महोत्तरी, ७ पुस ।

राणाशाहीदेखि निरङ्कुश पञ्चायतविरुद्धको आन्दोेलनका मूर्धन्य नेता स्व. रामनारायण मिश्रको ५८ औं स्मृति दिवस आइतबार मनाइएको छ । नेपाली काँग्रेसको आह्वानमा राणशाहीविरुद्धको आन्दोलनबाट सकृय राजनीतिमा होमिनु भएका नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रणि योद्धाको आइतबार उहाँको ५८ औं स्मृति दिवसका अवसरमा महोत्तरीमा सम्झना गरिएको हो ।

राणा शासनविरुद्ध नेपाली काँग्रेसको आह्वानमा भएको आन्दोलनमा मुलुकको पूर्वी तराई (हालको मधेश प्रदेश) का मुख्य नेता मिश्रको सम्झनामा उहाँको पैत्रिक गाउँ महोत्तरीको पिपरा र सदरमुकाम जलेश्वरमा ५८ औं रामनारायण मिश्र स्मृति दिवस मनाइएको हो । जनकपुर–जलेश्वर–भिठ्ठामोर सडकको करिब मध्यमा पर्ने पिपराचोकस्थित उहाँको स्मारकस्थलमा आइतबार पिपरा गाउँपालिकाको कार्यालयले स्व. मिश्रको स्मृति दिवस कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा स्व. मिश्रका निकटतम अनुयायी तथा नेपाली काँग्रेसका नेता रामचन्द्र तिवारी र स्व. मिश्रकै पुत्र मधेश प्रदेशका पूर्वप्रमुख हरिशङ्कर मिश्रले जहानियाँ राणाशासन र पञ्चायतविरुद्धको आन्दोलनमा रामनारायण मिश्रको योगदानबारे चर्चा गर्नुभयो । यसअघि सहभागीहरुले स्व. मिश्रको प्रतिमामा माल्यार्पण गर्नु भएकाे थियाे । कार्यक्रमका अध्यक्ष तथा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले आफू कहिल्यै काँग्रेस नभएपनि स्व. मिश्रको आन्दोलनमा योगदान र पिपराको परिचय नै उहाँको नामबाट प्रख्यात भएको सन्दर्भ सधैं सम्झाइ राख्न गाउँपालिकाले नै कार्यक्रम आयोजना गर्न थालेको बताउनुभयो ।

यसैगरी सोही सडक खण्डको जलेश्वरको खैराचोकस्थित स्व. मिश्रको प्रतिमास्थलमा पनि नेपाली काँग्रेस महोत्तरीले आइतबार चोक परिसर सरसफाइ र प्रतिमामा माल्यार्पणको कार्यक्रम सम्पन्न गरेको छ ।

विक्रम सम्वत् २०१५ सालको प्रथम आम निर्वाचनमा महोत्तरी जिल्लामा पर्ने तत्कालीन ४५ नम्बर संसदीय क्षेत्रबाट निर्वाचित मिश्र प्रथम जननिर्वाचित विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग वाणिज्य मन्त्री हुनुहुन्थयो ।

विक्रम सम्वत् २०१७ साल पुस–१ गते हठात तत्कालीन संसद र सरकार निलम्वन गरिएपछि लामो समयसम्म नेता विश्वेश्वरप्रसाद कोइरालासँगै थुनिनु भएका मिश्रको स्वास्थ्य अवस्था अत्यन्त नाजूक बनेपछि उहाँलाई २०२४ सालको प्रारम्भमा कारागार मुक्त गरिएको थियो । लामो कारागार बसाइमा गम्भीर बिरामी भएर थलिनु भएका मिश्रको २०२४ साल पुस–६ गते निधन भएको थियो ।

स्व. मिश्रको सम्झनामा पिपरामा रामनारायण अयोध्या माध्यमिक विद्यालय र जलेश्वरमा रामनारायण मिश्र आँखा अस्पताल सञ्चालनमा छन् । स्व. मिश्रकै पहलमा उहाँ उद्योग वाणिज्य मन्त्री रहनु भएको बेला तत्कालीन सोभियत सङ्घको सहयोगमा जनकपुरधाममा जनकपुर चुरोट कारखाना स्थापना भएको थियो ।


२०८२ पुष ७, सोमबार ११:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय