
बर्दिबास (महोत्तरी), ९ असोज ।
महोत्तरीका धार्मिक तथा पुरातात्विक महत्वका छ ठाउँलाई होटल तथा पर्यटन व्यवसायीले पर्यटकीय गन्तव्यका रुपमा चिन्हित गरेका छन् । यसपालिको विश्व पर्यटन दिवसको तयारीबारे होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आज बर्दिबास–३ कालापानी उद्यान (पार्क) मा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
“हामीले महोत्तरीका छ ठाउँलाई पहिलो चरणमा पर्यटकीय गन्तव्यका रुपमा चिन्हित गर्दै अघि बढ्ने संस्थागत निर्णय गरेका छौं” नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले भन्नुभयो, “अब चिन्हित ठाउँको समुचित विकासका लागि पहलकदमी बढाउँछौं ।” महासङ्घले प्रदेशका आठ वटै जिल्लाका महत्वपूर्ण स्थलहरुलाई पर्यटकीय गन्तव्यका रुपमा चिन्हित गरेको गौतमको भनाइ छ । यसअनुसार महोत्तरीका कालापानी उद्यान, टुटेश्वरधाम, पञ्चधुरा माइस्थान, राइमण्डलधाम, जलेश्वरनाथ र रौजामजार रहेका छन् ।
महासङ्घले प्रारम्भिक चरणमा चिन्हित गरेका हुँदा अहिले जिल्लाका छ ठाउँ परेका हुन् । यी ठाउँको पर्यटकीय विकासका सम्भावना फराकिलो बनाउँदै मटिहानी, पडौल कारिखस्थान, मङ्गलनाथ र सिद्धनाथसहितका ठाउँ अर्को चरणमा निर्णय गरिने महासङ्घले स्पष्ट पारेको छ ।
महासङ्घले हाल चिन्हित गरेका ठाउँमध्ये जलेश्वरनाथ महादेव मन्दिर भगवान शिव आफैंले स्थापना गर्नुभएको महाशिवलिङ्ग मानिन्छ । यसैगरी बलवा–१० रौजास्थित इस्लाम परम्पराका सुफी सन्तहरु गदालीबाबा, रहमतअलिबाबा र बहारअलिबाबाको मजार जिल्लाकै महत्वपूर्ण धार्मिकस्थलमा गनिन्छ । यसैगरी टुटेश्वरधाम अघि द्वापर युगमा अर्जुनको तपस्यामा खुसी भएर भगवान शिवले किरात रुपको दर्शन दिइ पाशुुपतास्त्र दिनुभएको ठाउँ मानिन्छ । यस्तै पञ्चधुरा माइस्थान आदिशक्ति देवीको शक्तिपिठ, राइमण्डल स्वर्गका राजा इन्द्रले शिवजीको तपस्या गरेको ठाउँ र पाषाण युगकालीन सभ्यता रहेको ठाउँ मानिएको छ । यसैगरी कालापानी उद्यान प्राकृतिक सुन्दरताले भरिएको वनक्षेत्र हो । जहाँ मनोरम उद्यान निर्माण गरिएको छ । टुटेश्वर, पञ्चधुरा माइस्थान, राइमण्डल र कालापानी बर्दिबास नगरक्षेत्रमा पर्ने चुरे पर्वत श्रेणिभित्रका ठाउँ हुन् ।
महासङ्घले प्रारम्भिक चरणमा चिन्हित गरेका पर्यटकीय गन्तव्यको विकासमा पहलकदमी लिदै व्यापक जनसहभागिता जुटाउँदै सरकारको ध्यानाकर्षण गराउने तयारी छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश र होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले यसपालि यही आउने शनिबार ४६ औं विश्व पर्यटन दिवस भव्यताका साथ मनाइने तयारी बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । यसक्रममा जलेश्वरको भिठ्ठामोरमा भारतबाट आउने पर्यटकको स्वागत र पञ्चधुरा माइस्थानका कमलदहमा पानी भर्ने र सरसफाइका कार्यक्रम रहेका छन् । इश्वी सम्वत्को सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस सन् १९८० देखि मनाइँदै आइएको छ ।
यस अवसरमा महोत्तरीसहित प्रदेशका आठवटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीले पाहुनाहरुका लागि खाना, खाजा तथा आबासमा विशेष छुटको घोषणा पनि गरेका छन् । यस अवसरमा आज कालापानी उद्यानक्षेत्रमा सरसफाइ गरिएको छ । पत्रकार सम्मेलन होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।