महोत्तरी, ७ साउन ।
बुढ्यौली उमेरले अब कान राम्ररी नसुन्नेबाहेक ८६ वर्षको उमेरमा पनि उहाँका अरु केही जटिल स्वास्थ्य समस्या छैनन् । उहाँ अर्थात् विष्णुप्रसाद पोखरेल । महोत्तरीको हालको बर्दिबास–१२ डाँडाटोलका जिम्दार परिवारका छोरा भएपनि विष्णु १४/१५ वर्षको कलिलो उमेरमै कम्युनिष्ट आन्दोलनमा जोडिनुभयो । विक्रम सम्वत् २०१५ सालको आम निर्वाचनमा उहाँ चुनाव प्रचारको अब्बल कार्यकर्ता भइसक्नु भएको थियो ।

पिता प्रेमराज उपाध्याय पोखरेलका दुई पत्नीमध्ये जेठी जगतकुमारीबाट तीन दिदीबहिनी र दुई दाजुभाइ । कान्छीबाट दुई दाजुभाइ र एक बहिनी । उहाँको परिवारमा जम्मा चार दाजुभाइ र चार दिदीबहिनी । दाजुभाइमध्येका जेठा विष्णुको कम्युनिष्ट पार्टीमा संलग्नता बढेपछि सबै दाजुभाइमा यो राजनीतिको प्रभाव पर्‍यो । उहाँका कान्छा भाइ (एउटै आमातर्फका) स्व. रामजीप्रसाद उपाध्याय पूर्वीय दर्शन , मार्क्सवादी साहित्यका ज्ञाता हुनुहुन्थ्यो । लामो प्रशासनिक सेवाबाट अवकास लिएपछि निरन्तर राप्रउ पोखरेलका नाउँबाट उहाँका अनुसन्धनात्मक लेख, रचना नेपाली पाठकले रुचाउँदै आएका छन् । यसै वर्ष हामीले उहाँलाई गुमाएका छौं । अन्य दुई भाइपनि अझै कम्युनिष्ट आन्दोलनसँग जोडिइ नै रहनु भएको छ ।

महोत्तरीमा कम्युनिष्ट पार्टीको चहलपहल नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको दुई/तीन वर्षपछि सुरु भएको पाइन्छ । करिब २००९ सालको उत्तरार्द्धतिर महोत्तरीमा कम्युनिष्ट पार्टीको चहलपहल निकै बढीसकेको थियो । त्यसयता निकै पछिसम्म हालको सर्लाहीका हरिपुर्वा, बसतपुर, सोकनाहा, जिङड्वा, पर्सा र सग्रामपुरसहितका करिब २० जति बस्ती महोत्तरीमा थिए । यसैगरी धनुषा सिङ्गै महोत्तरी भनिन्थ्यो । यद्यपि यहाँ भने अहिलेको महोत्तरीकै सेरोफेरोमै केही चर्चा गरिएका छन् ।

महोत्तरीको कम्युनिष्ट पार्टीको चर्चा गरिदा स्थापनाकालदेखि २०१२ सालसम्म कम्युनिष्ट पार्टीमा प्रतिबन्ध फुकुवा नहउञ्जेलसम्मको पहिलो पुस्ता , त्यसयता २०२० सम्मका दोस्रा पुस्ता , २०२१ देखि २०३५ सालअघिसम्मको तेस्रो पुस्ता, २०३६ देखि २०४६ को आन्दोलन अघिसम्मको चौथो पुस्ता, २०४७ देखि २०६२ सम्मको पाँचौ पुस्ता र त्यसयताको समय फरक पुस्तामा राख्दा विवेचना गर्न सजिलो होला भन्ने मलाई लागेको छ । यसमा २०५२ देखि २०६२ अघिसम्मको अवधि मावोवादी सशस्त्रद्वन्द काललाई फरक र विशिष्ट तवरले विवेचना गरिदा न्याय होला भन्ने लाग्छ । यो समय तालिकामा विष्णुप्रसाद दोस्रो पुस्तामा कम्युनिष्ट पार्टीमा जोडिनु भएको छ ।

(परिवारका सदस्यबीच विष्णुप्रसाद)

महोत्तरीको कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्तामा महेन्द्र चौधरी (प्रथम महोत्तरी सेक्रेटरी, त्यतिखेर कम्युनिष्ट पार्टीको जिल्ला प्रमुख सेक्रेटरी हुनेगर्थे ) , इन्द्रबहादुर मल्ल (बलवा) , गणेश ठाकुर (डाम्ही) रामरिझन महतो (बन्चौरी), कुञ्जवीर लामा (बिजलपुरा), जिवेन्द्रनाथ झा (बलवा, २०१५ सालको आम निर्वाचनमा ४६ नम्बर क्षेत्रमा कम्युनिष्ट पार्टीका उम्मेदवार) , नन्दलाल सुसलिङ्ग (किसाननगर), कृष्ण दाहाल (गौशाला रजखोर, २०१५ सालको आम निर्वाचनमा ४५ नम्बर क्षेत्रका उम्मेदवार) सहितका नेता हुनुहुन्थ्यो । उहाँहरुमा कोही केहीअघि र कोही केहीपछि जोडिनु भएपनि विक्रम सम्वत् २०११ सालतिर आइपुग्दा त्यतिखेरको प्रतिबन्धित कम्युनिष्ट पार्टीको किसान मोर्चाले सञ्चालन गरेको खडेबटैया, तमसुक फट्टा र अन्य किसानसम्बद्ध आन्दोलनमा उहाँहरुले कैयौं मोर्चामा नेतृत्व नै गर्नु भएको पाइन्छ । धनुषातर्फ (त्यतिखेरको महोत्तरीको पूर्वि क्षेत्र) पाण्डवराज घिमिरे, रामजनम सिंहसहितका नेताहरु कृृयाशील हुनुहुन्थ्यो । त्यताको मलाई त्यति जानकारी नहुँदा यहाँ उल्लेख गर्नतिर लागिन । पछि (२०२१ यता २०३५ अघि) धनुषाको सरसर्ति हेरिदा रामवृक्ष यादव, सूर्यनाथ रान् यादव , टिकाप्रसाद पोखरेल (वटेश्वर), राधाकान्त झा (कुम्हरौरा भगवतीपुर), टिकाराम नेपाली (पहिले वटेश्वर, पछि सर्लाही) अशेश्वर गोइत यादव, ब्रह्मदेव राउत (कुम्हरौरा भगवतीपुर), नारदमुनि नेपाली (वटेश्वर), रामऔतार पासवान र हजारी साहसहितका नेताहरु कम्युनिष्ट पार्टीका विभिन्न घटकमा रही आन्दोलनमा जोडिएका अगुवा नेता देखिन्छन् ।

महोत्तरीमा २०२१ देखि २०३५ सालसम्मको अवधि कम्युनिष्ट प्रभाव वृद्धिमा उर्वर देखिन्छ । यसै कालमा मदनमोहन थापा (गौशाला) , चन्द्रबहादुर मल्ल (बलवा) दीपबहादुर योञ्जन (लक्ष्मीनियाँ), शारदाप्रसाद ढुङ्गाना (गौरीडाँडा), केशव बटुवा (किसाननगर) , श्यामसुन्दर कुशवाहा (रजखोर), बलबहादुर बलम्पाकी (हाथीलेट) रामऔतार यादव (महदैयातपनपुर), सहदेव यादव (पहिले साँढा पछि हाथीलेट) , प्रेमबहादुर राना (हाथीलेट) , विमलप्रसाद (श्रीराम) सुवेदी (रजखोर), रामबहादुर राना (माइस्थान) , भिष्मकुमार खड्का (किसाननगर), केशव बराल (पाटु) , लक्ष्मी महतो (पहिले डाँडाटोल हाल, लक्ष्मीनियाँ) तुलसीप्रसाद ढुङ्गाना (गौरीडाँडा) , कृष्णबहादुर आले (पहिले डाँडाटोल पछि खजुरिया) , नारायण महतो (बिजलपुरा अकुवानटोल) बलराम समाल (रामनगर) जनार्दनप्रसाद ढुङ्गाना (राजपुर, भङ्गाहा), टंकलाल गुर्मछाने (खजुरिया) हर्षबहादुर गोले (करमटोकी) रामसुन्दर ठाकुर (डाँडाटोल), पुष्पराज बराल (बिजलपुरा चल्कीटोल) र विष्णुप्रसाद भट्टराई (सीतापुर) मैले सङ्गत पाएका अगुवा नाम हुन् । सम्झनाका आधारमा लेखिएका हुँदा यहाँ थुप्रै महत्वपूर्ण नामहरु छुटेका छन् । यो सन्दर्भ यहाँ उल्लेख गरिनुको उद्देश्य नै प्रतिकृया आउन् भन्नका लागि हो । जे होस् यस अवधिमा पञ्चायतको दमनका बीच विभिन्न घटकका कम्युनिष्ट पार्टीले आन्दोलनका मोर्चामा उल्लेख्य योगदान दिएका छन् । यसैगरी विक्रम सम्वत् २०३५/०३६ को आन्दोलनले कम्युनिष्ट प्रभाव विस्तारमा महत्वपूर्ण फड्को लगायो । म आफैं यसै आन्दोलनमा जिन्दावाद/मुर्दावाद भन्दै कम्युनिष्ट पार्टीमा जोडिए । यस अवधिका मेरा समवयी साथीहरुको लामो फेहरिस्त बन्छ । सन्दर्भमा यस पुस्ताको पनि चर्चा पछिपछि गरिने छ ।

