि उत्कृष्ट चिकित्सकीय केन्द्रका रुपमा विकसित गर्न जरुरी रहेको बताए ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति अंकुर साहले स्थापनाका देखि लिएका लक्ष तथा उद्देश्यहरु पूरा गर्दै चौथो वार्षिकोत्सव मनाउन सफल भएकोमा हर्षित हुँदै चिकित्सा शिक्षा, सर्वसुलभ स्वास्थ्योपचार दिन सकेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘अनुसन्धानले मात्र सिंगो मुलुकको हित हुन्छ भन्ने यात्राको क्रममा पाँचौ वर्षमा प्रवेश गरेको छ । यस सुखद घडीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यक्ष तथा परोक्ष रुपमा यात्रामा साथ दिनु हुने मधेश प्रदेश सरकार, चिकित्सा शिक्षा आयोग, सम्पूर्ण विश्वविद्यालय तथा प्रतिष्ठानहरु, नागरिक समाज, साझेदार संस्थाहरु, संचार मध्यम, सुरक्षा निकाय, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु लगायत सम्बन्धित सम्पूर्णमा हार्दिक आभार, धन्यवाद तथा शुभ कामना व्यक्त गर्दछु ।’
उपकूलपति साहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट संचालित शैक्षिक कार्यक्रमहरुको स्तरोन्नति, अस्पतालबाट प्रदान गरिने सेवामा अरु सरलता र सहजता तथा अनुसन्धानका क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त गर्न अग्रसरताका साथ लाग्न आग्रह गरे । उनले मधेशको जिल्लामा अवस्थित प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ स्वास्थ्य सेवाको पंहुच पु¥याउदै अनुसन्धानको क्षेत्रलाई अझ फराकिलो बनाउदै लैजाने तर्फ उत्सुकताका साथ तत्सम्बन्धी कार्यमा अग्रसर रहने प्रतिबद्धता गरे ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. रामनरेश पण्डितले प्रतिष्ठान सर्वसुलभ गुणस्तरीय स्वास्थ्य उपचार, गुणस्तरीय स्वास्थ्य शिक्षा, उच्च स्तरीय वैज्ञानिक अनुसन्धान तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास हुँदै गरेको बताए । उनले प्रतिष्ठानले राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालय तथा प्रतिष्ठानहरुसँग आपसी समझदारी गरि शैक्षिक तथा तकनिकी आदान प्रदान गर्ने कार्यक्रमको आरम्भ गरी प्रदेशको गौरव बढाउने कार्य गरेको बताए ।
‘उनले भने, हामीसँग धेरै चुनौती तथा अवसरहरू छन्, जसलाई सम्बन्धित ठाउँमा आवश्यकता अनुसार राख्दै आएका छौ । प्रदेशको प्रतिष्ठा हो भन्ने महसुस गरेर प्रदेश सरकार, राजनीतिक दलहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, नागरिक समाज तथा सरोकारबाला सम्पूर्णले सल्लाह, सुझाव र सहयोग गर्नु भएमा यस प्रतिष्ठानलाई राष्ट्रकै नमुना प्रतिष्ठान बनाउने तर्फ हाम्रो टीम अहोरात्र लागी पर्नेछ ।’
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. विनोद कुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य र शिक्षा सम्बन्धि अनुसन्धानका क्षेत्रमा प्रदेश तथा सिंगो देशमा स्थापनाको छोटो समय मै उदियमान हुँदै चौथो वर्ष पूरा गरेकोमा खुशी व्यक्त गरे ।
चिकित्सा शिक्षा, स्तरीय स्वास्थ्य सेवा र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी प्रदेशमै औपचारिक रुपमा स्थापना भएको यस प्रतिष्ठानले स्थापनको चौथो बसन्त पुरा नगर्दै शिक्षा र स्वास्थ्यको हवको रुपमा स्थापित भएको बताए । प्रा.डा. यादवले भने, ‘स्नातक तहमा पाँच र स्नातकोत्तर तहमा चौध विधामा शैक्षिक कार्यक्रम संचालन गरी एउटा मेडिकल कलेजको पूर्णता पाउनु ज्यादै नै उत्साहजनक सफलता हो ।’ प्रदेशको स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विज्ञान सम्बन्धी अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले अग्रणी भूमिका निर्वाह गर्दै आएको र भविष्यमा यसलाई अक्षुण राखी चिकित्सा शिक्षाका थप कार्यक्रमहरु, सरल र सहज रुपमा विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाह तथा अनुसन्धानका क्षेत्रमा अग्रस्थान हासिल गर्न अहोरात्र खटने रजिष्ट्रार यादवको भनाई थियो ।
प्रादेशिक अस्पतालका निर्देशक डा. जामुन सिंहले मधेश स्वाथ्य विज्ञान प्रतिष्ठान स्थापनाको पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा अस्पतालहरुमा स्वास्थ्य सेवाको गुणस्तरमा व्यापक सुधार आएको दाबी गरे । सिंहले विज्ञ एवं दक्ष स्वास्थ्यकर्मीहरु उत्पादन, स्वास्थ्य क्षेत्रमा गुणस्तरीय वैज्ञानिक अनुसन्धान र लक्ष्यहरु प्राप्त गर्नको अस्पताल अग्रसर रहेको बताए ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेश प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको गौरवको योजनाको रुपमा अगाडी बढाए सम्पूर्ण उदेश्यहरु समयमै हासिल गर्ने सक्ने डा. सिहको भनाई थियो । प्रतिष्ठानको मुलभूत उदेश्यहरु प्राप्त गर्न समय सापेक्ष र आवश्यकता अनुसार यसको ऐन, कानून तथा विनियमहरुको निर्माण तथा परिमार्जन गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए । उनले भने, ‘चुनौतीहरुको सामना गर्दै प्रतिष्ठानले कम समयमै गरेको शैक्षिक प्रगति प्रसंशा योग्य छ । यही गतिमा गुणस्तरीय विस्तारित स्वास्थ्य सेवा, वैज्ञानिक अनुसन्धान र अन्य क्षेत्रमा पनि प्रगति होस् भन्ने प्रवल जन–चाहना हामीलाई बोध भएकै छ ।’
प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा वार्षिक प्रतिवेदन तथा स्मारिका समेत विमोचन गरिएको सूचना प्राविधिक अधिकृत बीरेन्द्र साहले नेपालावाणी नेटवर्कलाई जानकारी दिए ।