अब स्थापनाकालका नेताहरु हुनुहुन्न । विक्रम सम्वत् २०१२ सालयता २०२० अघिसम्म पार्टीमा जोडिनु भएका दोस्रो पुस्ताका नेताहरु पनि अधिकांशको निधन भइसकेको छ । यस क्रममा महोत्तरीका महावीरप्रसाद सिंह (डाम्ही) , सीतानन्दन राय (जलेश्वर बखरी) महेन्द्र लामा (लक्ष्मीनियाँ, कान्तिबजार), नारायण पौडेल (बिजलपुरा) सँगै विष्णुप्रसाद जोडिनु भएको देखिन्छ । २०१२ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि कम्युनिष्ट पार्टीको प्रतिबन्ध फुकुवा भयो । यसैताका विष्णुप्रसाद कम्युनिष्ट पार्टीको झण्डा हातमा लिदै जिन्दावाद भन्न थाल्नुभयो । २०१५ सालको आम निर्वाचनमा आफ्‌ना क्षेत्रका उम्मेद्वार कृष्ण दाहालका साथ प्रचार अभियानमा जुट्नु भएका विष्णुप्रसादलाई त्यतिखेरको लगावले कम्युनिष्ट विचारमा अझै बाँधी राखेको छ ।
“म कृष्ण दाहाल र आफ्‌नै गाउँका कुञ्जवीर लामासँगको उठबस र प्रेरणाले कम्युष्टि पार्टीमा जोडिएछु” २०१३ सालतिरको घटना सम्झदै पोखरेल भन्नुहुन्छ, “सबैका लागि काम र माम भन्ने कुराले मनमा जुन प्रभाव जोड्यो, त्यसले मलाई मेहनतकस जनताको हितको कुराले डोर्‍याइ रह्यो ।” २०१७ सालमा राजा महेन्द्रले पार्टीहरुमाथि प्रतिबन्ध लगाएर निर्दलीय पञ्चायती व्यवस्था लादेसँगै त्यसपछिका दिनमा क्रमशः कम्युनिष्ट पाटी टुटफुट हुँदै विभिन्न समूहमा विभाजित हुँदै गए । कम्युनिष्ट पार्टीको २०१९ सालको दरभङ्गा प्लेनमपछि टुक्रिएर बनेका कैयौं घटकमध्ये विष्णुप्रसादको सामिप्यता डा. केशरजङ्ग रायमाझी समूहमा रह्यो । यसको मुख्य कारणचाहिँ नजिकका आत्मीय सम्बन्धका नेताहरु विष्णुबहादुर मानन्धर , सीतानन्दन राय, मदनमोहन थापा, कृष्ण दाहाल, कुञ्जवीर लामा, नारायण पौडेल, नन्दलाल सुसलिङ्ग, जिवेन्द्रनाथ झा र रामरिझन महतोसहितका साथीहरु यस समूहमा रहनुले बनेको उहाँ स्वीकार गर्नुहुन्छ ।

कालान्तरमा डा. रायमाझी राजावादी नै भएको कुराले कार्यकर्तापङ्तिमा अविश्वास बढ्दै गएपछि उहाँलाई थपना अध्यक्ष र विष्णुबहादुर मानन्धरलाई कार्यकारी महामन्त्री बनाएर पार्टी जेनतेन घस्रदै रह्यो । पछि २०३७ सालको जनमतसङ्ग्रहलगत्तै डा. रायमाझीलाई निष्कासित नै गरेर मानन्धरले पार्टीको पूरै कमान समाल्नु भएपछि यो पार्टी मुख्यत तराईमा निकै प्रभाविलो देखियो । विक्रम सम्वत् २०४६ सालको ऐतिहासिक जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछिको आम निर्वाचनमा विभिन्न चुनावी तिकडम अप्नाउन नसक्दा यो दलले राम्रो परिणाम लिन नसकेपछि २०४९ मङ्सिरसम्म आइपुग्दा यस पार्टीका थुप्रै नेता कार्यकर्ता एमालेतिर लागे । तर विष्णुप्रसादले मानन्धर नेतृत्वको नेकपा संयुक्त छाड्नु भएन । हुँदैहुँदै मानन्धरले पार्टीबाट स्वेच्छिक अवकास लिनु भएपछि गणेश साह र सुनिल मानन्धरलगायतले माओवादीकेन्द्रसँग पार्टी एकता गरेको घोषणा गरेपनि अझै नेकपा संयुक्त नाउँमा नेता कार्यकर्ता आबद्धता जनाइ रहेका छन् । विष्णुप्रसाद यिनैमध्येका एक हुनुहुन्छ । जो अझै नेकपा संयुक्तले नै केही गर्छ भन्ने विश्वासमा दृढ हुनुहुन्छ ।
कुनै मानिस अविचलित एउटा विश्वासमा खडा रहनु चानचुने तपस्या होइन रहेछ । म सम्झन्छु , कुञ्जवीर लामा जो कुनै धुत्र्याइँ नजानेको अत्यन्त सरल व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई २०४६ सालको ऐतिहासिक जनआन्दोलनताका संयुक्त वाममोर्चाको जिल्ला अध्यक्ष बनाइएको थियो । कुनै छलछाम , जालझेल उहाँमा देखिएन । त्यस्तै म सम्झन्छु, रामरिझन महतो कुनै स्वार्थबिना ९० वर्षको उमेरसम्म कम्युनिष्ट पार्टीको झण्डा हातमा लिदालिदै जीवन त्याग्नुभयो । अहिले विष्णुप्रसाद हामीबीच उपलब्ध हुनुहुन्छ , लामा र महतोजस्तै अविचलित । होचो कदका अग्ला मान्छे । निष्ठा र इमानमा सतिसाल झैं । कहिल्यै आफ्‌ना स्वार्थका कुरा नउभ्याउने । सरल र विनम्र उतिकै । विष्ष्णुविष्णुप्रसादलाई यसरी सम्झदा धेरथोर महोत्तरीको कम्युनिष्ट आन्दोलनबारे हुने चर्चाले जिज्ञासुहरुका लागि छलफल सामग्री नै हुने मेरो विश्वास छ ।

परम्परावादी ब्राह्मण परिवारमा जन्मनु भएका विष्णुप्रसादले औपचारिक शिक्षा भने पाउनुभएन । आफ्‌नै स्वअध्ययनबाट संस्कृत भाषा र साहित्य, मार्क्सवादी दर्शन , विश्व कम्युनिष्ट आन्दोलन एबं इतिहासको सुक्ष्म जानकारी राख्नुहुने उहाँसँग पढेका भन्दा खेपेका अनुभवका सँगाला छन् । किशोरवयको १६ वर्षको उमेरमै कदमकुमारी (सुशीला) सँग विवाह भएयता उहाँहरुका काखमा छोराहरु मणिराज र पुष्पराज एबं छोरी निर्माला र विमला हुर्की बढेर आ-आफ्‌नो संसार बसाइ सकेका छन् । छोराछोरीबाट सुख सन्तोस मान्नुहुने उहाँको अहिले ८६ वर्षको उमेरमा पनि कुनै चिन्ता छ भने त्यो आफूआबद्ध नेकपा संयुक्तकै छ । “यो पार्टीमा आम श्रमजीवी गोलबन्द भएको हेर्न मन छ” उहाँ भन्नुहुन्छ ।
डाँडाटोल बिजलपुरामा दाजुभाइ छुट्टिएपछि विष्णुप्रसादले २०२८ सालमा सर्लाही बरहथवा बसाइ सार्नुभयो । अहिले उहाँको बसाइ ठूलो छोरा मणिराजसँगै काठमाण्डौ छ । महोत्तरी र सर्लाहीमा पुराना कम्युनिष्ट सम्झदा वा यहाँका आन्दोलनबारे बताउनसक्ने नाम खोजिदा अहिले विष्णुप्रसाद उपलब्ध हुनुहुन्छ । विष्णुसादजीसम्बद्ध यो सामग्री लेख्न मलाई दुईवटा कुराले उत्प्रेरित गरेको छ । पहिलो तामझामरहित जीवन बाँचीरहेका पुराना योद्धाको खोजीनीति र अर्को यस सामग्रीमा उल्लेख हुन नसकेका व्यक्ति र सन्दर्भबारे प्रतिकृया पाउने आस । यसै निहुँमा महोत्तरीको कम्युनिष्ट पार्टीको इतिहास खोतलियोस् भन्ने मुख्य अभिष्ठ ।

अन्त्यमा मलाई व्यक्तिगत रुपमा पनि स्नेह दिनुहुने विष्णुजी सधैं स्वस्थ्य र मस्त रहनुभएको सुनी रहन पाउँ । तपाईँ सतायु बाँच्नुहोस् , पुराना कुरा सुन्न मन हुँदा सधैं तपाईँ हामीलाई उपलब्ध हुनुहोस् । तपाइँको कम्युनिष्ट विचारप्रतिको निष्ठा र विश्वास पछिल्लो पुस्ताका लागि उत्प्रेरक बन्न सकोस् । हार्दिक शुभकामना ॥

 


२०८२ श्रावण ७, बुधबार १८:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय